logo
२०७८ बैशाख ५ आईतवार



अब कठोर छैन ठोरी

ठोरीवासी ओइलाएको अनुहारमा देखिँदैनन्

विचार/दृष्टिकोण |


अब कठोर छैन ठोरी


डा. गोविन्दबहादुर थापा

ठोरी नेपालको बेला–बेलामा चर्चामा आउने ठाउँ हो । पछिल्लोपटक २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको समयमा ठोरी चर्चाको शिखरमा थियो । किनभने नाकाबन्दीकालमा त्यही नाका भएर अत्यावश्यकीय वस्त काठमाडौँसम्म आइपुग्थे । ठोरी पर्सा जिल्लाको सदरमुकाम वीरगन्जबाट ६० किलोमिटर पश्चिममा पर्छ । मधेसमा निर्माणाधीन हुलाकी राजमार्ग ठोरी भएर नै पश्चिमतर्फ जान्छ । यो ६० किलोमिटरमध्ये ३० किलोमिटर सडक हालैमात्र कालोपत्रे गरिएको छ । बाँकी ३० किलोमिटरमा काम त भइरहेको छ तर सुस्त गतिमा । किनभने यसको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको छ । पहिलो ३० किलोमिटर काट्न करिब ४५ मिनेट लागे पनि बाँकी ३० किलोमिटर काट्न घण्टौँ लाग्छ । ठोरी पर्सा जिल्लाको पिछडिएको र उपेक्षित क्षेत्र हो ।
ठोरी दक्षिणतर्फ भारतको विहारसँग र उत्तर–पश्चिम तथा पश्चिमोत्तरतर्फ चितवनसँग जोडिएको छ । वीरगन्जबाट पश्चिम लागेपछि ठोरी पुग्नुअघि सडकको दुवैतिर वर्षायाममा धान र हिउँदमा कतै तोरी त कतै सुर्ती खेतीका फाँट छन् । कतै–कतै उखु खेती पनि देखिन्छ ।
ठोरीवासी
ठोरीमा सर्वप्रथम नेवारको बस्ती– विजय बस्तीले स्वागत गर्दोरहेछ । त्यहाँ हामी आउने भनेर पहिल्यै खबर गरिएको हुनाले केही अगुवा गाउँले भेला भएका थिए । उनीहरूले ठोरीका विगत र वर्तमानका समस्याबारे विस्तृत रूपमा बताए । उनीहरूका अनुसार राजा महेन्द्रले सम्भवतः २०२२÷०२३ सालतिर ठोरीमा सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपमा परेका मानिसलाई ल्याएर परिवारको आकार हेरी दुईदेखि पाँच बिघासम्म जमिन दिएर राखेका रहेछन् । त्यसरी ल्याइएका मानिसमा नेवार समुदायका मानिसलाई अहिलेको विजय बस्ती भन्ने ठाउँमा राखिएको रहेछ । त्यसको करिब आठ किलोमिटर पश्चिममा तामाङ समुदायका मानिसलाई राखिएको रहेछ र त्यसलाई अहिले निर्मल बस्ती भन्ने गरिएको रहेछ । त्यसको सात÷आठ किलोमिटर पश्चिमतर्फ खास ठोरीमा क्षेत्री बाहुन समुदायलाई राखिएको रहेछ । पहाडमा खेती गर्ने जमिनको चरम अभाव भोगिरहेका पहाडिया ठोरीमा खेती हुने उर्वर र त्यो पनि मनग्य पुग्ने अन्न दिने जमिन प्राप्त भएपछि सहज ढङ्गले ढुक्कसँग बसेका रहेछन् । यसरी मधेसी बहुल पर्सा जिल्लामा ठोरी पहाडिया बहुल क्षेत्र बनेछ । दुई गाविस मिलाएर अहिले ठोरी गाउँपालिका बनाइएको रहेछ र त्यसको जनसङ्ख्या करिब २५ हजार छ । अनगिन्ती समस्या सामना गर्नुपरिरहे पनि अन्नाभावको अवस्था नरहेकाले उनीहरूको अनुहारमा कुनै विषाद देखिँदैन ।
ठोरीको भूगोल
