logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा हरेक परिस्थितिको सामना गर्न तयार छः मन्त्री रायमाझी

राष्ट्रिय |


नेकपा हरेक परिस्थितिको सामना गर्न तयार छः मन्त्री रायमाझी
फाईल तस्विर


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १४ गते । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले केपी शर्मा ओली नेतृत्वको नेकपाले हरेक परिस्थितिको सामना गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीले आर.आर क्याम्पसमा आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी निर्वाचनमा जाने र संसद फेस गर्ने दुबै विकल्पमा समक्ष रहेको बताउनुभयो ।

उहाँले मुलुकमा अस्थिरता उत्पन्न हुने परिस्थिति सिर्जना भएपछि प्रधानमन्त्रीले बाध्य भएर संसद विगठन गरेको भन्दै पुर्नस्थापना गर्ने अदालतको फैसलालाई पार्टीले स्वीकार गरेको बताउनुभयो । उहाँले अब संसदमा कुनै पनि दलको वहुमत पुग्ने अवस्था नरहेमा पुनः संसद विगठन गरेर निर्वाचनमा जानु पर्ने परिस्थिति सिर्जना हुने बताउनुभयो ।

मन्त्री रायमाझीले परिस्थिति सहज नभएकाले प्रचण्ड– माधव नेपालले संसद पुर्नस्थापना हुन साथ एक अर्कालाई लड्डु खुवाएर खुसीयाली साट्नुको कुनै अर्थ नरहेको जिकिर गर्नुभयो । उहाँले प्रचण्ड–माधवले प्रतिपक्ष दलका नेतालाई प्रधानमन्त्री बन्न गरेको हतारको प्रस्तावले उनीहरुकै समूहबाट बिरोध भइरहेको बताउनुभयो ।

‘कांग्रेस र जसपाका नेतासँग उहाँहरुले सत्ता साझेदारीको प्रस्ताव त गर्नुभयो’ मन्त्री रायमाझीले भन्नुभयो, ‘तर उहाँहरुलाई दुबै दलले विश्वास गर्न सकेनन् ।’ उहाँले मुलुकको परिवर्तनमा विद्यार्थीहरुको अहम भूमिका रहेको भन्दै स्थायीत्व र स्थिरताका लागि विद्यार्थीहरुले दवाव सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीहरुले भविश्यलाई सहि ढंगले दिशानिर्देश गर्नुपर्ने बताउँदै विद्यार्थी संगठन नेता उत्पादन गर्ने उपयुक्त माध्यम भएको धारणा राख्नुभयो । पार्टी जनवर्गिय संगठन इन्चार्ज समेत रहनुभएका मन्त्री रायमाझीले विद्यार्थीहरुलाई सरकारले गरेका थुप्रै राम्रा कामहरुको प्रचार–प्रसारमा जुट्न निर्देशन समेत दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?