logo
२०७८ बैशाख ६ सोमवार



गिद्ध संरक्षणमा हातेमालो

विचार/दृष्टिकोण |


गिद्ध संरक्षणमा हातेमालो


कृष्णप्रसाद भुसाल

सिकार नगरी मरेका जनावरको मासु अर्थात् सिनो खाएर वातावरण स्वच्छ, सफा र सन्तुलित राख्ने प्रकृतिको कुचिकारका रूपमा परिचित छन्, गिद्ध । आजभन्दा करिब २५÷३० वर्षअघि संसारमा सजिलै र ठूलो सङ्ख्यामा पाइने गिद्ध पछिल्ला समयमा संसारबाटै लोप हुने अवस्थामा पुगेका छन् । नेपालमा सन् १९८० को दशकमा अनुमानित १० देखि १६ लाखको सङ्ख्यामा रहेका गिद्ध अहिले ९० प्रतिशतभन्दा बढीले घटेर २० हजारभन्दा कममा सीमित भएको बताइन्छ । यसप्रकारको भयावह विनाशका कारण अन्तर्राष्ट्रिय (आईयूसीएन)ले नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये चारलाई अतिसङ्कटापन्न, एकलाई सङ्कटापन्न र तीन प्रजातिलाई सङ्कटको नजिक सूचीमा राखेको छ ।
मुलतः घरपालुवा जनावरको सिनो खाई हाम्रो वातावरण प्रदूषित, दुर्गन्धित हुनबाट जोगाउने र रोगमुक्त बनाउने गिद्धको विनाशले पर्यावरणीय चक्र र खाद्यशृङ्खलामै असन्तुलन भएको छ । सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावले मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखाला र पशुचौपायामा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोगजस्ता रोगको महामारी पैmलन सक्ने चुनौती थपिएको छ । गिद्ध विनाशले नेपालको माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बतियनमूलका लामा समुदायको मृत आफन्तको शव गिद्धलाई खुवाई अन्त्येष्टि गर्ने संस्कारमा समेत असर परेको छ ।
सन् १९८०÷९० को दशकमा नेपाललगायत भारतीय उपमहाद्वीपमै गिद्धको सङ्ख्यामा अप्राकृतिक र नाटकीय ढङ्गले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो । सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशुको मृत्युपश्चात् उक्त सिनो खाँदा गिद्धको मृगौलामा असर गर्छ । समूहमा खाने गिद्धलाई ३० मिली लिटरको एक भाएल डाइक्लोफेनेक सङ्क्रमित एउटै सिनोले ३५० देखि ८०० गिद्धहरू मार्ने भएकाले यो औषधि गिद्ध विनाशमा प्रमुख कारण बन्न पुग्यो । गिद्धको यसप्रकारको विनाशबाट वातावरणमा सिनोबाट उब्जने प्रदूषण र मानवीय स्वास्थ्यमा प्रतिकूल असर बढ्दै जाँदा गिद्ध जोगाउने अभियानलाई नेपाल सरकार र समुदायले आत्मसात् गरेको देखिन्छ । गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ गतेदेखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिबन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग सुरु ग¥यो । गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदायको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदायस्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलियो । जटायु रेष्टुरेन्टमा किसानबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तु सङ्कलन गरी पालनपोषण गरिन्छ । तिनीहरूको प्राकृतिक मृत्युपश्चात् निश्चित स्थानमा गिद्धको आहाराका लागि राखिन्छ । रूपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाचोक र सुनसरीको कोसीटप्पुमा पनि विस्तारित भएका छन्– जटायु रेष्टुरेन्ट ।
स्थापनाको १० वर्षपछि चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काइएका र कोरलिएका डङ्गर गिद्धलाई विश्वमै पहिलोपटक सुरक्षित प्राकृतिक वातावरणमा पुनःस्थापना गराउने र स्याटेलाइट जडान गरी अध्ययन गर्ने कार्यको थालनी भएको छ । जसले प्रकृतिमा गिद्धको सङ्ख्या बढाउन र गिद्धको जैविक विज्ञानको जानकारीमा थप टेवा पु¥याउनेछ । नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९–२०१३ र दोस्रो पञ्चवर्षीय कार्ययोजना सन् २०१५–२०१९ को सफल कार्यावन्यनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग गिद्ध संरक्षण साझेदार संस्था र समुदायले हातेमालो गरिरहेका छन् । हामीले अङ्गीकार गरेको समुदायमा आधारित गिद्ध सुरक्षित क्षेत्र बनाउने अभियान र यसबाट प्राप्त नतिजा विश्व संरक्षण समुदायका लागि उदारणीय र अनुकरणीय बनेका छन् ।
