logo
२०७८ बैशाख ६ सोमवार



हाम्रा पर्वत, हाम्रो बहादुरी

विचार/दृष्टिकोण |


हाम्रा पर्वत, हाम्रो बहादुरी


पूर्णहरि अमात्य

सन् १९५३ मे २९ मा तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले सगरमाथा (माउन्ट एभरेष्ट)मा पहिलोपटक पाइला टेक्दा संसारभरि जुन सनसनी फैलिएको थियो, त्यस्तै पुनरावृत्ति भएको छ । सगरमाथाको सफल आरोहण एकजना नेपाली शेर्पाले गरेका थिए र अर्का विदेशी (न्युजिल्यान्ड)का थिए । तर, किलर हिमाल (हत्यारा हिमाल)को नामले कुख्याती कमाएको विश्वको दोस्रो अग्लो हिउँ चुचुरा केटु (आठ हजार ६११ मिटर) को सफल आरोहण निर्मल पुर्जामगरको नेतृत्वमा भएकोमा सारा संसार अचम्मित भएको छ ।
पाकिस्तानमा रहेको केटुको सफल आरोहण सन् १९५४ मा भएको थियो । दोस्रो सफलता ३८ वर्षपछि नेपालीलाई प्राप्त भएपछि विदेशी सञ्चारमाध्यममा व्यापक चर्चा भयो । त्यसो त विश्वको दोस्रो अग्लो टाकुरा आरोहण गर्ने प्रयास सन् १९०२ मा पनि पहिलोपटक भएको थियो । नेपालीलाई प्राप्त यो सफलताको विश्वमा चर्चा त्यसै भएको होइन । माइनस ६५ डिग्रीको तापक्रम र त्यसमाथि २०० किलोमिटर प्रतिघण्टाको मुटु हल्लाउने हावाको वेगमा ठाडो उकालो हिउँमा उक्लन साह्रै नै सकसपूर्ण हुन्छ । तर, ब्रिटिस सेनाको आकर्षक जागिरलाई तिलाञ्जली दिँदै निर्मल पुर्जामगरको नेतृत्वमा मिङ्मा शेर्पा, मिङ्मा ग्याल्बु शेर्पा, किलु पेम्बा शेर्पा, दावा तेम्बा शेर्पा र सोना शेर्पाको समूह अभेद्यझैँ ठानिने केटुको सफल आरोहणले नेपाल र नेपालीको मानप्रतिष्ठा बढाइदिएको छ । र, सबैभन्दा महŒवपूर्ण कुरा नेपाली गोराको भरिया र भान्छेका रूपमा पेट पाल्नमात्र उच्च हिमालको सफल आरोहणमा सक्रिय भूमिका खेलेर अब सन्तुष्ट हुनेवाला छैनन् भन्ने स्पष्ट भएको छ । आजका नेपाली युवा पुस्ता अदम्य साहस, बहादुरीसाथ जस्तोसुकै चुनौती पनि स्वीकार गर्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हुन््– निर्मल पुर्जा ।
उच्च हिउँ शिखरहरूको आरोहणको फ्रेन्च नागरिक मौरिस हर्जोगले सन् १९५० मा अन्नपूर्णको र तेन्जिङ शेर्पा तथा हिलारीले सन् १९५३ मा सगरमाथा उक्लेको खुबै चर्चा हुन्छ । तर, कुनै पनि विदेशीले नेपाली हिमाल चढ्दै हाम्रा करवीर बुढाथोकी र हर्कवीर थापाले सन् १८९४ मा आल्मुस (युरोप)मा एक हजार माइल चहारेर स्वीट्जरल्यान्डको एउटा चुली पहिलोपटक चढेका चर्चा विरलै हुन्छन् र सो चुलीको नामाकरण गोर्खा चुली राखिएको थियो । (सर विलियम मार्टिन कनवे–द आल्पस, फ्रम एन्ड टु एन्ड, लन्डन सन् १८९५) १५०० माइलमा फैलिएको उच्च शृङ्खला भएका हिमाल ऋषिमुनीहरूको तपस्या स्थल पौराणिककालमा थिए । त्यसैले त पर्वतलाई दार्शनिकताको स्रोतको साथै सुन्दरताको मुहार भनिएको होला । पर्वतबारे प्रसिद्ध भूगोलविद् स्व. डा. हर्क गुरुङ भन्नुहुन्छ, ‘विश्वभरले मान्यता गर्ने परिभाषा पहाडलाई छैन, (इसिमोडका लागि एसियाका पर्वतहरू पुस्तक) अर्का जटिल वैज्ञानिक विषयलाई सामान्य पाठकलाई बुझ्नेगरी लेख्न खप्पिस डा. तीर्थबहादुर श्रेष्ठ पर्वतका सम्बन्धमा भन्नुहुन्छ– पहाडमा नचढी पहाड चिनिँदैन, बुझिँदैन । पहाड भन्नु एउटा चुनौती हो । त्यसै भएकाले सगरमाथा (एभरेष्ट) चढ्ने प्रयासमा बारम्बार लागेका पर्वतारोही जर्ज ली मेरोरीलाई किन पटक–पटक एभरेष्ट नै चढ्न जान्नुहुन्छ ? भनी प्रश्न गर्दा उहाँको सटिक जवाफ थियो, किनभने त्यो त्यहाँ छ ।
