logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना संक्रमणबाट एक उपप्राध्यापकको निधन

प्रदेश |


कोरोना संक्रमणबाट एक उपप्राध्यापकको निधन


धीरेन्द्रप्रसाद साह
राजविराज, असोज १० गते । सप्तरीको एक उपप्रध्यापकको कोरोना संक्रमणबाट धरानमा उपचारको क्रममा शनिबार बिहान निधन भएको छ । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक राजविराज नगरपालिका–३ निवासी ६३ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । रुपनी गाउँपालिका वार्ड नम्बर ५ बसबिट्टी पुख्र्यौली घर भई उहाँ हाल राजविराज ३ हटियास्थित घरमा बस्दै आउनुभएको थियो ।
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको छोरा रहनुभएको उहाँलाई ज्वरो, खोकी र श्वासप्रस्वासमा समस्या देखिएपछि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि गत बिहीबार बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो । सोही दिन उहाँको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ ।
कोरोना पुष्टि पश्चात प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिरहकै क्रममा शनिबार बिहान साढे एक बजेको समयमा निधन भएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिनुभयो । उहाँमा कुनै किसिमको दीर्घ रोग नभएको बताइएको छ ।
उहाँको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या दुई महिलासहित १४ पुगेको छ ।
तीन विरामीसहित थप १२ जनामा संक्रमण
सप्तरीमा शनिबार आकस्मिक कक्षमा उपचाररत तीन विरामीसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचाररत जिल्लाको राजगढ गाउँपालिका वार्ड नम्बर ५ बस्ने ४२ वर्षीय पुरुष, राजविराज नगरपालिका ६ बस्ने ४० वर्षीय पुरुष, लहान सिरहाका २५ वर्षीय पुरुष, अस्पतालका २७, ३३ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिनुभयो ।
त्यस्तै छिन्नमस्ता गाउँपालिका ३ बस्ने ३० वर्षीय पुरुष, खडक नगरपालिका वार्ड नम्बर ८ बस्ने ४० वर्षीया महिला, २४ वर्षीय पुरुष, १४ वर्षीया महिला, २७ वर्षीया महिला, वार्ड नम्बर ९ का १ वर्षीय पुरुष र तिलाठी कोइलाडी गाउँपालिका १ बस्ने २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
यससँगै जिल्लामा कूल संक्रमितको संख्या एक हजार २४६ पुगेको छ । तीमध्ये ९२८ जना निको भएर घर फर्किसकेका छन भने १४ जनाको मृत्यु भइसकेको र ३०४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?