logo
२०७८ बैशाख ६ सोमवार



एयर एम्बुलेन्सबाट दिल्ली लैजाँदा

विचार/दृष्टिकोण |


एयर एम्बुलेन्सबाट दिल्ली लैजाँदा


राधिका शाक्य

हुन त, केपीजी न सभासद् न पार्टीको महŒवपूर्ण पदमा रहेको नेता । तर, महŒवपूर्ण पाइला चाल्ने बेला उहाँको सक्रियतामा कहिल्यै ब्रेक लागेन । २०६९ मा पनि उहाँको सक्रियता त्यस्तै थियो । घर हुँदा बिहान–बेलुका अबेरसम्म सयौँसँग भेटघाट, छलफलमा व्यस्त हुने र जिल्ला दौडाइ पनि उत्तिकै हुने । यो सबै परिस्थिति देख्दा मैले बारम्बार चेतावनी दिने गरेकी थिएँ ।
केपी ओलीको किड्नी प्रत्यारोपण विश्वका डाक्टरहरूका लागि एउटा ठूलो पाठ भनौँ या चुनौती भनौँ । कारण नियमित औषधि खानेबाहेक अन्य कुनै पनि नियम उहाँले पालना गर्नुभएन । यसरी अत्यन्तै सक्रिय जीवन चलिरहेकै अवस्थामा २०६९ असोजतिर (सन् २०१२ अक्टोबर) उहाँ न्युयोर्क हुँदै मेक्सिको जाने कार्यक्रम बन्यो । नेपालमै हुँदा उहाँलाई थकितजस्तो देखिएको थियो । त्यसमाथि विदेश उड्नकै लागि उहाँ जिल्लाको एउटा कार्यक्रमबाट फर्किनुभएकोजस्तो लाग्छ ।
काठमाडौँ आएर अबुधाबी हुँदै न्युयोर्कका लागि उहाँ उड्नुभयो । तर, मौसमको खराबीका कारण गर्दा उहाँको जहाज अबुधाबीमा अवतरण हुन नसकेर सायद दुबई गयो । जसले गर्दा न्युयोर्कको जहाज छुट्न गयो । धेरै समय अर्थात् लामो समयसम्म उहाँ एयरपोर्टमै बस्न बाध्य हुनुभयो । अन्त्यमा धेरै ठाउँमा अनुरोध गरेर लन्डन हुँदै न्युयोर्क पुग्नुभयो । यसपटक म साथमा नगएर राजेशलाई पठाएकी थिएँ । कारण म अमेरिका गइसकेको र दोहो¥याएर जान मन पनि नभएकाले राजेशलाई पठाएकी थिएँ । यो यात्रामा राजेश गएको हुनाले उसले अनेकौँ झन्झट बेहोरेर पनि यात्राको व्यवस्थापन गर्न सफल भयो । सायद म गएकी भए धेरै गाह्रो हुन्थ्यो होला ।
यसरी न्युयोर्क अवतरण गर्नासाथ संयुक्त राष्ट्रसङ्घका महासचिवसँगको भेट र मिटिङ सहभागी बन्नुभयो । यसबेला उहाँ आइक्यापको सदस्यको नाताले उक्त मिटिङमा सहभागी हुनुपर्ने थियो । त्यसको भोलिपल्ट नै पाँच घन्टाको हवाईयात्रा गरेर मेक्सिको पुग्नुभयो र केही मिटिङमा भाग लिनुभयो । तर, उहाँको स्वास्थ्यस्थिति दयनीय बन्दै गइरहेको थियो । त्यसैले मेक्सिकोबाट तुरुन्त फिर्ता भई न्युयोर्क पुग्नुभयो र न्युयोर्कस्थित लेनोक्स हिल हस्पिटलमा भर्ना हुनुभयो । यसरी अमेरिकाको अस्पतालमा पनि एक हप्ता उपचार गर्नुभयो । तर, पूरा निको भएन । अनि त्यहाँबाट डिस्चार्ज भएर न्युयोर्कमा सञ्जय थापाजीको घरमा दुई÷चार दिन बसेर २०६९ को दसैँ त्यहीँ मनाएर दिल्ली आउनुभयो ।
