logo
२०८१ बैशाख ७ शुक्रवार



‘बालबालिकालाई झिकाऔं, टिकाऔं र सिकाऔं’

समाज |


‘बालबालिकालाई झिकाऔं, टिकाऔं र सिकाऔं’
सांकेतिक तस्बिर


खेमराज गौतम

गलकोट, असार १५ गते । बागलुङको तमानखोला गाउँपालिकाले ‘बालबालिकालाई झिकाऔं, टिकाऔं र सिकाऔं’ कार्यक्रम ल्याएको छ ।

यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउन र बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्नका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । सामाजिक विकासको मेरुदण्डका रुपमा रहेको शिक्षाको विकास तथा बालबालिकालाई विद्यालयप्रति प्रोत्साहन गर्नका लागि ल्याएको उक्त कार्यक्रमका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा रु २ करोड ४६ लाख ४८ हजार ५०० बजेट विनियोजन गरेको छ । उक्त आर्थिक वर्षका लागि गाउँपालिकाले कुल रु. २७ करोड ४० लाख बजेट विनियोजन गरेको छ ।

‘बालबालिकालाई झिकाऔं, टिकाऔं र सिकाऔं’ कार्यक्रमका लागि बालविकास केन्द्रलाई निरन्तरता दिँदै यसै वर्षदेखि थप एक बालविकास केन्द्र स्थापना गर्नुका साथै नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भए बमोजिम बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीका लागि गाउँपालिकाको तर्फबाट रु ७ हजार थप तलबको व्यवस्था गरिएको छ । “बालबालिकालाई विद्यालयमा घरबाट झिकाउने, टिकाउने र सिकाउने हाम्रो उद्देश्य हो”, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “विकट गाउँमा शिक्षाको पहुँच बढाउने र सबै बालबालिकालाई विद्यालयमा ल्याउने हाम्रो योजना छ ।” उहाँका अनुसार यसमा ‘हाम्रो पालिका हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पु-याउँ’ भन्ने अभियान समेत जोडिएको छ ।

शिक्षाको उज्यालो घामबाट कोही पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने मूल उद्देश्यका साथ निःशुल्क, सहज र सर्वसुलभ शिक्षा प्रदान गर्नका लागि गाउँपालिकाले करारमा शिक्षक व्यवस्थापन गर्दै आएको छ । परम्परागत सीपलाई आधुनिक सीपमा विकास गर्न, परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्ने ज्ञान सीपको विकास गर्न ‘एक विद्यार्थी एक सीप, एक विद्यालय एक उत्पादन’ कार्यक्रमका लागि समेत बजेट विनियोजन गरेको छ ।

तमानखोला संस्कृति र सम्पदा हाम्रो शान, हाम्रो पहिचान’ भन्ने भावका साथ गाउँपालिकाको संस्कृति, सम्पदा र ऐतिहासिक स्थललाई यत्रतत्र सर्वत्र परिचित गराई स्थानीय तथा राष्ट्रिय स्तरमा चिनाउन गाउँपालिका गान निर्माण गरिनेछ । यसका लागि रु एक लाख ५० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष बुढामगरको भनाइ छ ।

१० योजनामा रु. ८ करोड बजेट

सङ्घीय सरकारले बागलुङ निर्वाचन क्षेत्र नं १ मा शहरी विकास मन्त्रालय अन्तर्गत १० योजना स्वीकृत गरेको छ । जिल्लाको दुई निर्वाचन क्षेत्रमध्ये जिल्ला सदरमुकाम समेटिएको क्षेत्र नं १ मा शहरी विकास मन्त्रालयअन्तर्गत १० ठूला योजनामा रु आठ करोड बजेट विनियोजन भएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

सडक स्तरोन्नती, सडक कालोपत्र, नाली निर्माणसहितका भौतिक पूर्वाधार निर्माण गर्नका लागि शहरी विकास मन्त्रालयले योजना छनोट गरेर बजेट व्यवस्था गरेको हो । पञ्चकोटमा कलश, भ्यूटावरदेखि बलेवामा एकीकृत बस्ती निर्माण गर्ने योजना पनि छ । लामो समयको प्रयास पछि बागलुङ क्षेत्र नं १ मा १० योजनामा रु. आठ करोड बजेट विनियोजन भएको निर्वतमान सङ्घीय सांसद डा.सूर्य पाठकले जानकारी दिनुभयो । “पञ्चकोटले धेरै पर्यटक तान्दै आएको छ, बलेवामा एकीकृत बस्ती बनाउने भनेका थियौ, बागलुङ बजारको सडक र ढल सुधार गर्न आवश्यक थियो”, उहाँले भन्नुभयो “रु. आठ करोडको सबै काम भएको खण्डमा बागलुङ क्षेत्र नं १ का जनताले विकासको अनुभूति प्राप्त गर्नेछ ।”