ठोरी गाउँ पालिकाको पूर्वी भाग बिल्कुल समथर र मधेस प्रकृतिको भू–भाग छ । त्यहाँ वर्षायाममा धान र हिउँदमा तोरी, उखु, सुर्ती आदि खेती हुने र पश्चिमतर्फ जङ्गल र बुट्यान, चितवनतर्फका पहाड र जङ्गलबाट आएका खोला, बालुवा, ढुङ्गा, गेग्य्रान, खोलाको दायाँ–बायाँ झाडी खेती नहुने र खेती नगरिएको भू–भाग छ । खास ठोरी होचो र एककिसिमको उपत्यकाजस्तो छ । त्यसैले गर्मीयाममा त्यहाँ निकै गर्मी हुन्छ । जति पश्चिमतर्फ बढ्दै गयो उति नै बन्जर जमिन, दक्षिणतर्फ बगेका खोलाले छियाछिया पारेको जमिन भेटिन्छ । वर्षायाममा ती खोलामा पानी भरिएर वारपार गर्न असम्भव हुन्छ ।
अहिले हुलाकी राजमार्गअन्तर्गत पुल निर्माण गर्ने तर्खर गरिएकाले ठोरीवासीमा केही उत्साह त ल्याएको छ तर यसो हुँदा पनि उनीहरू चितवन आउन वीरगन्ज पुग्नैपर्ने बाध्यताबाट मुक्त हुने छैनन् । सडकको उत्तरतर्फ चितवन निकुञ्जको घना जङ्गल छ । वास्तवमा ठोरी पर्यटकीय ठाउँ हो । त्यहाँ नेपाल र भारतका टाढा–टाढादेखि मानिस वनभोज खान र घुम्न आउँदारहेछन् । ठोरी भएर जाने हुलाकी राजमार्ग निर्माण सम्पन्न भएपछि ठोरीको कायापलट हुने निश्चित देखिन्छ ।
विकासको अवस्था
पर्सा जिल्लाको सदरमुकाम वीरगन्ज आर्थिक, राजनीतिक र प्रशासनिक दृष्टिले आकर्षणको केन्द्र भएको र उसको काठमाडौँ तथा भारततर्फ धेरै अघिदेखि नै तुलनात्मक रूपमा सहज यातायातको सुविधा भएको, वीरगन्जदेखि ६० मिलोमिटर पश्चिमतर्फ कोल्टेमा रहेको, ठोरी र चितवनको बीचमा घना जङ्गल रहेकाले चितवन र त्यहाँबाट काठमाडौँ जान यातायातको सहजता नभएकाले विकासमा ठोरी निकै नै पछाडि परेको देखिन्छ । अहिले हुलाकी राजमार्गको निर्माणले गति लिन थालेपछि मात्र त्यतातिर मानिसको चहलपहल बढेको छ । विद्युत्को लाइन पनि त्यहाँ हालैमात्र जोडिएको रहेछ । त्यसैले त्यहाँ बस्ती पातलो छ, मानिसको चहल–पहल कम छ, स–साना पसल र चिया तथा सामान्य खाजा खाने रेष्टुराँमात्र छन् । हुलाकी सडकको निर्माण सुस्त गतिमै भए पनि हुँदै छ, त्यसैले सवारी तथा ढुवानीका साधनको ओहोरदोहोर र नयाँ नौला मानिसको भ्रमण पनि क्रमशः बढ्दै गएको देखिन्छ ।
बिदाका दिनमा त्यतातिर घुम्न जाने मानिसको सङ्ख्या केही बढी हुने रहेछ । विहारमा मदिरा सेवन निषेधित भएकाले विशेषगरी बिदाको दिन गाडी सीमापारि राखी खोला तरेर खोलावारि (नेपालतर्फ) आई खानपिन गरी बेलुका फर्कने भारतीयको सङ्ख्या धेरै नै हुँदोरहेछ । त्यसले ठोरी क्षेत्रका खासगरी सडकको दायाँ–बायाँ क्षेत्रमा चहलपहल र आर्थिक कारोबार बढाएको देखिन्छ । सडकको बायाँतर्फ खोलापारि होचो पहाडको फेदीमा एउटा सानो गुफा रहेछ, जसलाई सीता गुफा भनिँदोरहेछ । गुफा पातलो मानिस पनि मुस्किलले भित्र छिर्न सक्ने साँघुरो रहेछ । त्यो गुफामा ठोरी जाने प्रायः मानिस जुत्ता–मोजा फुकालेर खोला तरी जाँदा रहेछन् । त्यो गुफामा भारतीय पनि ठूलै सङ्ख्यामा आउँदारहेछन् । यो क्षेत्रको चहलपहल र कारोबार बढाउनुमा यो गुफाको पनि भूमिका रहेछ । गुफा परिसरमा आवश्यक भौतिक पूर्वाधारको विकास गर्ने हो भने गुफाले ठूलो सङ्ख्यामा पर्यटक आकर्षित गर्न सक्ने देखिन्छ । समग्रमा ठोरी क्षेत्रको जनजीवन हुलाकी राजमार्ग बन्न थालेपछि जाग्न थालेको प्रस्ट देखिन्छ ।
ठोरीवासीको पिरलो