हाम्रो सल्लाह के भयो भने अमेरिकाले एसियनहरूको रोग पहिचान गर्न सकेन होला । त्यसैले दिल्लीमै उपचार गरौँ भन्ने रह्यो । तसर्थ, म पनि यहाँबाट दिल्ली गएँ । हाम्रो भेट दिल्लीमा भयो । यसबीचमा मलाई कति तनाव भयो भन्ने व्यक्त गर्ने शब्दहरू नै अहिले छैन ।
दिल्ली पुगेर डाक्टरसँग सम्पर्क गरी हामी एपोलो अस्पताल गयौँ । रगतदेखि सबै परीक्षण गरायौँ । तर, यहाँ पनि डाक्टरले रोग केही छैन, अति कमजोर छ, आराम गरेपछि राम्रो हुन्छ भन्नुभयो । यदि आराममात्र गर्ने हो भने आफ्नै ठाउँमा जाउँ भनेर हामी नेपाल फर्कियौँ । नेपाल फर्केको अर्को दिनदेखि उहाँको खोकी यसरी बढ्यो कि हेर्न नै गाह्रो भयो । त्यसपछि केही बोतल स्लाइन पानी चढाउनुप¥यो भनेर डाक्टर दिलिप शर्माको सल्लाहबमोजिम थापाथलीस्थित ‘ब्लु बर्ड क्लिनिक’मा लगियो र स्लाइन चलाइयो । तर, स्थितिमा सुधार देखिएन । लगत्तै नर्भिक अस्पतालका डाक्टरलाई डा. दिलिपले बोलाउनुभयो । अनि उहाँले केपी सरलाई देख्नासाथ र जाँच गरिसकेपछि तुरुन्त एम्बुलेन्स बोलाएर नर्भिक अस्पताल
पु¥याउन लगाउनुभयो ।
थापाथलीस्थित नर्भिक अस्पताल पु¥याएपछि आवश्यक प्रक्रिया पु¥याइसकेपछि उहाँलाई आईसीयूमा लगेर राखियो । नर्भिक अस्पतालमा हुँदा पनि भिजिटरको भीड अति नै थियो । सायद चौथो दिनमा नर्भिकबाट पुनः एयर एम्बुलेन्स बोलाएर सिधै दिल्ली गुडगाउँस्थित मेदान्त अस्पताल लगियो । त्यतिबेला नर्भिक अस्पतालको अवस्थाबारे केही बुझ्ने र जान्ने अवसर मिल्यो । त्यहाँ बिरामीको कक्षमा जान नपाएका हजारौँ शुभचिन्तकसँग मैले भेटेकी थिएँ । तीन÷चार दिन त थापाथलीमा मेला लागेजस्तै भएको थियो । मेरो बहिनी राधा शाक्य प्रसूति गृह अस्पतालकी स्टाफ नर्स भएको हुनाले हाम्रा लागि खानाको व्यवस्था उनैले गरेकी थिइन् । यसरी नर्भिकले पनि नसकेपछि मेदान्त लानेक्रममा देखेको त होइन, सुनेअनुसार नर्भिकदेखि एयरपोर्टसम्म नै शुभचिन्तकको भीड लागेको थियो रे । मलाई लाग्छ, नेपालमा एकजना व्यक्ति बिरामी हुँदा जनताको ठूलो चासो यही नै पहिलो थियो कि ?