उहाँ भन्नुहुन्छ, एसिया महाद्वीपभन्दा बाहिर सात हजार मिटरभन्दा अग्ला शिखर भेटिँदैनन् । नेपालभित्र भने अझै पनि त्यो उचाइ भएका ७८ हिमशिखरको नामाकरणसम्म पनि हुन सकेको छैन । तसर्थ, पहाड रहस्यको पनि पहाड हो । नेपाललाई वाटर टावर त्यसै भनिएको होइन । हाम्रा कोसी, गण्डकी, कर्णाली र महाकालीले नेपालको मात्र होइन, भारतीय समतल फाँटलाई उर्वर बनाउन अमूल्य योगदान गरेको छ । त्यस्तै सिन्धु, गङ्गा, ब्रह्मपुत्र र अन्य सात नदीको उद्गमस्थल पनि हिन्दुकुश हिमाल नै हो।
नेपालमा परम्परागत रूपमा हिमाल आरोहण गर्ने पेसा शेर्पा जातिकै हो र त्यसमा पनि सगरमाथाको खुम्बु क्षेत्रको शेर्पाहरूको बढी संलग्नता भेटिन्छ । त्यसो त हिमाल आरोहण दोलखा र सङ्खुवासभाका शेर्पाहरूको संलग्नतालाई कम आँक्न मिल्दैन । सगरमाथाका प्रथम सफल आरोही तेन्जिङ शेर्पाको पर्वतारोहणको गाथा झन्डै सात दशकदेखि चलिरहेको छ र यो समुदायको ख्याति विश्वभरि पर्वतारोहणबाट सम्भव भएको हो । धर्मराज थापाले गाउँदै हिँडेको हाम्रो तेन्जिङ शेर्पाले चढे हिमाल चुचुरो गीत खुब घन्कियो । तर, जीवन धान्न मुस्किल परेपछि सुखद भविष्यका लागि तेन्जिङ भारत(दार्जिलिङ) तिर भास्सिनुभयो । परिवर्तित समयको ख्याल गर्दै उहाँका नाति हाल अस्ट्रेलियावासी भएका छन् ।
हिमाल आरोहणको आकर्षणमा कुनै कमी आएको छैन । माओवादी द्वन्द्वकालमा नेपालमा पर्यटक आगमन कम भए पनि पर्वतारोहणमा खासै कमी नआएको सम्बन्धित क्षेत्रको भनाइ छ । र, पर्वतारोहण तथा शेर्पा समुदाय पर्यायवाचीझैँ भन्ने गरिएकोमा चाहिँ ग्रहण लाग्ने थालेको आँकलन शेर्पा समुदायका अगुवाको छ । त्यसैमध्येका एक हुनुहुन्छ– सोलुखुम्बुमा जन्मेर काठमाडौँमा दशकौँदेखि बस्दै आउनुभएका पर्वतीय पर्यटन उद्यमी आङछिरिङ शेर्पा । भन्नुहुन्छ, बहराइनका राजकुमारले हिमाल चढ्दैमा हाम्रो पर्वतारोहण उद्योग फस्टाउँछ भन्ने भ्रमणमा नपरौँ । हाम्रो पर्वतारोहणलाई चलायमान बनाउन युरोप, अमेरिका र अस्ट्रेलिया आदि मुलुकका पर्वतारोहीको आगमनले एकातिर नेपाल सरकारलाई राजस्व (रोयल्टी) प्राप्त हुने र अर्कातिर ठुलो सङ्ख्यामा यसै पेसामा आश्रित स्थानीयलाई रोजगारी प्राप्त भइरहेकोमा कोभिड १९ को महामारीले हजारौँको गाँस खोसिएको छ ।
