logo
२०८१ बैशाख १२ बुधवार



कोरोनासँग लड्न पनि क्वाँटी महत्त्वपूर्ण

समाज |


कोरोनासँग लड्न पनि क्वाँटी महत्त्वपूर्ण


यलु जोशी
काठमाडौँ, साउन १९ गते । जनैपुर्णिमाको दिन नेवार समुदायकाे घरघरमा क्वाँटी खाने प्रचलन छ । पछिल्लो सयम सबै समुदायमा यसको लोकप्रियता बढेको छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरूलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्त्व रहेने संस्कृतिविद् सत्यमोहन जोशीले बताउनुभयाे ।

नेवार समुदायमा हरेक चाड पर्वमा केही न केही खाना विशेष हुन्छ जसले हामीलाई रोगसँग लड्न मद्दत गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ । 'हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौँ', जोशीले भन्नुभयो, 'खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिन्छ ।' गेडागुडी अर्थात् प्रोटिन हुने भएको कारण पनि यो मौसममा क्वाँटी खाने चलन गरिएको उहाँले बताउनुभयो ।

मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुङ्गलगायत गेडागुडीको मिश्रण नै क्वाँटी हो जोशीले भन्नुभयो, 'क्वाँटी विशेष गरी नेवारी परिकार हो । नेपाल भाषामा क्वाँ भनेको तातो हो भने टी भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ ।'

क्वाँटीबाट पूर्ण प्रोटिन पाइने पोषणविद् डा.अरुणा उप्रेतीले बताउनुभयो । उहाँले फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिवर्द्धक पौष्टिक आहारका रुपमा लिने पनि जानकारी दिनुभयो ।

आयुर्वेद डा. हेमकुमारी अधिकारीका अनुसार कोरोना सङ्क्रमणको महामारी बढी रहेको सबैलाई रोग प्रतिरोधात्मक खाने कुरा चाहिन्छ, त्यसको विकल्प हो क्वाँटी । उहाँ थप्नुहुन्छ, 'यसको मतलब् क्वाँटी खाएर कोरोना लाग्ने भन्ने होइन । यसमा रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अक्सिडेन्ट’ पनि हुन्छ ।'

डा.अधिकारीले मधुमेह, पायल्स, कब्जियत, रुघाखोकी, लिभरसिरोसिस, सुत्केरी महिला, वृद्धवृद्धाका लागिसमेत क्वाँटीले फाइदा हुने जानकारी दिनुभयो । प्रोटिनको मात्रालाई सन्तुलनमा राख्नुपर्ने मृगौला रोगी, युरेनिया तथा युरिक एसिडका बिरामीले भने क्वाँटी खाँदा विचार पुर्याउनुपर्ने पनि सुझाव दिनुभयो ।

पोषणविद् डा. उप्रेती भन्नुहुन्छ, 'हामी गेडागुडी भिजाएर त्यो अङ्कुराएपछि खान जाँगर चलाउँदैनौँ । अङ्कुरित गेडागुडी एक पटक मात्र होइन, हरेक दिन आवश्यक हुन्छ शरीरलाई । त्यसैले जनै पूर्णिमा नै कुर्नु नपर्ने प्रष्ट पार्नुहुन्छ ।'

उहाँका अनुसार क्वाँटी आफैँमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो शक्तिवर्द्धक एवम् पौष्टिक आहारा हो । यसमा भिटामिन बीका सबैजसो प्रकार पाइन्छन् ।
क्वाँटीलाई ज्वानोमा झानेर वा पकाएर खाने गरिन्छ । 'यो स्वादिलो परिकार पनि हो । तर, यसबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन ।' डा.उप्रेती भन्नुहुन्छ, 'क्वाँटी नियन्त्रित मात्रामा खानुपर्छ । किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ, युरिक एसिड बढ्ने भय हुन्छ । यसको भार मिर्गौलामा पर्न सक्छ ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?