logo
२०८१ बैशाख ८ शनिवार



कोरोनाका कारण सीमित ठाउँमा मूर्ति स्थापना   

समाज |


कोरोनाका कारण सीमित ठाउँमा मूर्ति स्थापना   
सांकेतिक तस्बीर


परासी, कात्तिक २ गते। बडा दशैँको शुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा दुर्गा भवानीका मूर्ति जथाभावी स्थापना कार्यलाई नियन्त्रण गरिने भएको छ । विगत वर्षमा जस्तो टोलटोलमा नभई सीमित ठाउँमा मात्रै मूर्ति स्थापना गरी पूजाको तयारी गरिएको छ ।    
    
कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले चोक चोकमा मूर्ति स्थापना गरेर भीडभाड गर्न रोक लगाएको छ । नेपाल–भारत सीमा बन्द हुँदा यसपटक भारतबाट मूर्ति आयात गरिएको छैन । जिल्लामा मूर्तिको अभाव देखिएको छ ।    
    
नवलपरासीलगायत तराईका जिल्लामा घटस्थापनादेखि नै विभिन्न चोक र टोलमा अस्थायी रुपमा दुर्गा भवानीका माटोका मूर्ति स्थापना गरेर सामूहिक रुपमा नवरात्रभर पूजाअर्चना गर्ने गरिन्छ । बिहान र साँझ पूजाअर्चना गरिनाका साथै दिनभर भजन बजाउने गरिन्छ । नेपालमा दक्ष कालिगड अभावका कारण बर्षेनी भारतबाट सयौँ मूर्ति आयत गरिँदै आएको छ ।    
    
यसपटक भारतबाट मूर्ति आयात गर्न नपाउँदा नेपालका कालिगडले बनाएका मूर्ति धमाधम बिक्री भइरहेका छन् । कोरोना भाइरसको जोखिमका कारण भारतबाट कालिगड ल्याएर थोरै मात्रामा मूर्ति निर्माण गरिएको पाल्हीनन्दन गाउँपालिका–५ का रामप्यारे मौर्यले बताउनुभयो । विगत १५ वर्षदेखि मूर्ति बनाउने पेसामा संलग्न मौर्यले दुई वर्षयता भने आफ्नै घरमा कालिगड मगाएर मूर्ति बनाउँदै आउनुभएको छ ।    
    
मूर्ति बेचेरै वार्षिक रु चार लाख बचत हुने गरेको उहाँ बताउनुहुन्छ । चार स्थानीय कालिगड राखेर गत जेठदेखि नै मूर्ति बनाउन शुरु गरेको मौर्यको भनाइ छ । उहाँले भन्नुभयो, “एक सेट मूर्ति रु २० हजारदेखि रु ४० हजारसम्ममा बिक्री हुन्छ ।,” बनाएका मूर्ति सबै बिक्री भएकाले अन्य धेरै ठाउँबाट आएका ग्राहकलाई फर्काउनुपरेको उहाँले बताउनुभयो ।    
    
यस्तै पाल्हीनन्दन–१ का अनिल कोंहारलाई पनि अहिले मूर्ति बेच्न भ्याइनभ्याई छ । पहिला भारतबाट आयात गरिने सस्तो मूर्तिसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने गरेकामा अहिले आफूले बनाएका मूर्ति धमाधम बिक्री भइरहेको उहाँ बताउनुहुन्छ ।    
    
“यस वर्ष मैले ३५ मूर्ति बनाएको थिएँ, सबै बिक्री भए” उहाँले भन्नुभयो । मूर्ति बेचेर उहाँले वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । चार वर्षदेखि उहाँले घरमै मूर्ति बनाउँदै आउनुभएको छ ।    
    
यसैगरी मूर्तिको माग बढ्दै गएपछि पाल्हीनन्दन–५ का धर्मेन्द्र हरिजनले गत वर्षदेखि आफै मूर्ति बनाउन थाल्नुभएको छ । मूर्ति बनाउन आवश्यक माटो, बाँस तथा सजावटका सामान ल्याइ घरमा एक्लै मूर्ति बनाएर बेच्ने गरेको उहाँले बताउनुभयो । गतवर्ष पाँच मूर्ति बनाउँदा सबै बिक्री भएपछि अहिले ११ मूर्ति बनाएको हरिजनले बताउनुभयो ।

थोरै लागतमा मनग्य आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ । पश्चिम नवलपरासीको हकुई, विष्णुपुरा, गेरमा, महेशपुर बड्की सुनरी, बेलाटारी, गुठिप्रसौनीलगायत स्थानमा व्यावसायिक रुपमा मूर्ति निर्माण गरिँदै आएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?