logo
२०८१ बैशाख ४ मंगलवार



१० वर्षअघि आमाको मृत्यु, पहिरोले बाबुलाई पुरेपछि छ दिदीबहिनीको बिचल्ली

समाज |


१० वर्षअघि आमाको मृत्यु, पहिरोले बाबुलाई पुरेपछि छ दिदीबहिनीको बिचल्ली


प्रेमराज सिम्खडा

कालीकोट, साउन ११ गते । २०६८ सालमा आमाको मृत्यु भएपछि बुबाको सहारामा बाँचेका दिदीबहिनीको यति बेला बिचल्ली भएको छ । छोरीहरू पाल्नकै लागि काठ चिर्न जानुभएको कालीकोट जिल्लाको पचाँलझरना गाउँपालिका वडा नं ३ का ध्वजवीर कठायतको पहिरोले पुरिएर मृत्यु भएपछि छ जना छोरीहरू बिचल्लीमा परेका हुन् ।

कालीकोट जिल्लाको पचाँलझरना गाउँपालिका वडा नं. ३ का छ दिदीबहिनी एकै पटक अभिभावकविहीन भएका छन् । उनीहरूको आमाको क्यान्सर रोगका कारण मृत्यु भएको थियाे । आमाको न्यानो काखबाट बिछोडिएका अबाेध बालिकाको साहारा भनेकै बुबा थिए । छोरीको लालनपालन र शरीर ढाक्ने कपडाको जोहोका लागि घरबाट माथि जङ्गलमा काठ चिरानीमा जानुभएका ध्वजवीर कठायत फेरि कहिल्यै नफर्किने गरी अस्ताउनुभयो । साउन ३ गते काठ चिरानी गरिरहेका समयमा माथिबाट आएको पहिरोमा कठायत पुरिएपछि उहाँका छ छोरीको बिचल्ली भएको छ । श्रीमतीको मृत्युले निकै विक्षिप्त भएका कठायत छोरीको भविष्यका लागि पनि मजदुरी गर्दैआउनुभएको उहाँलाई चिन्नेहरूको भनाइ छ ।

छिमेकीको सल्लाह र छोरीको अनुहार मलिन नहोस् भनेर कठायत हाँस्ने र मजदुरीमा जानुहुन्थ्यो । वडा नं. ३ का रङ्गवीर कठायतका अनुसार मन बुझाउनका लागि भएपनि काममा जानुहुन्थ्यो । 'काठ चिरानीमा राम्रो सीप भएकाले छिमेकीले जाउ भने गए, तर उतै बिलाए' रङ्गवीरले भन्नुभयो । उहाँसँगै पहिरोमा परेका मुनी बस्स्नेतलाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो । ३ गते शनिबार पहिरोमा पुरिएका ध्वजवीरको शव भने ५ गते निकालियो । बुबाको मृत्यु भएको खबर पाएपछि छोरीको आँसु रोक्ने कोही भएन ।

घरको आँगनमा पुगेका आफन्त पनि छोरीको वेदना सुनेर भक्कानिए । उनीहरूलाई मामाले सान्त्वना दिनुभएको छ । जेठी छोरी वाटु कठायतलाई बहिनी कसरी पाल्ने भन्ने चिन्ता छ । २०६८ सालमा आमाको मृत्यु हुँदा कान्छी बहिनी एक वर्षकी थिईन् । 'बुबाले आठ वर्षसम्म अर्की आमा ल्याउनुभएन । त्यसपछि कान्छी आमा ल्याउनुभयो । कान्छी आमाबाट पनि दुई बहिनी क्रमश एक वर्षकी बहिनी र अर्को दुई वर्षकी बहिनी छन् । अब हाम्रो साहारा कोही पनि छैन ।' जेठी छोरी वाटु कठायत भन्नुहुन्छ । 

कान्छी आमा बुबाको मृत्युपछि केही बोल्न सक्नुभएकाे छैन । आमा बिरामी भएको समयमा उनीहरूले सम्पत्तिमा रहेको पाखो बारी बेचिसकेको र आफू बहिनीहरूको बिचल्ली भएको जेठी छोरी कठायत बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?