logo
२०८१ बैशाख ८ शनिवार

  तस्बिरमा मासिन लागेका खर्कका भेडीगोठ  



माग अत्यधिक, युवा पलायन, सोलुबाट गोठाला मगाउन बाध्य

समाज |


माग अत्यधिक, युवा पलायन, सोलुबाट गोठाला मगाउन बाध्य
तस्विर सौजन्यः टिकाराम कुलुङ


ध्यान कुलुङ
सङ्खुवासभा, असोज १ गते । हिमाली भेगका लेकका खर्कहरुमा कुनै बेला भेडापालन प्रमुख व्यसाय थियो तर पछिल्लो समय घट्दो क्रममा छ । भेडापालनको आफ्नै समय चक्र छ । हिउँदको समयमा बेशी झर्ने र बर्षातको समयमा लेक चढ्ने भेडापालनको समय चक्र हो ।


जेठ अन्तिमबाट लेक उक्लिन सुरु गरेकोे भेडा भदौ अन्तिमतिर लेकको अन्तिम खर्क सङ्खुवा खोलाको शिर क्षेत्रमा पुग्ने गर्छ । करिव पाँच हजार मिटरको उचामा रहेको यो खर्कमा करिव तीन महिना जत्ति भेडा रहन्छ र फेरि ओरालो झर्ने गर्छ ।
निक्कै तलको सङ्खुवा र सिसुवाखोलाको तिरबाट सिरसम्म पुग्ने भेडाको चार वटा खर्कहरु छन् । चार खर्क रहेकोमा प्रत्येक खर्कमा कम्तिमा दुई हप्ता राखेपछि खर्क सार्ने गरिन्छ ।
भेडापालनमा गोठ आवश्यक पदैन । भेडाका साना पाठापाठी बाहेक अन्यलाई खुल्ला ठाउँमा राख्ने गरिन्छ । सयौंको संख्यामा राखिने भेडा लेक उक्लिने र बेशी झर्ने बेला भएपछि आफै बाटो लाग्ने हालै भेडिगोठ पुराएर गाउँ फर्किनुभएका टीकाराम कुलुङले बताउनुभयो ।


‘खर्क सर्ने समय भेडा आफैलाई थाहा हुन्छ, बाटो चिन्ने एउटा हिडेपछि सवै बाटो लाग्छन्, रोक्न सकिदैन’, कुलुङले भन्नुभयो । भेडा हिड्ने समय गोठालोलाई पनि थाहा हुने भएकोले आफ्नो तयारी गोठालोले पनि गरेर बस्ने गरेको कुलुङको भनाई छ । केहि बिरामी भएको भेडा र पाठापाठी बोक्नु पर्ने भएकोले खर्क सर्दा झण्झटिलो हुने कुलुङले अनुभव सुनाउनुभयो । हिमाली क्षेत्रमा असोजको अन्तिमतिर हिउँ पर्न थालेपछि भेडी गोठ बेशी झार्ने गरिन्छ । झर्दा पनि लेक चड्दाकै बाटो र खर्कमा राख्नै ल्याउने गरिन्छ ।


माग अत्याधिक, पाल्न मुस्किल
भेडाको बजार माग अत्याधिक भए पनि पाल्न सहज नभएको भेडा पालकहरुको भनाई छ । पछिल्लो समयका युवामा यससम्बन्धी चासो नहुँदा भेडा पालन संकटमा पर्दै गएको सिलिचोङ ३ ताम्कु सिकिदिमका भेडा पालक टेकबहादुर कुलुङको भनाई छ ।
अहिलेका युवायुवती विभिन्न काममा शहर केन्द्रित भएको र फुर्सदिलाहरुले पनि गोठमा बस्ने मन नगरेपछि भेडा पालन गर्नेहरुको संख्या अति न्युन रहेको कुलुङको भनाई छ । तलव दिएर राख्न खोज्दा पनि गोठालो नपाईने समस्या रहेको उहाँले अनुभव सुनाउनुभयो ।


गाउँकैलाई राम्रो तलव दिने गरि गोठालो राख्न खोज्दा नपाएपछि आफुहरुले सोलुखुम्बुबाट गोठालो ल्याएर राखेको उहाँले बताउनुभयो । गोठालो गर्न उत्ति अप्ठ्यारो काम नभए पनि एकान्तमा सीमित ब्यक्तिहरुसँग बस्नुपर्ने भएकोले गोठालो बस्न मन नगरेको भेडापालक कुलुङको अनुभव छ ।


भेडापालन छोडिदै गए पनि माग भने उच्च रहेको भेडापालकहरु बताउछन् । मुख्यगरि भेडाको मासु विक्री गरिन्छ । यो बाहेक घिउ र उन भेडाको अर्को आम्दानीको स्रोत हुन् । भेडाको खसी किन्न चार दिनसम्म हिडेर भेडीगोठमा नै पुग्ने गर्छन् । किराँत समुदायमा भेडाको पाठाले पूजा गरे राम्रो हुने मान्यताका कारण पाठापाठी पनि राम्रो विक्री हुने गरेको भेडापालकहरु बताउँछन् । जनशक्ति भए भेडापालनबाट राम्रो आमदामी लिन सकिने अर्का भेडापालक तुलाबहादुर कुलुङको भनाई छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?