logo
२०८० चैत्र १५ बिहीवार

  पीडितको स्मरणमा म्याग्दी पहिरो  



अर्को कोठामा सुतेका छोरी र श्रीमतीलाई तान्दातान्दै बगायो

प्रदेश |


अर्को कोठामा सुतेका  छोरी र श्रीमतीलाई तान्दातान्दै बगायो


सन्तोष गौतम

म्याग्दी, असार २८  गते । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन । “बिहानै मेलामा जाने योजना थियो । जेठी छोरी र छोरा मसँग थिए”, हीराका श्रीमान् धनबहादुरले भन्नुभयो, “अर्को कोठामा सुतेका दुई छोरी र श्रीमतीलाई तान्दातान्दै पहिरोले बगायो ।” पहिरोमा भाग्ने क्रममा घाइते भएर बेनी अस्पतालमा उपचार गराइरहेका धनबहादुर श्रीमती, छोरी कञ्चन र करिश्मालाई गुमाउनुको पीडाले भक्कानिनुभयो ।    
    
जुग्जालीका छोरा अर्जन र अर्की छोरी रितु पहिरो आएको थाहा पाएपछि भागेका थिए । करिब ३६ घण्टासम्म शरीरमा लागेको चोटको पीडा सहेर बसेका धनबहादुरले शनिबार साँझ अस्पताल आएपछि दुःखाई कम भएको सुनाउनुभयो । “खेतबारी, गोठ र घर सबै पहिरोले बगायो”, उहाँले भन्नुभयो, “न बस्ने घर छ । न जीवनमा साथ दिने श्रीमती र साना छोरीहरु रहे ।” पहिरोमा घाइते भएका १२ जनाको शनिबार दिउँसो नेपाली सेना र प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।    
    
पहिरो खस्न थालेपछि घरभित्र सुतिरहनुभएकी आमा ताजिमा केसी र साथी सविन पुनलाई उद्धार गर्न गएका धवलागिरि गाउँपालिका–६ कल्लेनीका १६ वर्षीय प्रकाश केसी पहिरोमा पुरिनुभयो । घरछेउको खोल्सामा बाढी र माख्लाको भिरबाट पहिरो खस्न थालेपछि शुक्रबार बिहान १ बजे छिमेकी परदेवी पुनकहाँ गएका केसी आमा र साथीलाई भगाउन बिहान ५ बजेतिर घर जानुभएको थियो ।    
    
“मामा (प्रकाश)ले राति १ बजे आएर हामीलाई उठाउनुभयो । बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौँ”, पहिरोमा भाग्ने क्रममा घाइते भएकी परदेवीले भन्नुभयो, “पाँच बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर गएका मामालाई हेर्दाहेर्दै पु¥यो । हामीलाई पनि भाग्दाभाग्दै ढुङ्गाले चोट लाग्यो ।”    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?