एयर एम्बुलेन्समा राजेशलाई साथमा पठाएर म र इन्द्र भण्डारी नियमित उडानबाट दिल्ली उड्याँै । हामी एयरपोर्टबाट सिधै अस्पताल गयौँ । तर, हामी पुग्दासम्म पनि केपीजीलाई पु¥याइएको थिएन । हामीलाई झन् बढी तनाव भयो । एयर एम्बुलेन्स अवतरण हुन सकेन कि भन्ने पनि लाग्यो । दिल्लीस्थित मेदान्त अस्पतालबाहिर नेपाली साथीहरू र दूतावासका कर्मचारी पनि प्रतीक्षारत थिए । उहाँलाई अस्पताल ल्याइपु¥याउँदा अँध्यारो भइसकेको थियो । जनकपुरनिवासी उक्त अस्पतालमा कार्यरत एकजना टेक्निसियन भाइले भर्नाका लागि आवश्यक व्यवस्था गरिदिए । अनि राति हामी नजिकको गेस्ट रुममा गएर बस्यौँ ।
मेदान्त अस्पतालवरिपरि विभिन्नस्तरका धेरै गेस्टहाउस रहेछन् । हामी त्यहाँ पुग्नासाथै धेरै एजेन्टले आ–आफ्नो गेस्टहाउसमा हामीलाई लैजाने प्रयास गरेका थिए । त्यसैले एपोलोमा उपचार गराउँदा जस्तो बस्नका लागि दुःख यहाँ भएन । ठिकैखालका दुई÷तीनवटा कोठा लिएका थियौँ । खाना पकाएर खाने ठाउँ र सामान पनि थिए । साथै रेस्टुराँबाट मगाएर पनि खान सकिन्छ । खाने, बस्ने सवालमा यसपटक मैले धेरै दुःख भोग्नुपरेन । उता बिरामीलाई सुरुदेखि नै ‘आईसीयू र सीसीयू’मा भर्ना गरेको हुनाले हामी कुरुवा बस्नुपरेको थिएन । त्यहाँ प्रत्येक दिन दुईपटक दुईजना भिजिटरलाई मात्र अनुमति दिइएको हुन्छ । म प्रत्येक दिन भिन्नभिन्न व्यक्तिहरू पठाउँथेँ । म गेस्टहाउसमा बस्ने र सुत्ने अनि बिहानको खाजा खाएर हिँडेरै अस्पताल पुग्ने गर्थें । अनि अस्पतालको सेरोफेरोमै दिन बिताउने गर्थें । खालि पैसामात्र हुनुपर्छ । चिया, कफी, स्न्याक्स खाने, नास्ता र बिहान–बेलुकाको खाना खाने ठाउँ छुट्टाछुट्टै थिए । सरसफाइ पनि राम्रै छ । अस्पतालमा ओपीडी क्लिनिक वार्ड धेरै भएकाले दिनभरि नै मानिसको चहलपहल बाक्लै हुने गथ्र्याे । अस्पताल आउने, जाने धेरै मानिसमा खुट्टा दुख्ने समस्या छ कि भन्ने मलाई लागेको थियो । प्रायः मानिस खुट्टा खोच्याउँदै हिँडेको देखिन्थ्यो । अलि पाका महिलालाई त हिँड्न समस्या देखिएको थियो ।
बाहिर हामीजस्ता विदेशका बिरामी र उनीहरूका सहयोगीहरूका लागि काउन्सिलिङ् गर्ने, सुझाव लिने छुट्टै कोठा या युनिट पनि व्यवस्था रहेछ । त्यसैले पनि मलाई यहाँ धेरै कुरामा सहयोग पुगेको छ । माथि वार्डमा केपीजीलाई राखेको ठाउँमा सिसा या प्लास्टिकले घेरिएको कोठा रहेछ । भर्ना गरेको तीन÷चार दिन हुँदा पनि स्वास्थ्यमा खासै सुधार नदेखिएपछि उहाँको मुख र घाँटीबाट मेसिन भित्र पठाएर छातीमा टाँस्सिएको खकार