logo
२०८० चैत्र १६ शुक्रवार



पर्यावरणीय महत्व नघट्ने गरी कमलपाेखरी पुननिर्माण हुने उपप्रमुख खड्गीकाे प्रतिवद्धता

राष्ट्रिय |


पर्यावरणीय महत्व नघट्ने गरी कमलपाेखरी पुननिर्माण हुने उपप्रमुख खड्गीकाे प्रतिवद्धता


गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ६ गते । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले कमलपोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्व नघट्ने गरी पुननिर्माण गरिने प्रतिवद्धता जनाउनुभएको छ ।
हाल निर्माणाधिन अवस्थामा रहेको कमलपोखरीमा सोमबार राति डोजर चलाएर माटो निकालेको भन्दै सम्पदाप्रेमीहरुले काठमाडौँ महानगरपालिकाका उपप्रमुख खड्गीलाई मङ्गलबार ध्यानाकर्षणपत्र बुझाउँदा उहाँले उक्त प्रतिवद्धता जनाउनुभएको हो ।
पुरातत्व विभागले कमलपोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणलाई प्रतिकुल असर नपर्ने गरी निर्माण गराउन महानगरपालिकालाई सोमबार पत्र पठाएको थियो ।
सो पत्रको समेत अनादर गर्दै माछा, कछुवालगायत थुपै्र चराचुरुङ्गीको बासस्थान रहेको धार्मिक, पर्यावरणीय महत्वको कमलपोखरीमा राति डोजर लगाएर पोखरीको माटो ओसार्ने काम गरेको भन्दै सम्पदाप्रेमीहरु आन्दोलित भएका हुन् ।
सो अवसरमा उपप्रमुख खड्गीले सम्पदाप्रेमी तथा देशबासीकै एउटै धारणा पुर्खाले छोडेको धरोहरहरुको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्व कायम हुने गरी विकासको नाममा विनास नहुने गरी पुनर्निमाण गर्न सबैको सहकार्यमा अगाडि बढाउने कुरामा विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने बताउनुभयो ।
उहाँले सम्पदा संरक्षणकर्मी/अभियन्ताहरुकै पहलमा रानीपोखरीले पुर्नर्जीवन पाएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
सम्पदाप्रेमी सञ्जय अधिकारीले स्थानीय तहको गैरजिम्मेवारपूर्ण व्यवहारले सम्पदाको दोहन हुनु दुःखद अवस्था हो भन्दै नेपाली नागरिकको हैसियतले ऐतिहासिक धरोहरहरुको संरक्षण हुनुपर्छ भनेर सार्वजनिक हितका लागि आवाज उठाएको बताउनुभयो ।
उहाँले केही दिनपछि सिमसार दिवस मनाउँदैछौं, कमलपोखरीको माछा र कछुवा मर्ने गरी दोहन गरेर सिमसार दिवस मनाउनुको औचित्य हुन्न, भन्नुभयो ।
कार्यक्रममा रावल आयोगले कमलपोखरीको जग्गा अतिक्रमण भएको प्रतिवेदन बुझाएको र वि.स. २०३४ सालमा नापी विभागले पनि त्यस पोखरीको जग्गा अतिक्रमणमा परेको जनाएकोबारे पनि अभियन्ताहरुले चर्चा गर्नुभएको थियो ।
रानीपोखरीको पुननिर्माण र पोखरीको जग्गा अतिक्रमणमा परेकोबारे पनि अनुगमन समितिले वास्तविकता बुझ्न सम्पदाप्रेमीहरुले आग्रह गर्नुभएको थियो ।
अभियन्ता आलोकसिद्धि तुलाधरलगायतका अभियन्ताहरु सोमबार राति कमलपोखरीमा पुगेर डोजर नचलाउन आग्रह गरेका थिए ।
काठमाडौं महानगपालिका–१ स्थित कमलपोखरीमा प्राकृतिक कमल फुलाउने वातावरण मासेर कङ्क्रिट(सिमेन्ट, रड) कमल बनाउने, पोखरीकोे ऐतिहासिकता मास्ने गरी पुनर्निर्माण भइरहेको भन्दै अभियन्ताहरुले त्यसको विरोध गरिरहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?