logo
२०७७ फाल्गुन १३ बिहीवार

आकर्षणको कसीमा गढी पर्यटन

विचार/दृष्टिकोण |


2021-01-22-30588


निर्मलकुमार आचार्य

पर्यटनका विभिन्न क्षेत्र छन्, अनेक आयाम उद्घाटित भइरहेका पनि छन् र यस दिशामा बिर्सनै नहुने एक अविस्मरणीय पाटो हो– गढी पर्यटन । गढी पर्यटन आन्तरिक पर्यटकका लागि मात्रै होइन, बाह्य पर्यटकका लागि पनि उत्तिकै महŒवपूर्ण छ ।
प्रकृतिमा रम्न चाहनेका लागि हिमाल, ताल, जैविक विविधता आदिको प्राचुर्य रहेझैँ ऐतिहासिक, पुराताŒिवक, सामरिक सम्पदा तथा प्राचीन मूल्य–मान्यता र कलाकौशलमा रम्न चाहने वा तिनको अध्ययन, अनुसन्धान गर्न मरिमेट्नेका निम्ति यहाँ अनुपम गढी रहेका छन् ।
सुरक्षाका निम्ति बनाइएका गढीलाई गढ, किल्ला, दुर्ग, कोट, क्वाथ (नेवारीमा) आदि पनि भनिन्छ । नेपालका प्रायः सबै जिल्लामा गढी रहेका छन् । कतिपय जिल्लामा अनेक गढी छन् । मुलुकभरि ठूला र साना गरी १५ सयभन्दा अधिक गढी रहेको आँकलन छ ।
सिन्धुलीगढी, हरिहरपुरगढी, पौवागढी, बारागढी, पर्सागढी, अमरसिंहगढी, कोडकटेनीगढी, हलेसीगढी, तोलोवागढी, बुडनामगढी, च्यानामगढी, भोल्टेकोटगढी, छान्नागढी, जोरायलगढी÷चिलगढी, बयलकाँढागढी, चैनपुरगढी, शिवगढी, शिवपुरगढी, समदागढी, सिलगढी, गमगढी, विजयपुरगढी, पलाञ्चोकगढी, जितगढी, रसुवागढी, मकवानपुरगढी, चिसापानीगढी, लिगलिगकोटगढी, काभे्रगढी, दुगुनागढी, उपरदाङगढी, अमरगढी, चौदण्डीगढी, हतुवागढी, उदयपुरगढी, कपनगढी, दैलेखगढी÷कोतगढी, दुल्लुगढीलगायत विभिन्न गढी रहेका छन् । यसैगरी सिमरौन गढ, नारायणगढ, धैबुङकोट, धादिङकोट, रामकोट, फिर्केपकोट, सल्यानकोट, राम्जाकोट, भैरमकोट, बेलकोट, मालकोट, धुवाकोट, नुवाकोट, (स्याङ्जा र अर्घाखाँचीमा पनि नुवाकोट छन्) सिमीकोट, अजमेरकोट, गोर्खाको उपल्लोकोट, पाल्पाको पुरानोकोट, अर्घाकोट, खाँचीकोट, चरीकोट, चौक्वाथ (चारपाटे किल्ला), नगरकोट, कास्कीकोट, ब्युहुँकोट, कुल्लेकोट, कालिकोट, तिब्रीकोट आदिले गढी सम्पदाको व्यापकता दर्शाएका छन् ।
गहिरै डुबुल्की मारी मोती निकाल्नेका निम्ति गढी सम्पदा बेजोडको रहे तापनि अझै यसतर्फ चाहिँदो चासो र सक्रियता बढेको पाइँदैन । तब त कैयन् गढीको इतिहास अहिलेसम्मन् खोजीकै विषय बनेका छन् ।
कतिपय प्राचीन गढीलाई ऐतिहासिक विजय गाथाले महिमामण्डित पनि बनाएका छन् । त्यस्ता गढीमा मकवानपुरगढी, सिन्धुलीगढी, जितगढी र पर्सागढी रहेका छन् । मकवानपुरमा दुईवटा गढी छन्– मकवानपुरगढी र चिसापानी गढी । मकवानपुरे राजा लुहाङ सेनले विक्रम संवत् १६२२ मा मकवानपुरगढीको निर्माण गरेको उल्लेख पाइन्छ । पृथ्वीनारायण शाहको ससुराली मकवानपुरगढी ऐतिहासिक दृष्टिकोणबाट मात्र होइन, पुराताŒिवक दृष्टिकोणबाट पनि उल्लेख्य छ । यसमा मूलगढीको तल्लो थुम्कामा ‘ढुङ्गेगढी’ नामको अर्को सानो गढी र पूर्वतर्फ ‘ढोइगढी’ छ ।
नेपाल एकीकरणका सन्दर्भमा मकवानपुरगढीको विशेष स्थान छ । पृथ्वीनारायण शाहको सेनाले विसं १८१९ माघ १० गते बङ्गालका नबाव मीर कासिम अलीको सेनालाई पराजित गरी धूलो चटाएको थियो । मकवानपुरगढी नजिकै रहेको शिखर कटेरीस्थित गैरीगाउँमा भएको लडाइँमा मीर कासिमका सत्र सय सैनिक हताहत भएका थिए भने नेपालीतर्फ ३० सैनिक मारिएको इतिहास छ ।