निकाली टेस्ट गर्न एकजना लेडिज डाक्टर तयारीसाथ आउनुभयो र फर्ममा सही गर्न मलाई बोलाउनुभयो । उहाँले भन्नुभयो कि उहाँको रोग के हो ? पत्ता लगाउनको लागि हामी ब्रोन्कोस्कोपी गर्न लागेका छौँ । एक त उहाँ मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति, दोस्रो एकदम कमजोर अवस्था त्यसैले उहाँको खकार निकाल्नेक्रममा अप्ठेरो परेमा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ र त्यहाँ राखिसकेपछि जीवित फर्केर आउनेमा अली शङ्का हुन्छ भन्ने ढङ्गले कुरा गरे । यी सबै कुरा सुनेपछि मैले फर्ममा सही गर्न सकिनँ । मैले आज नगरौँ म सबैसँग सल्लाह गर्छु र तपाईंलाई खबर गर्छु भनेँ । त्यसपछि डाक्टरको टोली फर्कियो । अघि डाक्टरको टोलीले भनेको कुराले मलाई ठूलो पहिरोले थिचेजस्तो भयो । अब भेन्टिलेटरमा राख्न दिनु भनेको सिधै फर्केर नआउने भनेजस्तो आसयको कुरा उनीहरूले गरे । त्यो कुराकानी सुनेदेखि नै आफूले टेकेको जमिन हल्लिएजस्तो भयो । खु्ट्टा लुलिएर थचक्क भइएलाजस्तो भयो । वरिपरिको वातावरण एकतमासको लाग्यो, संसार फन्फनी घुमेजस्तो भयो । म रोउँ कि, यहीँ थचक्कै बसुँ कि । रोएर समस्या समाधान हुने त होइन । तर, परिस्थिति त्यस्तो भएपछि तर्कले काम गर्दाे रहेनछ । रोएर केही हुन्न भन्दाभन्दै म धेरै रोएँ । रातभर आँखा झिमिक्क भएन । काठमाडौँमा पार्टीका साथीहरू, मैले चिनेका डा. दिलिपकुमार शर्मा र डा. कैलाश भण्डारी, दिल्लीका डा. अखिलेश्वर मिश्र, डा. अनन्त, डा. राजीव शर्मा आदिलाई फोन गरेँ ।
उनीहरूसँग सल्लाह मागेँ । डा. दिलिप र डा. कैलाशलाई जसरी भए पनि तपाईहरू दिल्ली आउनु भनेर अनुरोध गरेँ । मध्यरातमा डा. राजीव र उहाँका म्याडम, डा. गीत मलाई भेट्न गेस्टहाउस आउनुभयो । नआत्तिन र धैर्य गर्न भन्नुभयो । भोलिपल्ट बिहानैको फ्लाइटबाट डा. दिलिप शर्मा र डा. कैलाश पनि दिल्ली पुग्नुभयो । हामी सबै भएर अस्पतालका प्रमुख डाक्टरसँग कुरा ग¥यौँ ।
मैले भनेँ, केपी ओली मेरो श्रीमान्मात्र नभएर एउटा जिम्मेवार पार्टीको नेतासमेत भएकाले मैलेमात्र कुनै कुराको निर्णय दिन सक्दिनँ । अर्कोतिर नेपालबाट दुईजना डाक्टरहरू आएपछि म ढुक्क भएँ । उहाँहरूले जे निर्णय गर्नुहुन्छ, त्यसैमा मेरो पनि सहमति हुन्छ भनेँ । म उहाँहरूमाथि विश्वास गर्छु र भरोसा राख्छु । सबै जिम्मा डाक्टर दिलिप र डा. कैलाशलाई दिएपछि अस्पतालका सम्बन्धितहरूसँग छलफल गरियो । तर, पछि ब्रोन्कोस्कोपी गर्नु नपर्ने निर्णय भयो । यसपछि थप एक हप्ता गरी जम्मा १४ दिनको