logo
२०८१ बैशाख ११ मंगलवार



सीपमूलक तालिम सञ्चालन गर्न आग्रह

अर्थ |


सीपमूलक तालिम सञ्चालन गर्न आग्रह


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १३ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार र निजी क्षेत्रको सहकार्यमा सीपमूलक तालिम सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ । महासङ्घको स्वास्थ्य तथा सीप विकास समितिको टोलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसँग भेट गरी उक्त आग्रह गरेको हो ।
भेटका अवसरमा महासङ्घका तर्फबाट सीपमूलक तालिमका लागि थुप्रै संस्थाले तालिम दिने र ठूलो रकम खर्च हुने गरे पनि निजी क्षेत्रको मागअनुसार दक्ष एवं सीपयुक्त जनशक्ति पाउन कठिनाइ भइरहेको कुरा सो अवसरमा उठाइएको महासङ्घले जनाएको छ ।
महासङ्घको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्तबहादुर हमाल, सदस्य सीताराम रेग्मी, महासङ्घका पूर्वकार्यकारिणी समिति सदस्य कमला श्रेष्ठसहितको प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय गौरीशङ्कर चौधरीसँग मन्त्रालयमा भेट गरेको थियो ।
भेटमा सभापति ढकालले मुलुकभित्र सञ्चालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठूलो समस्या भएको उल्लेख गर्नुभएको थियो । त्यस्तै कुनै पनि सीपबिना कामका लागि विदेशिने युवा न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि सीपयुक्त जनशक्ति विकासका लागि तत्काल तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा मन्त्री चौधरीले सीपमूलक तालिम सञ्चालन गर्ने सरकारको योजना रहेकाले महासङ्घबाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?