स्थानीय बासिन्दाका कुरा सुन्दा ठोरीमा बसाइँ सरेपछिका सुरुका दिनहरू निकै कष्टप्रद थिए । त्यहाँ पिउने पानीको चरम सङ्कट थियो । भारतीय डाँकाहरूको आतङ्क थियो । गर्मी, लामखुट्टे र औलको त्रास थियो । चारैतिर घना जङ्गल र मानिसको कम आवतजावतका कारणले जङ्गली जनावरको ठूलो त्रास थियो । त्यो स्थिति अहिले निकै कम भए तापनि पूर्ण रूपमा निवारण भने भएको छैन । वर्षा याममा खोला बढेर बूढाबूढी, बालबालिका र महिलाको निमित्त आवतजावत असम्भव नै हुन्थ्यो । वास्तवमा यिनै खोलाका कारणले वर्षायाममा ठोरी बाहिरी दुनियाँबाट अलग रहन्छ । पुलहरू निर्माण नभएकाले अहिले पनि त्यो समस्या यथावत् छ । भारतीय डाँकालाई स्थानीय मानिस सङ्गठित भएर पटक–पटक भौतिक रूपमै कडा प्रतिवाद गर्ने गरिएकाले पछि उनीहरू देखापर्नै छाडेका रहेछन् । त्यसपछि गाउँमा शान्ति आएको रहेछ ।
लामखुट्टे र औलको समस्या पनि क्रमिक रूपमा हराउँदै गएछ । मानिस गर्मीसँग अभ्यस्त हुँदै गएछन् । तर, पिउने पानीको समस्याले भने उनीहरूलाई धेरै पछिसम्म नै छोडेको रहेनछ । लगातारको प्रयासपछि केही वर्ष अगाडि मात्र त्यो समस्या समाधान भएको छ ।
जिल्ला सदरमुकाम वीरगन्जसम्मको सडकको असुविधाले ठोरीवासीले निकै कठिनाइ भोग्नुपरेको रहेछ । यो समस्या केही मात्रामा अहिलेसम्म पनि कायम छ । हुलाकी राजमार्ग निर्माण हुन थालेपछि अहिले ठोरीवासीलाई ठूलो राहत मिलेको छ । निर्माण हुन बाँकी ३० किलोमिटरमा पनि काम भइरहेकाले वीरगन्ज आवतजावतमा निकै सुविधा मिलेको छ । अहिले विद्यालय र स्वास्थ्यचौकी पनि खुलेका छन् । विद्युत्को लाइन पनि आएको छ । ठोरीवासीको सबैभन्दा ठूलो चिन्ताको विषय चितवन राष्ट्रिय निकुञ्ज भएर चितवन जाने पक्की सडकको अभाव रहेछ । सडकको अभावमा ठोरीबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै चितवन खण्डको पूर्व–पश्चिम राजमार्ग पुग्नमा ठूलो कठिनाइ छ । ठोरीबाट नेपालको दक्षिण सीमाबाट उत्तरी नाका रसुवा पुग्न सबैभन्दा छोटो पर्दोरहेछ ।
तर, निकुञ्ज प्रशासनले अहिलेसम्म निकुञ्ज हुँदै सडक निर्माण गर्ने अनुमति नदिएकाले ठोरीवासी ठूलो समस्यामा परेका छन् । ठोरीवासीलाई पूर्व–पश्चिम राजमार्ग पुग्न ६० किलोमिटर पूर्वतर्फ वीरगन्ज भएर हेटौँडा हुँदै जानुपर्ने बाध्यता छ । ठोरीवासीका लागि यो नै अहिलेको सबैभन्दा ठूलो समस्याका रूपमा रहेको त्यहाँका अगुवाहरू बताउँछन् । चितवन निकुञ्ज हुँदै चितवन जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको खण्ड जोड्ने सडक निर्माण हुन सकेमा ठोरी र ठोरीवासीको ठूलो उद्धार हुने उनीहरू बताउँछन् । त्यो सडक निर्माण हुन सकेमा वीरगन्ज र चितवनबीचको सोझो आवागमन सहज गई त्यो क्षेत्रको चामत्कारिक रूपमा विकास हुने निश्चित छ ।
तर, यस्तो समस्या सामना गरिरहनुपर्दा पनि ठोरीवासी ओइलाएको अनुहारमा देखिंदैनन् । यसमा हुलाकी राजमार्ग निर्माणमा गरिएको पहलकदमीको पनि भूमिका हुन सक्छ । ठोरीबाट चितवन जोड्ने चौडा र पक्की सडक निर्माण हुनु अपरिहार्य देखिन्छ । र, निकुञ्ज प्रशासनले निकुञ्ज क्षेत्र सुरक्षित रहनेगरी त्यो सडक निर्माणलाई सकारात्मक रूपमा लिनु पर्छ ।
(लेखक अर्थविद् हुनुहुन्छ ।)