नवाब मीर कासिम अलीको सेनालाई हराई लखेटेको झन्डै पाँच वर्षपछि विसं १८२४ कात्तिक २४ गते सिन्धुलीगढीमा ऐतिहासिक विजय पताका फहराइयो । इस्ट इन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा हमला गर्न आएको अङ्गे्रजी फौजलाई वंशु गुरुङको नेतृत्वमा रहेको सेनाले सिन्धुलीगढीमा पराजित तुल्याई भाग्न विवश बनाएको इतिहास जोकोही नेपालीलाई गर्वले छाती फुलाउनेखालको छ । हमला गर्न आएका दुई हजार चास सय अङ्गे्रज फौजमध्ये एक हजार ६०० सैनिक हताहत भएको उल्लेख पाइन्छ ।
आधुनिक हतियारसहित आएको भए तापनि नेपाली सेनाको अदम्य साहस र पराक्रमका कारण अङ्गे्रज सेना भाग्न बाध्य भएको यो घटना नेपाल र नेपालीका निम्ति त अविस्मरणीय तथा गरिमामयी छ नै, साथसाथै दक्षिण एसियाकै प्रसङ्गमा पनि अङ्गे्रजविरुद्ध अभूतपूर्व विजयस्तम्भ बनेको छ । पृथ्वीनारायण शाहको फौजका वंशु गुरुङको कुशल नेतृत्व तथा अपरिमित आँटको उदाहरण हो यो । भनिन्छ, त्यतिखेर अङ्गे्रजविरुद्धको लडाइँमा यहाँका अरिङ्गाल, सिस्नो र अल्लोले समेत साथ दिएका थिए ।
सिन्धुलीगढीमा ऐतिहासिक विजय हासिल भएको झन्डै ४७ वर्षपछि पर्सागढीमा फेरि विजयको झन्डा फर्फरायो । विसं १८७१ मा हमला गर्न आएको ब्रिटिस कम्पनीको सेनालाई पर्सागढीमा पराजित तुल्याइयो । यस युद्धमा नेपाली सेनाका रन्जित चौधरीले नेतृत्व सह्मालेको उल्लेख पाइन्छ ।
विसं १८७१÷७२ सालमा जितगढीमा नेपाली सेनाले कायम गरेको विजय चिरस्मरणीय छ । पाल्पा राज्य कब्जा गर्ने उद्देश्यले जनरल उडको नेतृत्वमा आएको अङ्गे्रज सेनालाई पाल्पाका गोर्खा फौजका कमान्डर उजीरसिंह थापाले पराजित तुल्याएका हुन् । पहिलोपटक पराजित भई भागेको अङ्गे्रज सेना पुनः उडकै नेतृत्वमा हमला गर्न आएकामा दुवैपटक हारी भाग्नुपरेको इतिहास छ । यसको सम्झनामा हरेक वर्ष पाल्पामा विजयोत्सव (रण उजेश्वरी भगवती जात्रा) मनाउने गरिएको छ । बुटवल, जितपुरगढीमै पनि गौरवशाली इतिहासको सम्झना गर्ने काममात्र होइन, कर्णेल उजीरसिंहको सालिक निर्माण गर्नुका साथै उक्त लडाइँमा सहिद हुने शूरवीरहरूको पनि प्रतिमा स्थापना गरिने जानकारी सुखद छ । मकवानपुरगढी तथा सिन्धुली गढीमै पनि केही वर्षयता विजयोत्सव मनाउन थालिएको छ । कम्तीमा यसले आजको पुस्ता इतिहासप्रति बेखबर नरहेको दर्शाएको छ तर केवल यत्तिले वर्तमान दायित्व पूरा हुने देखिँदैन ।
प्राचीन, ऐतिहासिक, पुराताŒिवक तथा सामरिक महŒवका गढीको संरक्षण आज सर्वाधिक ध्यानाकर्षणको पक्ष बनेको छ । पछिल्लो समयमा गढी संरक्षण, सम्बद्र्धनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । प्राथमिक चरणमा सिन्धुलीगढी, मकवानपुरगढी, चिसापानीगढी, जितगढी, नुवाकोटगढी (पाल्पा), हरिहरपुरगढी तथा उपरदाङगढीको पुनर्निर्माण, सम्बद्र्धन तथा संरक्षण गरिने जनाइएअनुसार केही सक्रियता बढेको