गिद्ध स्वतन्त्रपूर्वक फराकिलो भू–भागमा उड्ने चरा भएकाले वृहत् भू–दृश्यस्तरमा स्थानीयदेखि अन्तरदेशीय साझेदारीमा गिद्ध संरक्षण अभियान सञ्चालन गर्नु आवश्यक छ । यही पृष्ठभूमिमा नेपालबाटै गिद्ध सुरक्षित क्षेत्रको वैज्ञानिक अवधारणामा आधारित भएर संरक्षणका कार्यक्रम थालनी सन् २००९ बाट सुरु गरिएको हो । नेपालमा गिद्धको घना वासस्थान भएका चितवन पश्चिम तराई र मध्य पहाडी जिल्लामा केन्द्रित भएर गिद्ध सुरक्षित क्षेत्रको विस्तार, विकास र दिगोपना बनाउन अध्ययन, अनुसन्धान र संरक्षणका कार्यक्रम केन्द्रित गरिएको छ । गिद्ध सुरक्षित क्षेत्र भनेर करिब १०० किलोमिटर अर्धव्यासको वृत्तभित्र पर्ने करिब ३० हजार वर्ग किमि क्षेत्रलाई परिकल्पना गरिएको छ । यद्यपि, यो क्षेत्र अन्य कुनै संरक्षित क्षेत्रजस्तो निश्चित साँधसीमा निर्धारण गरिएकोजस्तो भने होइन । यस क्षेत्रमा डाइक्लोफेनेकलगायत हानिकारक ओषधिको उपस्थिति शून्य हुनु अनिवार्य छ । यसबाहेक निरन्तर शुद्ध आहारको उपलब्धता, प्रकृतिमा प्रजनन गरिरहेका गिद्धहरूको नियमित अनुगमन, गिद्ध संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि तथा सरोकारवाला निकायसँग समन्वय र वकालत आदि क्रियाकलाप सञ्चालित हुनुपर्छ । विश्व संरक्षण समुदायका लागि नमुना मानिएको गिद्ध सुरक्षित क्षेत्रको यस अवधारणा भारत, पाकिस्तान, बङ्गलादेश र हालका वर्षहरूमा अफ्रिकालगायतका क्षेत्रमा पनि अनुशरण गरिएको छ ।
नेपालमा गिद्ध संरक्षणको क्षेत्रमा हालसम्म गरिएका अभियानको प्रतिफलस्वरूप पछिल्ला वर्षमा गिद्धको ह्रास रोकिएर पुनः बढ्ने दिशामा अघि बढेको अध्ययनहरूले देखाएका छन् । तर विडम्बना, हालका वर्षहरूमा पशु उपचारका लागि बजारमा आएका दुखाइ कम गर्ने औषधि आगामी दिनमा गिद्ध संरक्षणको सफलता टिकाइराख्न चुनौती बन्ने देखिन्छन् । यस पङ्तिकार पनि संलग्न भई सन् २०१२ देखि २०१७ सम्म नेपाल, भारत र बङ्लादेशमा डाइक्लोफेनेकलगायत अन्य पशु उपचारमा प्रयोग गरिने पीडानाशक औषधि प्रयोगको अवस्था सम्बन्धमा गरिएको अध्ययन हालै एक अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ । यसअनुसार नेपालमा गिद्धलाई सुरक्षित ठानिएको मेलोक्सिक्यम प्रयोग करिब ९० प्रतिशत छ भने हानिकारक डाइक्लोफेनेकको प्रयोग पछिल्ला वर्षहरूमा शून्य पाइएको छ । नेपालको गिद्ध संरक्षणमा यो उपलब्धि कोसेढुङ्गा हो । यद्यपि, पछिल्ला दिनहरूमा गिद्धका लागि हानिकारक प्रमाणित भइसकेका पशु उपचारमा प्रयोग गरिने एसिक्लोफेनेक, किटोप्रोफेन र निमुस्लाइडजस्ता औषधि प्रयोग नेपालमा बढ्दै गएको छ, जुन चिन्ताको विषय बनेको छ । नेपालमा एसिक्लोफेनेक, किटोप्रोफेन र निमुस्लाइडको उपलब्धता करिब पाँचदेखि सात प्रतिशत देखिएको छ । यी हानिकारक औषधिको पनि पशु उपचार प्रयोगमा रोक लगाउनु आजको प्राथमिक आवश्यकता हो । राष्ट्रिय निकुञ्ज तथा वन्जयन्तु संरक्षण विभागका महानिर्देशकको संयोजकत्वमा रहेको नेपाल भल्चर रिकभरी कमिटीले एसिक्लोफेनेक र किटोप्रोफेनको पशु उपचारमा प्रतिबन्धका लागि २०७६ वैशाख २५ गते औषधि व्यवस्था विभागसमक्ष ठोस प्रमाणसहित अनुरोध गरिसकेको छ । तर, यससम्बन्धमा औषधि व्यवस्था विभागको कुनै निर्णय आइसकेको छैन । हालैमात्र बङ्गलादेशले गिद्ध जोगाउन किटोप्रोफेनको पशु उपचार प्रयोगका लागि उत्पादन र बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ भने भारतको पनि तामिलनाडुलगायतका राज्यहरूमा बन्देज लगाइएको छ । यसर्थ, हामीहरूले पनि यी हानिकारक औषधिको प्रयोगमा रोक लगाउन ढिला गर्नुहँुदैन । अन्यथा प्रकृतिको अभिन्न अङ्ग गिद्ध सदाका लागि लोप भएर जानेछन् ।
(लेखक गिद्धविज्ञ हुनुहु््न्छ ।)