logo
२०८१ बैशाख ८ शनिवार



रेडक्रस रक्तसञ्चार केन्द्रबाट तीन लाख २१ युनिट रगत उपलब्ध

समाज |


रेडक्रस रक्तसञ्चार केन्द्रबाट तीन लाख २१ युनिट रगत उपलब्ध
सांकेतिक तस्बिर


गोरखापत्र अनलाइन

काठमाडौँ, साउन १२ गते । नेपालका ७३ जिल्लाका ११६ स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत नेपाल रेडक्रसले सोसाइटीको रक्तसञ्चार केन्द्रबाट तीन लाख २१ हजार ७७६ प्रिन्ट रगत बिरामीलाई उपलब्ध गराइएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।

रक्त सञ्चार सेवा केन्द्र स्थापनाको ५४ औँ वर्ष पूरा भएको अवसरमा केन्द्रले एक वर्षमा तीन लाख २१ हजार युनिट रगत बिरामीलाई उपलब्ध गरेको जानकारी दिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा दुई लाख ३८ हजार आठ सय ३६ यूनिट रगत सङ्कलन भई तीन लाख २१ हजार ७७६ यूनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराईएको छ । नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र स्थापनाको ५४ औँ वर्ष पूरा भएको अवसरमा सोमबार प्रकाशित प्रतिवेदनमार्फत यो जानकारी दिइएको हो ।

देशभरिमा विभिन्न सङ्घ–संस्थाहरूबाट तीन हजार ४७८ वटा घुम्ती रक्त सङ्कलन गरिएको छ भने केन्द्रीय रक्त सञ्चार सेवाबाट मात्रै ३९ हजार ७५५ यूनिट रक्त सङ्कलन गरिएको छ । ५४ वर्षअघि अर्थात् २०२३ साल साउन १२ गते नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको थियो । अहिले नेपालको ७३ जिल्लाका ११६ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत रेडक्रसले सेवा सञ्चालन गरिरहेको छ ।

काठमाडौँको केन्द्रीय रक्तसञ्चार सेवाको लगायत विराटनगर, पोखरा, नेपालगञ्ज र चितवन गरी चार वटा क्षेत्रीय रक्त सञ्चार सेवा २२ वटा जिल्लास्तरीय इकाई, ४७ जिल्लाका आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालका रक्त सञ्चार सेवा एकाइबाट अहिले रक्त सञ्चार सेवा सञ्चालनमा छ ।

कोभिडको महामारीको अवस्थामा सेवा स्थापना दिवस विभिन्न स्थानमा भीड नगरी फरक तरिकाले कार्यक्रम मनाइएको नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।

बकुलहर, रत्ननगर अस्पताल चितवनमा सोमबार एक कार्यक्रम बीच आकस्मिक रक्तसञ्चार सेवा सुरु गरिएको छ । नेपालगञ्जमा सञ्चार गृहको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । त्यस्तै कोहलपुरमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

स्थापना दिवसको अवसरमा केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारले भन्नुभयो ‘रक्तदाताहरु र सङ्घसंस्थाको सहयोगप्रति आज म आभार व्यक्त गर्न चाहन्छु ।
‘विश्वभर फैलिएको कोभिड १९ सङ्क्रमणले रक्तसञ्चार सेवा प्रभावित भएपनि रक्तदाता र रक्तसञ्चार सेवासँग सम्बद्ध सङ्घसंस्थाको सहयोगमा सङ्क्रमण जोखिम न्यूनीकरणमा ध्यान दिँदै सेवा प्रवाह गरिँदैआएको छ र क्रमशः सङ्क्रमण पहिलेको अवस्थामा हामी गइरहेका छौँ’उहाँले भन्नुुभयो ।

महिला रक्तदातामा वृद्धि तर सङ्ख्या अझै सानो

गत आर्थिक वर्ष २०७५/०७६ मा नेपालभर जम्मा दुई लाख ७१ हजार ९२२ यूनिट रगत सङ्कलन भएकोमा यस वर्ष कोभिडको कारणले केही प्रतिशत रक्तदाता घटे पनि महिला रक्तदाताको सङ्ख्या बढेको छ । गतवर्ष कुल रक्तदाता महिलाको सङ्ख्या १६.१ प्रतिशत रहेकोमा यसपटक १७.५ प्रतिशत पुगेको छ । तर, यो सङ्ख्या अझै बढ्नुपर्ने देखिएको छ ।

नेपालभरि सङ्कलित रगत समूहको विश्लेषण गर्दा पोजिटिभ समूहको रगत ९६.७० प्रतिशत र नेगेटिभ समूहको रगत ३.३० प्रतिशत रहेको छ । पोजिटिभतर्फ ए समूहको सबैभन्दा बढी अर्थात् २८.१२ प्रतिशत देखिन्छ भने सबैभन्दा कम एबी समूहको ११.६७ प्रतिशत । त्यस्तै सबैभन्दा दुर्लभ रक्तसमूह एबी नेगेटिभ हो जुन नेपालमा ०.४७ प्रतिशत छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?