logo
२०८० चैत्र १६ शुक्रवार



नझुक्किनुहाेस् ! यो चिडियाघर होइन, सडकको कार्यालय हो

समाज |


नझुक्किनुहाेस् ! यो चिडियाघर होइन, सडकको कार्यालय हो


टीकाराम उप्रेती
झापा, असार ३१ गते । झापाको दमकस्थित शहरी बस्तीबीच एउटा सरकारी कार्यालय परिसर पुग्ने जो कोही केही बेर अलमलमा पर्छ । झ्याम्म रुखैरुख । त्यसमा पनि हाँगैपिच्छे बसेका चरा र डालीपिच्छे गुँड । यो न त कुनै निकुञ्जको अफिस न चिडियाखाना नै ।

दमको सडक कार्यालय परिसरमा गर्मी मौसममा पुग्दा हरेक वर्ष यस्तै दृष्य देखिन्छ । यस परिसरमा स्थानीय विभिन्न प्रजातिका बकुल्लाको ठूलो समूहले अफ्ना चल्ला कोरल्न सुरक्षित बासस्थानको रुपमा उपयोग गर्ने गरेका छन् । करिब पाँच विगाहमा क्षेत्रफमा फैलिएको यो कार्यालय अहिले एउटा बकुल्लाको चिडियाघर जस्तै बनेको छ ।

चराले यहाँ एउटै रुखमा सयौँको सङ्ख्यामा गुड बनाएरका छन् । ठूलो क्षेत्रफलमा अग्लो कम्पाउण्ड वाल लगाएर चोर सिकारी छिर्न प्रतिबन्ध गरिएको छ । चरालाई पिउने पानीका लागि ठाउँठाउँमा पानी खाने खाल्डासमेत बनाइएका छन् ।

हरेक वर्ष सयौँको सङ्ख्यामा चरा चल्ला कोरल्न यो स्थानमा आउँछन् । खास गरी वैशाखदेखि कात्तिकसम्म यो क्षेत्रमा बस्ने र चल्ला कोरल्ने गरेका छन् । कोशीटप्पु वन्यजन्तु क्षेत्र वन अधिकृत वीरेन्द्र गौतमका अनुसार स्थानीय जातिकै भएकाले यसले बच्चा कोरल्ने समयमा मात्र सुरक्षित बासस्थान खोजी गर्छ । अन्य समयमा भने यो जङ्गल, खेत, सिमसार लगायतका क्षेत्रमा बसोबास गर्दछ ।

अन्य चराको बच्चा कोरल्ने समय यो होइन तर यो बकुल्ला जातिले भने यो समयमा चल्ला कोरल्ने भएकाले सुरक्षित र होचा रुखहरू रोज्ने गर्दछन् । चल्ला कोरल्न सुरक्षा विधि कमजोर हुने भएकाले मृत्युदरसमेत बढी हुने गरेको गौतमले बताउनुभयो । त्यसैले एकै सिजनमा यसको दुईदेखि तीन पुस्तासम्मले बच्चा हुर्काउने गर्दछन् । छोटो समयमा नै तीन पुस्तासम्म चल्ला कोरल्ने गरेको अध्ययनमा पाइएको गौतमले जानकारी दिनुभयो ।

स्थानीय नाम बकुल्ला, वैज्ञानिक नाम (इग्रेट्टा गार्जेट्टा, सानो सेतो बकुल्ला र लिटल इग्रेट, सेतो बकुल्ला) रहेका छन् । यहाँ भने सेतो, फिक्का कालो, फिक्का पहेलो र खैरो रङका बकुल्ला आउने गरेका छन् । खैरो, कालो, सेतो, लामो घाँटी भएको छोटो घाँटी भएका विभिन्न जातका बकुल्ला भएपनि उनीहरू एउटै समूह र झुण्डमा हुर्कने गर्दछन् । हेर्दा फरक फरक देखिए पनि उनीहरू एउटै समूहमा बस्ने गर्दछन् । विभिन्न प्रजाति एउटै उस्तै स्थानमा बसेपनि चल्ला कोरल्दाको बसाइ र गुँड भने आ–आफ्नो समूहको छुट्टाछुट्टै हुने गरेको छ ।

घुमन्ते फिरन्ते भएकाले स्थायी गुँड हुँदैन । घुमेर चरन क्षेत्र खोज्दै चहार्ने प्रजाति भएकाले चल्ला कोरलिन्जेल मात्र गुँड बनाउछ । गुँडसमेत राम्रो लगाउँदैनन् । सामान्य दाउराबाट निर्माण गर्ने भएकाले । चल्ला कोरल्न ओथारो बस्न बनाउने गुँडबाट धेरै चल्ला र अण्डा भुइँमा खसेर मर्ने र फुट्ने गरेका छन् । छ महिनाको अवधिमा चल्ला हुर्काएर वयस्क बनाउँछन् । शहरको बीचमा रहेको कार्यालय परिसरमा हुर्किँएका विभिन्न जातका रुखमा हाँगैपिच्छे चराहरू खेलिरहेका रमणीय दृश्य देख्न सकिन्छ । झापाको दमक नपा-६ स्थित मुख्य चाेकनजिकै रहेको सडक डिभिजनको कार्यालय परिसरमा चराको मुख्य बासस्थान बनाएका छन् ।

यहाँ करिब पाँच बिगाहा क्षेत्रफलमा फैलिएको कार्यालय परिसरमा डिभिजन कार्यालय दमकमा १८ वर्षदेखि कार्यालय सहयोगीको रुपमा काम गर्दै आउनुभएका धर्म आचार्यका अनुसार यहाँ हरेक वर्ष फागुनमा बसाइ आउने गर्छन् । जब मौसम तातो हुन थालेपछि आएका चरा कात्तिकको चिसोसित पर्न थालेपछि यहाँबाट बसाइ जाने गरेका छन् ।

यहाँ शिरिष, आँप, खयर, सिसौ, कदम, मसलालगायतका स्थानीय जातका रुखबिरुवा रहेका छन् । यो क्षेत्रमा बजार क्षेत्रनजिकै खेतमा पानी रहेको र दमकको दुवैतिर पूर्वमा रतुवा र पश्चिममा मावा खोला रहेका छन् । उनीहरूको मुख्य आहारासमेत माछा भएकाले नजिकै चरन क्षेत्रमा माछा प्रशस्त पाइने भएपछि यो क्षेत्रमा बकुल्लाले आफ्नो चल्ला कोरल्न सुरक्षित बासस्थानको रुपमा लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?