शहरी विकास मन्त्रालयअन्तर्गत जिल्लाको अमलाचौर–गिठे–धापाखेल सडक स्तरोन्नति गर्न रु एक करोड, गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक स्थल बागलुङ कालिका मन्दिर आसपास पूर्वाधार निर्माण गर्न रु एक करोड, बागलुङ नगरपालिका–१३ जलजलादेखि र वडा नं १२ स्थित भैरवस्थान मन्दिर पुग्ने सडक कालोपत्र गर्न रु ५० लाख विनियोजन भएको छ । अहिले जलकिनी घुम्टीदेखि कालोपत्र गर्ने तयारी भएकोमा आगामी आर्थिक वर्षमा भैरवस्थानसम्म सडक कालोपत्र हुनेछ ।

बागलुङ नगरपालिका–१२ को गिठेदेखि अमलाचौर बजार, धापाखोला हुँदै पाग्जा जोड्ने सडक कालोपत्र गर्न रु ५० लाख, बागलुङ नगरपालिका–१० ठाडे तालदेखि मान्दै हुँदै बागलुङ नगरपालिका–११ रायडाँडा जोड्ने सडक स्तरोन्नतिका लागि रु ५० लाख, बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा १०८ फिट अग्लो कलश निर्माण गर्न रु. ५० लाख, जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मिसेरा बजारमा ढलान तथा ढल निर्माण गर्न रु ५० लाख, बागलुङ नगरपालिका ठूलो ढुङ्गा देखि सामुदायिक भवनसम्मको सडक स्तरोन्नती गर्न रु ५० लाख, बागलुङ बजारमा सघन शहरी विकासअन्तर्गत मुख्य सडकको नाली तथा सडक स्तरोन्नति गर्न रु २ करोड र बलेवामा एकीकृत बस्ती विकासको पूर्वाधार निर्माण गर्न रु एक करोड बजेट विनियोजन भएको छ ।

बागलुङ बजारमा गत वर्षदेखि सडकको नाली तथा सडक स्तरोन्नतिको काम भइरहेको र थप काम गर्नका लागि रु दुई करोड बजेट विनियाेजन गरिएको हो । विकासको आवश्यकता, जनताको माग अनुसार योजना छनेटमा आफूले समन्वय गरेको निर्वतमान सांसद डा. पाठकको भनाइ छ ।

धौलागिरी अस्पताल उत्कृष्ट
बागलुङको धौलागिरी अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट अस्पतालमा छनोट भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा तीन पटकसम्म गरेको मूल्याङ्कनका आधारमा ५० शय्याको अस्पतालमध्ये धौलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा शर्त मापनमा ५० शय्या क्षमताका गोर्खा अस्पताल, म्याग्दी अस्पताल र धौलागिरी अस्पतालमध्ये धौलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताउनुभयो । अघिल्लो वर्षदेखि शुरु भएको उक्त सर्वेक्षण कार्यक्रममा गत वर्षसमेत धौलागिरी अस्पताल नै उत्कृष्ट छनोट भएको थियो । गत वर्ष ६६ प्रतिशत अङ्क पाएको धौलागिरी अस्पतालले अहिले ७३ प्रतिशत पाएको छ । गत वर्षको तुलनामा अस्पतालमा धेरै सकारात्मक परिवर्तन भएको पाइएको जनस्वास्थ्य निरीक्षक दानीको भनाइ छ ।

यसैगरी म्याग्दीको बेनी अस्पतालले ६६ प्रतिशत र गोर्खा अस्पतालले ४० प्रतिशत अङ्क प्राप्त गरेको छ । सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा गरिएको मूल्याङ्कनका आधारमा धौलागिरी अस्पताल उत्कृष्ट भएको हो । तीन विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अङ्क प्रदान गरिएको थियो ।

अस्पतालको सुदृढीकरणका लागि तय गरिएका रणनीतिक योजना, गण्डकी प्रदेश सरकार, जनप्रतिनिधि, स्थानीय तह तथा अन्य सङ्घसंस्थाको सहयोग र अस्पतालको सिङ्गो टोलीको सक्रियताका कारण अस्पतालको सेवामा वृद्धि भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो । निर्देशनालयका अनुसार यो अस्पतालले चालू आर्थिक वर्षको शुरुमा ५७ प्रतिशत, मध्यमा ६५ प्रतिशत र आर्थिक वर्षको अन्त्यमा ७३ प्रतिशत अङ्क प्राप्त गरेको हो । अस्पतालले अझै केही पक्षमा सुधार गर्ने हो भने ९० प्रतिशत ल्याउने निर्देशनालयको भनाइ छ । निर्देशनालयका अनुसार आकस्मिक कक्ष र शल्यक्रिया कक्षमा केही परिवर्तन गर्न जरुरी रहेको जनाएको छ ।

निर्देशनालयका सुझाव अनुसार अस्पतालको सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा र चुस्त व्यवस्थापन गर्दै आएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बि.क पोखरेलले जानकारी दिनुभयो । “तीन अस्पतालमा उत्कृष्ट भएको छ, मन्त्रालयबाट आएको यो खबरले हाम्रो अनवरत खटाईको मूल्याङ्कन भएको महसुस भएको छ,” उहाँले भन्नुभयो, “अस्पतालमा अझै धेरै व्यवस्थापन र सुधार गर्नुपर्ने छ, जनशक्तिको व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेछ, हामी यो अस्पताललाई प्रदेशकै गुणस्तरीय सेवा र सुधारसहितको अस्पताल बनाउन चाहन्छौ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?