देखिए तापनि सन्तोष मान्नुपर्ने अवस्था छैन । नेपालभरि छरिएर रहेका गढीको दिगो जगेर्नाका लागि व्यापक अभियान नै अपरिहार्य बनेको छ । यसकानिम्ति नेपाली सेनाको प्रयासमात्र अपुग हुनेमा दुईमत छैन । पुरातŒव विभाग, नेपाली सेना तथा स्थानीय तहबीचको समन्वयात्मक सक्रियता जुट्न सके गढी संरक्षण, सम्बद्र्धनमा अभूतपूर्व परिदृश्य देखिनेछ । अन्यथा विगतमा जस्तै गढीका मूल्यवान् वस्तु बेपत्तिने, चोरिने, अलपत्रिने र नासिएर जाने रोग बिसेक हुने छैन ।
गढी सम्पदामा नेपाल ज्यादै सम्पन्न छ । थरीथरीका गढीले अध्ययन, अनुसन्धान गर्नेका लागि विपुल वरदान दिएका छन् । किरातकाल, लिच्छविकाल, सेनकाल आदिका गढी र नेपाल एकीकरणको सिलसिलामा ऐतिहासिक महŒव बोकेका प्राचीन गढीले नखोतलिएका अतीतका पाना पल्टाउन पुकार लगाइरहेका छन् । गढीपिच्छे रहेका इतिहास, वास्तु तथा ललित कलाकौशल, संस्कृति तथा बरबन्दोबस्तको यथातथ्य खुलासा हुन सके यिनको महŒव झनै उचालिनेमा विमति नहोला । गढीसँगै रहेका साँस्कृतिक महŒवका सम्पदाको पनि समुचित जगेर्ना हुनुपर्छ । सम्बन्धित गढीका तमाम हातहतियारलगायत विविध वस्तु सोही गढीमा सङ्ग्रहालय बनाई राखिँदा यसले पर्यटकलाई थप आकर्षण दिनेछ । ‘पहिले यहाँ यतिवटा तोप थिए, पुराना हातहतियार तथा अमूल्य गरगहना थिए’ भनेका भरमा चल्ने अवस्था छैन, ती तोप, हातहतियार, गरगहनालगायत जे–जति प्राचीन सामग्री छन्, ती सबै सम्बद्ध गढीमै सुरक्षित राख्ने प्रबन्ध आजको आवश्यकता बनेको छ । समग्रमा भन्ने हो भने गढीको संरक्षण, सम्बद्र्धनका निम्ति अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनाअनुरूप सक्रियता बढाउनु बुद्धिमानी हुनेछ ।
गढी पर्यटनतर्फ बढेको जनअभिरुचिलाई थप गति प्रदान गर्न सरोकारी सबै पक्ष जागरुक हुनुपर्छ । पर्यटन प्रवद्र्धनका नाममा जथाभावी काम हुन नहुने वास्तविकतालाई पनि समयमै हेक्का राख्नुपर्छ । गढीको महŒव कुनै पनि हालतमा ओझेलमा पर्न दिनुहुँदैन । गढी संरक्षणकै काममा पनि मापदण्डअनुरूप सरसामग्री प्रयोग भए, नभएको हेर्न चुकिएमा पछुताउनुपर्ने हुन सक्छ । नागरिक समाजले पनि यतातिर चनाखो दृष्टि राख्नुपर्छ नै ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि गढी पर्यटनले छुट्टै विशेषता बोक्न सक्छ । यसकानिम्ति नेपालका गढीसम्बन्धी सङ्क्षिप्त, सचित्र जानकारी प्रचार–प्रसार गर्नु उचित हुनेछ । ‘गढी परिक्रमा’का कुरा पनि चलेकै छन् । गढी पर्यटनमा अनेक आयाम समेट्न सकिन्छ । जहाँ, जहाँबाट अङ्गे्रज सेनालाई लखेटी विजय हासिल भएका थिए, ती गढीलाई समेटी अलग्गै पर्यटन ‘प्याकेज’ बनाउन सकिन्छ । आन्तरिक पर्यटन प्रवद्र्धनको नारा सार्थक बनाउन गढीले उल्लेख्य देन दिनेमा शङ्कै छैन । खासगरी कोरोना (कोभिड–१९)ले थलिएको पर्यटन क्षेत्रलाई पुनः जागा गराउन पर्यटन व्यवसायीले ‘गढी पर्यटन’ का सरल, सहज, सुपथ र आकर्षक कार्यक्रम ल्याउन सक्छन् ।

(लेखक गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

national-life-insurance