logo
२०८१ बैशाख १२ बुधवार



निषेधाज्ञामा अटेरी गर्ने बढे, आजै चार हजार सवारी कारबाहीमा

राष्ट्रिय |


निषेधाज्ञामा अटेरी गर्ने बढे,  आजै चार हजार सवारी कारबाहीमा


केशवराज पौडेल
काठमाडाैँ, भदौ १२ गते । काठमाडाैँ उपत्यकामा कोराना सङ्क्रमण बढेसँगै काठमाडाैँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक सवारी साधनलाई सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
शुक्रबार अनुमतिबिना काठमाडाैँमा एक हजार २२१, ललितपुरमा ४१० वटा र भक्तपुरमा दुई हजार २५५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको छ । महानगरीय प्रहरी प्रभागका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले निषेधाज्ञाको उल्लङ्न गरेर सवारी साधन सञ्चालन गर्नेहरूको सवारी साधनलाई होल्डमा राखिएको बताउनुभयो ।
शुक्रबार मात्रै दिउँसो एक बजेसम्ममा तीन हजार ८८६ सवारी साधनहरू कारबाहीमा परेसँगै एक पटकभन्दा धेरै निषेधाज्ञा उल्लङ्घन गर्ने ५३३ वटा चारपाङ्ग्रे तथा एक हजार वटा दुई पाङ्ग्रेलाई कारबाही स्वरुप होल्डमा राखिएको छ ।
निषेधाज्ञा जारी भएको एक साता बितिसकेको समयमा निषेधाज्ञा तोड्ने सवारी साधनहरूलाई सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्न सकिने महानगरीय ट्राफिक महाशाखाका एएसपी भीमप्रसाद ढकालले बताउनुभयो । सुरुका दिनमा केही घन्टा होल्ड गरेर सम्झाएर पठाएकाे र अहिले अटेर गर्नेमाथि एक-दुई दिन र तीनसम्म होल्डमा राख्ने गरेको ढकालले बताउनुभयो । एसएसपी ढकालका अनुसार निषेधाज्ञाको पालना नगर्नेमाथि सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन अनुसार मुद्दासमेत चलाउन सक्ने प्रकृयामा पुग्ने अवस्था आएमा मुद्दासमेत चलाउने उहाँले बताउनुभयो ।
एसएसपी ढकालका अनुसार दैनिक एक हजार ५०० वटा सवारी साधनहरूलाई होल्डमा राखिएको बताउँदै यसलाई कम गराउन एक हजार ४०० भन्दा धेरै ट्राफिक सडकमा परिचालन भएको उहाँले स्पष्ट पार्नुभयो । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा मास्क नलगाउनेलाई एक सय रुपियाँ जरिवानासमेत गराइरहेको एएसपी ढकालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?