logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै   

फिचर |
खुला |


राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै   
फाईल तस्विर


नारायण ढुङ्गाना

काठमाडौँ, माघ ३ गते । सरकारले विपद्का बेलामा हुने क्षति रोक्न र घटना भए पनि पुनःस्थापन एवं पुनःनिर्माणका कार्यक्रम सञ्चालनका गर्न आइपर्ने वित्तीय स्रोत व्यवस्थापनका लागि राष्ट्रिय रणनीति निर्माण गर्ने भएको छ । गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीति निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । उक्त रणनीतिको मस्यौदामाथि अहिले छलफल चलिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।    
    
कुनैपनि विपद्का घटना हुँदा त्यसको व्यवस्थापनमा प्रथमतः आर्थिक विषय महत्वपूर्ण भएर उठेको हुन्छ । आर्थिक व्यवस्थापन हुन नसक्दा राहत, पुनःनिर्माण र पुनःभरण प्रभावकारी हुन सक्दैन । भौतिक संरचनालाई दुरुस्त राख्न पनि वित्तीय स्रोत आवश्यक पर्छ । घटना भएपछि आर्थिक जोहो गर्न लाग्नुपर्ने तीतो यथार्थ हामीमाझ छ । उक्त रणनीति निर्माणपछि यस्ता समस्या हल हुने विश्वास गरिएको छ ।    
    
विपद्का बेला हुनसक्ने क्षति न्यूनीकरण र पुनरुत्थानका लागि वित्तीय व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरी राष्ट्रिय रणनीति निर्माणका अवधारणा अघि बढाइएको हो । विपद् जोखिम न्यूनीकरण, खोज, उद्धार, राहत, पुनःस्थापना, पुनःनिर्माण, पुनःलाभमा लगानी गर्नुपर्न अवस्थामा अर्थाभावले निम्त्याउने समस्यालाई रणनीति पछि सञ्चालन हुने कार्यक्रमले हल गर्ने विश्वास छ ।    
    
वित्तीय स्रोतको अभावमा यस्ता कार्यक्रम छोटो समयमा सम्पन्न गर्न गाह्रो हुनेहुँदा वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीतिको आवश्यकता महसुस गरिएको प्राधिकरणले जनाएको छ । विपद्का घटनालाई रोक्न नसकिए पनि त्यसको दायित्व हस्तान्तरण गरी आर्थिक पुनःभरण गर्न सकिन्छ । मुलुकमा सार्वजनिक तथा निजी क्षेत्रबाट ठूला पूर्वाधारका काम भइरहेको सन्दर्भमा समय समयमा आउने विपद्ले निम्त्याउने क्षतिको व्यवस्थापनमा वित्तीय स्रोतको आवश्यकता बढी हुन्छ ।    
    
विकासका उपलब्धिलाई संरक्षण गर्दै वित्तीय उत्थानशील नेपाल निर्माण गर्न वित्तीय स्रोत व्यवस्थापन रणनीति बनाउन लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । सो रणनीति निर्माणका विषयमा गृह मन्त्रालयले छलफल अघि बढाएको छ ।    
    
रणनीति निर्माणपछि विपद्बाट हुने आर्थिक, भौतिक, सामाजिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्दै वित्तीय जोखिममा सरोकारवालाको हिस्सेदार कायम गरी विपद्का समयमा वित्तीय स्रोत उपलब्ध गराउन सहज हुनेछ । यस्तै व्यवस्थित वित्तीय संयन्त्र सुनिश्चित गर्ने कुरासमेत हालै तयार पारिएको रणनीतिको मस्यौदामा उल्लेख छ । प्राधिकरणले विपद् व्यवस्थापनमा वित्तीय व्यवस्थापन राष्ट्रिय रणनीतिलाई अन्तिम रुप दिने तयारी थालेको छ ।    
    
रणनीतिको प्रारम्भिक मस्यौदामाथि पहिलो चरणमा छलफल गरिएको । अन्तिम रुप दिएर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट पारित गर्ने योजना रहेको छ । गृहमन्त्री रामबहादुर थापा वित्तीय श्रोत व्यवस्थापन हुने सके विपद्पछिका धेरै कार्यक्रम प्रभावकारी हुने बताउनुहुन्छ ।    
    
यही वर्ष नेपालका विभिन्न क्षेत्रमा गएको बाढी र पहिरामा परी प्रभावित भएका परिवारका लागि अझै पनि घरबासलगायतका कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन । यसको पहिलो कारण भने वित्तीय स्रोत व्यवस्थापन नहुनु नै हो । प्रभावित परिवारको पुनःस्थापनका लागि हालै मात्र सरकारले भूकम्प प्रभावितलाई झैँ राहतका कार्यक्रम सञ्चालन गर्न लागेको छ ।    
    
वित्तीय स्रोत हुने हो भने यस्ता घटना वा परिघटनामा तत्कालै परिचालन हुने गरी पुनःनिर्माण र पुनरुत्थानका कार्यक्रम सञ्चालनमा हुन सक्थ्यो । त्यसैले स्रोत व्यवस्थापनकै लागि रणनीति ल्याउन लागिएको जनाइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?