पर्वतारोहणप्रति पश्चिमाको आशक्ति (क्रेज) बुझिनसक्नु छ तर त्यसैले उनीहरू नौलो ठाउँमा गएर कसैले नउक्लेको वा आरोहण गर्न नसकेको चुलीमा टेक्न चाहन्छन् । हजारौँको सङ्ख्यामा गृष्म तथा शरदकालमा पश्चिमा सौखिन पर्वतारोही अपरिचित रहस्यमयी अग्ला चुचुराको सफल आरोहण गर्न ज्यानको पर्वाहसमेत गर्दैनन् । बोनिङ्टन र मेस्नरजस्ता प्रख्यात हिमाल आरोहीको व्याख्यान सशुल्क सुन्न गोराहरू लालायित हुन्छन् । मेस्नर अस्ट्रेलियाका नागरिक भए पनि नेपालका हिमालको सफल आरोहणपछि ठूलो ख्याति कमाएर आल्पसको रमणीय डाँडामा मिनी नेपालको झझल्को दिनेगरी बस्नुभएको छ । केही समयपहिले नेपाल पर्यटन बोर्डको पटाङ्गिनीमा भन्नुभएको थियो, ‘नेपाल मेरो दोस्रो घर हो ।’ हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेपछि फ्रान्सका राष्ट्रपति चाल्र्स डेगोलले उहाँलाई युवा तथा खेलकुदमन्त्रीको अभिभारा सुम्पनुभयो । किनकि फ्रान्सका युवा पुस्तामा साहसिक कार्यको प्रेरणा मिलोस् भन्ने डेगोलको चाहना थियो ।
हिमाल आरोहण लरोतरो ज्यानले सम्भव छैन, त्यसका लागि शारीरिक तन्दुरुस्ती हुनैपर्छ र आरोहण जुन ज्यादै जोखिमपूर्णसमेत छ । तर, शेर्पाहरूसित जीवन धान्ने अन्य विकल्प नभएपछि पर्वतारोहण उनीहरूको बाध्यता हो । एउटा शेर्पाको पुस्ताले यो पेसाबाट राम्रो आयआर्जन गरेपछि उसको सन्तानले आफूजस्तो दुःख कष्ट भोग्न नपरोस् भन्ने उसको चाहना हुन्छ । र, त्यसै सिलसिलामा आजका शेर्पा युवा पुस्तामा आरोहणप्रति खासै रुचि देखिँदैन । हिमाल आरोहणमा संसारभरि ख्याति कमाएका शेर्पा युवा पुस्ता अब तयार होलान् भन्ने कुरामा शङ्का उठ्न थालेको छ ।
आङछिरिङ शेर्पा जो मेडिकल डाक्टर बन्न भारतको दरभङ्गा (विहार) मेडिकल कलेजमा तीन वर्ष पढ्दै गर्दा त्यहाँको उखरमाउलो गर्मीमा बिरामी परिरहनाले स्वास्थ्यको ख्याल गर्दै पढाइ छोडेर नेपाल फर्कनुभयो ।
र, हाल शेर्पा एक सफल पर्यटन उद्यमीका रूपमा स्थापित हुनुहुन्छ । उहाँको छोरा दावा स्टेफेन शेर्पा एक आसलाग्दो युवा जो सम्पूर्ण हिमालको पर्यावरणमा परिरहेको नकरात्मक प्रभाव कम होस् भनेर जनचेतना फैलाउन लागिपर्नुभएको छ ।
मुलुकको विदेशमा मानप्रतिष्ठा बनाउन शेर्पाहरूको ठूलो योगदान छ । तर, शेर्पा समुदायमा राज्यले उनीहरूको उचित कदर गरेन भन्ने गुनासो दशकौँदेखि हालसम्म विद्यमान रहेको छ । सन् २०१४ मा सगरमाथा क्षेत्रमा हिमपहिरो जाँदा १६ आरोही शेर्पाको निधन हुँदा राज्यले गरेको व्यवहारबाट उनीहरू आन्दोलित भएका थिए । स्मरण रहोस्, उक्त दुर्घटनाका सम्बन्धमा विरलै नेपालका बारेमा खबर छापिने न्युयोर्क टाइम्सको मुख्य पृष्ठमा तस्बिरसहित लामो रिपोर्टिङ छापिएको थियो । राज्यले कसैलाई काखा कसैलाई पाखा गर्न हुँदैन । एउटा राष्ट्रियगानका रचयितालाई आजीवन मासिक भत्ता दिनचाहिँ मिल्ने तर पर्वतारोहणबाट ५०सौँ करोड राजस्व (रोयल्टी) उठ्ने पेसामा संलग्नलाई फूलमाला, खादा र अबिरको टीकाले उनीहरूको जीवन धान्दैन भनी बुझ्न ढिलो भएन र ?
केटुको सफल आरोहण निर्मल पुर्जाले आफ्नै आँट र पहलमा गर्नुभएको हो, जसमा राज्यको कुनै भूमिका छैन । तर, आउँदा दिनमा पुर्जा र अन्य आरोहीलाई प्रोत्साहन, सम्मान र प्रेरणा राज्यले दिने हो भने नयाँ कीर्तिमान स्थापित हुने बलियो सम्भावना रहन्छ ।
(लेखक वातावरण पत्रकार हुनुहुन्छ ।)