दिन केपीजी डिस्चार्ज हुनुभयो । डिस्चार्ज हुनुभन्दा एक दिन अगाडि उहाँलाई आईसीयूबाट जनरल वार्डमा सारिएको थियो । जनरल वार्डमा ल्याएपछि उहाँलाई नुहाइदिन खोज्दा शरीरमा हाडमा टाँसिएको छालाबाहेक शरीरमा मासु भन्ने छैन कि जस्तो लाग्यो । उहाँलाई यतिको दुब्लो त मैले कहिल्यै देखेको थिएन । शरीरमा कहीँ, कतै एउटा सुई रोप्ने ठाउँ पनि छैनजस्तो लाग्छ । यसरी निमोनियाबाट बचाएर २०६९ को तिहारको लक्ष्मीपूजाको अघिल्लो साँझ डिस्चार्ज गरी अस्पतालबाहिर आयौँ । डिस्चार्ज गरी उहाँलाई सिधै गेस्टहाउसमा लगेँ । एकछिन त्यहाँ आराम गराई त्यसै रात डा. राजीव र गीत शर्माको निवासमा बस्न गयौँ ।
डा. राजीव शर्मा दिल्लीनिवासी र विगतमा एपोलो अस्पतालका अर्थोपोडिक सर्जन हुन् । आजका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हिपको हड्डीको अपरेसन गर्ने व्यक्ति डा. राजीव शर्मा नै हुन् । समय–समयमा उनी पेसाकै सिलसिलामा नेपाल पनि आउँछन् । केपीजीको मिर्गौला प्रत्यारोपणदेखि नै हाम्रो चिनजान भएको हो । डा. शर्माका म्याडम गीत शर्मा सायद शिख समुदायकी छोरीजस्तो लाग्छ । उनी पनि डाक्टर तर मेडिकलपट्टि होइन । उनीहरूका दुई छोराहरूमा जेठो उसबेला अमेरिकामा अध्ययनरत र कान्छो सँगै थिए । छोराछोरीको असाध्यै हेरचाह गर्ने आमाहरूमध्ये डा. गीत पनि पर्नुहुन्छ । हामी अस्पतालबाट निस्केर उहाँहरूको निवासमा किन बस्न गयौँ भने पहिलो कुरो उहाँहरूको विनम्र अनुरोधलाई इन्कार गर्न सकिएन । दोस्रो कुरा, केपीजी धेरै कमजोर भएकाले बाक्लो भेटघाटबाट टाढा राख्नका लागि पनि उहाँहरूको निवास उपयुक्त लाग्यो । तेस्रो, डाक्टरकै घरमा बस्दा मलाई पनि ढुक्क हुने भयो । चौथो केपीजीका लागि आवश्यक सरसफाइ पनि त्यहाँ राम्रो छ ।
हामी करिब दुई हप्ता डाक्टर शर्माको निवासमा बस्यौँ । यसबीचमा दुई÷तीनपटक फलोअपमा अस्पतालमा गयौँ । यस अवधिमा केपीजीले निकै कम व्यक्तिलाई मात्र भेटघाट गर्नुभयो । २०६९ को लक्ष्मीपूजाको दिन हामी शर्माजीकै घरमा थियौँ । उहाँहरूको लक्ष्मीपूजामा एकजना पण्डित बोलाएर छोटो पूजापाठ गरिएको थियो ।
त्यहाँ लक्ष्मीपूजामा छरछिमेकी र आफन्तबीच मिठाइ उपहार दिने चलन रहेछ । त्यसैले हामीले त्यतिबेला धेरै थरीका धेरै मिठाइ पनि खायौँ । बाहिर पटाका पड्काउने धेरै हुँदारहेछन् । तिहार भए पनि अन्य चहलपहल खास देखिएन । यसरी यसपटक पनि करिब एक महिना दिल्ली बसेर हामी काठमाडौँ फर्कियौँ ।
(प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूति’बाट साभार ।)