logo
२०८१ बैशाख ७ शुक्रवार



ऋणको तनावले निम्त्याएको विनाश

समाज |


ऋणको तनावले निम्त्याएको विनाश


देवबहादुर कुँवर

भक्तपुर, भदौ २८ गते । मध्यपुर थिमि नगरपालिका–९, निकोसेरामा वर्षदिन अघि निर्माण गरेको चार कोठाको चार तले नयाँ घर घरधनी ४० वर्षीय सुदीप अधिकारीको परिवारका लागि अभिशाप बन्यो । सो घर बनाउँदा अधिकारी परिवारलाई कृषि विकास बैङ्कको २३ लाख र ससुरालीको दुई लाख गरी जम्मा २५ लाख रुपियाँ ऋणभार परेको थियो । ऋण चुक्ताका लागि बैङ्क तथा ससुरालीबाट कुनै दबाब थिएन ।
कोरोना महामारी भित्रिएसंँगै मुलुक बन्दाबन्दीमा फसेपछि अधिकारी दम्पती र छोराबीचको पारिवारिक कलह दिन प्रतिदिन बढ्दै जाँदा ऋण जोहो तथा दुःख गरी बनाइएको नयाँ घर अभिशाप बनेको तथ्य खुुल्दै गएको प्रहरीको दाबी छ । ऋण तिर्न सक्ने आर्थिक विकल्प साँघुुरो भयो । प्रहरीका अनुुसार तनावका कारण अधिकारीले ‘सेल्फोस’ नामक मुसा मार्ने विष सेवन गरी आत्महत्या मात्र गरेनन् श्रीमतीसँगै यसै वर्ष एसइई उत्तीर्ण गरेको छोरा र कुकुरको समेत हत्या गरेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख दीपक थापाले अनुसन्धानका क्रममा अधिकारीले नै श्रीमती ३६ वर्षीया सम्झाना र १५ वर्षीय छोरा सुशान्त र एउटा कुकुर हत्या गरेको तथ्य प्रमाण फेला परेको दाबी गर्नुुभयो ।
यो घटनामा नितान्त पारिवारिक कलहबाट भएको दाबी उहाँको छ । घर बनाउँदा लागेको ऋण तिर्न नसक्दाको तनावसँगै मदिराको लत र पारिवारिक कलहबाट विछिप्त (डिप्रेसन) भएर अधिकारीले यस्तो कठोर निर्णय गरेको हुन सक्ने प्रहरीको भनाइ छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्दाबन्दी लागू भयो । अधिकारीको औषधि पसलको जागिर पनि छुुटेको थियो । अधिकारीको घरको भुइँ तलामा रहेको किराना पसलबाट बैङ्कको ब्याज तिर्न सक्ने अवस्था छैन ।

हत्या २४ गते राति
“श्रीमती र छोराको हत्या गत २४ गते राति गरेको देखिन्छ” थापाले भन्नुभयो, “त्यसको १८ घण्टापछि भदौ २५ गते साँझ विष सेवन गरी अधिकारी आफैँले आत्महत्या गरेका हुन् । प्रहरीले घर नजिकै धानखेतमा फालिएको सेल्फोस विषको दुईवटा बोतल फेला पारेको छ । ’’
अधिकारी मृत अवस्थामा भेटिएको भान्सा कोठामा पनि विष पोखिएको फेला परेको छ । घटनास्थल अनुसन्धान र मेडिकल रिपोर्टबाट पनि अधिकारीले श्रीमती र छोराको हत्यापछि विष सेवन गरी आत्महत्या पुष्टि भएको छ । प्रहरीका अनुसार अधिकारीले आ–आफ्नै कोठामा सुतेको अवस्थामा सुरुमा छोराको र त्यसपछि श्रीमतीको हत्या गरेका हुन् ।
नियमित मदिरा सेवन गर्ने भएकाले बुवा र छोराबीच सर्वसाधारणले देख्ने गरी झगडा भइरहन्थ्यो । प्रत्यक्षदर्शीको भनाइ उध्दृत गर्दै महाशाखा प्रमुख थापाले थप्नुभयो, “सोही रिसले होला छोराको घाँटी रेट्नुका साथै टाउकोको चार ठाउँमा दाउरा प्रहार गरेको हुुनसक्छ । ’’
श्रीमती र छोराको हत्या गरेको पछिल्लो बिहान केही समय किराना पसल खोलेका थिए । सोही साँझ विष सेवन गरी अधिकारीले आत्महत्या गरेको भनाइ प्रहरीको छ । छोराको मृत शरीरमाथि रामराम लेखेको र श्रीमतीको शरीरमाथि बर्को ओडाइ दिएका थिए । शुक्रबार दिउँसो फोन नउठेपछि मृतक अधिकारीका भाइबुहारी मासु बोकेर दाजुभाउजू भेट्न साँझ ५ बजे घरमा पुग्दा उक्त हत्या घटना सार्वजनिक भएको हो । अधिकारीको कान्छो भाइ सशस्त्र प्रहरी बलमा आबद्ध छन् ।
घर बनाउँदा लागेको ऋण त्यसमाथि नियमित मदिरा सेवन गर्ने भएकोले श्रीमती र छोराले अधिकारीलाई कराउने गरेको हुन सक्ने भनाइ अनुसन्धानमा संलग्न प्रहरीको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?