logo
२०८१ बैशाख १२ बुधवार



स्वास्थ्य मापदण्ड पालना नै एकमात्र विकल्प

फिचर |


स्वास्थ्य मापदण्ड पालना नै एकमात्र विकल्प


देवबहादुर कुँवर

काठमाडौँ, भदौ ८ गते । कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् ।
बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट निको भएर फर्कनुभएकी एक महिला भने स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ नगर्नु नै कोरोनाबाट जोगिने अन्तिम विकल्प भएको अनुभव सुनाउनुहुन्छ । दैनिक उपभोग्य वस्तु खरिद गर्ने घर नजिकैको किराना व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि ती महिला पनि श्रीमान्सहित स्वाब परीक्षणका लागि टेकु पुग्नुभयो तर श्रीमान्को रिपोर्ट नेगेटिभ आयो ।
घरमा कोही आउँदा पनि उहाँका श्रीमान् मास्क लगाएर कुरा गर्नुहुन्थ्यो । ती महिलाको भनाइ अनुसार मास्क खोलेर कुरा गर्नुभन्दा उहाँ चाहिँ जोखिमको बेला सतर्क हुनुपर्छ भन्नुहुन्थ्यो । कोरोना सङ्क्रमण हुन नदिन सामान्य सतर्कता अपनाउँदा एक दम्पतीका श्रीमान् जोगिनु तर श्रीमतीमा देखिनु शरीरको प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) मात्र नभई स्वास्थ्य सतर्कता महìवपूर्ण भएको पाइएको छ ।
कोरोना सङ्क्रमितको उपचारमा संलग्न सशस्त्र प्रहरी बल बलम्बुका चिकित्सक डा. प्रविन नेपाल एउटै परिवारभित्र कसैमा कोरोना देखिनु कसैमा नदेखिनुमा इम्युनिटी पावरसँंगै स्वास्थ्य सतर्कता मुख्य भएको बताउनुहुन्छ ।
घरबाहिर निस्कँदा वा घर तथा कार्यालय, आफन्त, परिवार, साथी र बाक्लो जमघटमा पनि सामाजिक दूरी कायम राख्ने, मास्क अनिवार्य, सेनिटाइजरको प्रयोग र सरसफाइमा उचित ध्यान दिने हो भने सङ्क्रमणको जोखिम न्यून हुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम कतिपय सर्वसाधारणले मास्कसमेत नलाउने गरेको बताउनुहुन्छ । केही दिनअघिको एउटा सर्वेक्षणले ७२.१ प्रतिशतले मात्र मास्क प्रयोग गरेको देखाएको थियो ।
हामीले उचित ढङ्गले मास्कको प्रयोगसँंगै घर तथा कार्यालयभित्र र घर बाहिर सामाजिक दूरी कायम राख्ने हो भने सजिलै जोगिन सकिन्छ । उहाँका अनुसार मास्क लगाए पनि भीडभाडको यात्रा भने असुरक्षित हुने गर्छ ।

कारबाही अनेक
निषेधाज्ञाको अवज्ञा गरेको भन्दै महानगरीय प्रहरी कार्यालयले मर्निङवाक गर्नेदेखि बढुवासम्मलाई कारबाही गरेको छ । यसरी कारबाहीमा पर्नेहरूको सङ्ख्या आइतबार करिब एक हजार रहेको छ ।
उपत्यकाको सडकमा समूह बनाई बिहानको समयमा दौडिनेदेखि अस्पताल तथा आफन्त भेट्न भन्दै सडकमा लखरलखर हिँड्नेलाई समेत केही समय होल्डिङ क्षेत्रमा राखी सम्झाइबुझाई कारबाही गरिएको हो ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले निषेधाज्ञाको अवज्ञा गर्नेलाई कारबाही मात्र नभई अति अप्ठ्यारोमा परेकालाई सहजीकरण गरी गन्तव्यसम्म पु¥याइएको जानकारी दिनुभयो ।
त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि निषेधाज्ञा पालना नगरेको भन्दै ७२३ वटा चारपाङ्ग्रे र करिब ६०२ वटा दुई पाङ्ग्रे सवारी साधन कारबाहीमा परेका छन् ।

व्यापक माइकिङ
काठमाडौँ महानगरपालिकाको विभिन्न वडा कार्यालयले टोल–टोलमा सचेतनामूलक माइकिङ सुरु गरेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्वसाधारणलाई घर बाहिर ननिस्कन तथा निस्कँदा पनि स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न आग्रह गरिएको छ ।
काठमाडौँ महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले किरानादेखि तरकारी पसलमा भीड लाग्ने, मास्क प्रयोग नगर्ने, निषेधाज्ञामा पनि पाहुना लाग्ने, भोज गर्ने र अनावश्यक काममा घर बाहिर निस्कने जस्ता गतिविधि रोक्न माइकिङ गरिएको बताउनुभयो । कोरोना रोग कसैलाई खोज्दै घर–घरमा आउँदैन, उहाँले स्पष्ट पार्नुभयो ।

तरकारी बजार व्यवस्थित गरिने
सामाजिक दूरी र मास्क प्रयोग नगरी तरकारी तथा फलफूल बजार क्षेत्रमा ग्राहकको प्रवेशमा कडाइ गरिने भएको छ । काठमाडौँ उपत्यकाको कालीमाटी, बल्खु, माछापोखरी लगायतका तरकारी बजारमा सर्वसाधारणको भीड लाग्ने गरेको छ ।
सो भीड व्यवस्थित गर्न जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले स्थानीय सुरक्षा निकायलाई निर्देशन दिएको छ । मास्कको प्रयोग र सामाजिक दूरी कायम नगरेको पाइएमा व्यापारी तथा ग्राहक दुवैलाई कारबाही हुने बताइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?