logo
२०८० चैत्र १५ बिहीवार



नेपाली महिलाको पहिलो रोजाइमा सौन्दर्य र सिलाइ तलिम

अर्थ |
शिक्षा |


नेपाली महिलाको पहिलो रोजाइमा सौन्दर्य र सिलाइ तलिम


गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ११ गते । नेपाली महिलाहरुको बढी आकर्षण सौन्दर्य र सिलाइ बुनाइसम्बन्धी तालिमप्रति हुने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना–दोस्रो (इभेन्ट)ले युवाका लागि भौचरमा आधारित छोटो अवधिको तालिम प्रदान गर्दै आएको छ । यस तालिमअन्तर्गत विभिन्न ४० किसिमका सीप सिकाइन्छ । आवेदन दिँदा सबैभन्दा बढी सौन्दर्य र सिलाइ बुनाइका लागि पर्ने गरेको छ । इभेन्टका अनुसार गत वर्ष सिलाइ बुनाइमा आठ हजार ४२८ र ब्युटिसियनमा पाँच हजार ५४ जनाले तालिम लिएका थिए ।
इभेन्टका परियोजना निर्देशक चन्द्रकान्त भुसालले भन्नुभयो, “पम्परागत विषयप्रति महिलाको आकर्षण बढी हुने गरेको पाइएको छ ।”
पाँच वर्षको अवधिमा भौचरमा आधारित ६९ हजार पाँच सय युवालाई तालिम दिने लक्ष्य लिइएकोमा हालसम्म ४३ हजार ८३३ जनाले तालिम पूरा गरिसकेका छन् । तीन महिनाको तालिम र त्यसपछि छ महिना रोजगारीको अवधि निर्धारण गरिएको छ । उहाँले पहिलो वर्ष र दोस्रो वर्षमा रोजगारी दर सरदर ७५ प्रतिशत रहेको जानकारी दिँदै कोभिड–१९ का कारण गत वर्षको रोजगारी दर मूल्याङ्कन हुन नसकेको बताउनुभयो ।
परियोजना निर्देशक भुसालले नेपालमा सफल देखिएपछि विश्व बैङ्कले भौचरमा आधारित छोटो अवधिको तालिमलाई अन्य मुलुकमा पनि प्रयोगमा ल्याएको जानकारी दिनुभयो । भौचरमा आधारित, नतिजामा आधारित लगायतका विभिन्न तालिम पाँच वर्षभित्र एक लाख १५ हजारलाई उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
कोभिड–१९ को मार तालिममा पनि परेको छ । गत वर्ष कोभिडले तालिम ढिला सुरु भएको थियो । यसपटक सम्झौता भए पनि तालिम सञ्चालन हुन सकेको छैन । यस बाहेक यस वर्ष टीएसएलसीमा भर्ना भएका पाँच हजार पाँच सय जना र प्राविधिक शिक्षाको डिप्लोमा अध्ययन गरिरहेका एक हजारलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । टीएसएलसीका विद्यार्थीलाई जनही ५० हजार रुपियाँ र डिप्लोमाका विद्यार्थीलाई जनही डेढ लाख रुपियाँ उपलब्ध गराउने गरिएको छ । आगामी वर्षदेखि इभेन्टको दोस्रो चरणको तालिम कार्यक्रम सकिदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?