logo
२०८० चैत्र १६ शुक्रवार



लागूऔषध मुलुकको सामाजिक तथा आर्थिक विकासका लागि ठूलो चुनौतीः गृहमन्त्री

राष्ट्रिय |


लागूऔषध मुलुकको सामाजिक तथा आर्थिक विकासका लागि ठूलो चुनौतीः गृहमन्त्री
फाइल तस्बिर


देवबहादुर कुँवर
काठमाडौँ, असार १२ गते । उपप्रधान तथा गृहमन्त्री विष्णुपसाद पौडेलले लागूऔषध मुलुकको सामाजिक तथा आर्थिक विकासका लागि ठूलो चुनौती बन्दै गएकाले यसको नियन्त्रणका लागि सामुहिक ऐक्यबद्धतामा जोड दिनुभएको छ ।

‘लागू औषध रहित परिवारः स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ गृह मन्त्रालयद्धारा अन्तर्राष्ट्रिय लागू औषध विरुद्धको दिवस–२०२१ अवसरमा आयोजित विभिन्न रचनात्मक ‘भर्चुअल’ कार्यक्रमलाई शुभकामना दिदै गृहमन्त्री पौडेलले सो कुरामा जोड दिनुभएको हो ।

उहाँले लागू औषधको दुर्व्यसनमा किशोर–किशोरी तथा युवाको संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताउनुभयो । स्वस्थ, सभ्य, सदाचारी र अपराधमुक्त समाज निर्माणका लागि समुदायस्तरबाट नै लागूऔषध दुरुपयोग र कारोवार नियन्त्रणमा जोड दिनुभयो ।

राष्ट्र विकासमा समाहित हुने युवाहरु साथीभाइको संगत, पारिवारिक र मनोसामाजिक समस्याका कारण लागू औषध दुव्र्यसनको फस्नुले सामाजिक अपराध बढाइ समाजमा नाकारात्मक असर परेको धारणा गृहमन्त्री पौडेलले राख्नुभयो ।

‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पुरा गर्न युवाशक्ति अपरिहार्य भएकाले लागूऔषधको माग घटाई सङ्कटापन्न क्षेत्रमा सचेतनामूलक जागरुकता, क्षमता विकास, सामाजिक एकीकरण जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो ।

नेपालको लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार, प्रयोगकर्ताको संख्या वार्षिक ५.०६ प्रतिशतले बृद्धि भइरहेको छ । विश्व लागूऔषध प्रतिवेदन, २०२१ मा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या वर्षेनी गुणत्मक ढङ्गले बृद्धि भइरहेको उल्लेख छ ।

यसको नियन्त्रणका लागि सरकारी निकायका अतिरिक्त गैरसरकारी संघसंस्था, घरपरिवार, समाज समुदाय र स्वयं व्यक्तिबीच प्रभावकारी समन्वय तथा सहकार्यको आवश्यकता औंल्याइएको छ । मन्त्रालयले लागूऔषध विरुद्ध ‘भर्चुअल’ जनचेतना तथा जागरण अभियान सम्पन्न गरेको छ ।

सो अवसरमा गृहसचिव महेश्वर न्यौपानेले लागूऔषध दुरुपयोग, दुब्र्यसन, अबैध कारोवार र ओसारपसार विश्वव्यापी चुनौतीका रुपमा रहेकाले नेपाल समेत यो समस्याबाट अछुत रहन नसकेको बताउनुभयो ।
२०७६ सालको लागूऔषध प्रयोगकर्ता सर्वेक्षण अनुसार, नेपालमा लागूऔषध प्रयोगकर्ताको संख्या एकलाख ३० हजार चारसयको हाराहारीमा पुगेको जानकारी दिदै उहाँले कुल जनसङ्ख्याको ०.४८ प्रतिशत दुर्व्यसनको शिकार बनेको बताउनुभयो ।

लागूऔषध सेवनले सेवनकर्ताको स्वास्थ्य, सार्वजनिक सुरक्षा, उत्पादकत्व र सिर्जनशीलतामा ह्रास ल्याइ मुलुककै आर्थिक, सामाजिक, साँस्कृतिक पक्षलाई कमजोर बनाउदै लैजाने भएकाले यसको नियन्त्रणका लागि सरोकारवाला पक्ष सबै एकजुट हुनुपर्नेमा सचिव न्यौपानेले जोड दिनुभयो ।

लागूऔषध नियन्त्रण कार्यक्रमका प्रमुख एवं सहसचिव जयनारायण आचार्यले लागूऔषध उत्पादन, सञ्चय, ओसारपसार, विक्रीवितरण तथा सेवन अपराध भएकाले यस्तो गैर कानुनी गतिविधिमा आफू पनि नलाग्न र अरुलाई पनि लाग्न नदिन युवामाझ जनचतेना अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कोभिड–१९ सङ्क्रमणका कारण लागूऔषध दुर्व्यसन विरुद्धको अन्तर्राष्ट्रिय दिवस भर्चुअलबाट नै मनाइएको थप जानकारी उहाँले दिनुभयो । लागूऔषध दुर्व्यसन नियन्त्रणसम्वन्धी साहित्य सिर्जना तथा रचना वाचन कार्यक्रम आयोजना गरिएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?