logo
२०८१ बैशाख ८ शनिवार



पेन्सन लिन भारत गएका ज्येष्ठ नागरिककाे मृत्यु

खुला |


पेन्सन लिन भारत गएका ज्येष्ठ नागरिककाे मृत्यु



गोकर्ण दयाल
बैतडी, असार २४ गते । पेन्सल लिन भारत गएका एक ज्येष्ठ नागरिकको बैङ्कको लाइनमै बसेका बेला ढलेर मृत्यु भएको छ ।  बैतडीको दशरथचन्द नगरपालिका–८ का ८२ वर्षका धनसिंह रावलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  बुधबारदेखि तीन दिनका लागि झुलाघाट पुल खुलेपछि उहाँ पेन्सन लिन झुलाघाट पारि भारत जानुभएको थियो । मृतक भारतीय सेनाबाट सेवानिवृत्त हुनुहुन्थ्यो ।
पेन्सन लिन लाइनमा बसेकै बेला ढलेका धनसिंह रावललाई भारतबाट जिल्ला अस्पताल बैतडी पुर्याइएको छ । उहाँ दमको रोगी भएको परिवारका सदस्यलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।  मृतकको शव बैतडी अस्पताल ल्याइएको र अन्य सबै परीक्षण हुने बैतडीका सहायक प्रमुख जिल्ला अधिकरी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । 

बुधबार नेपाल–भारत दुबै देशका जिल्ला प्रशासनको समन्वयमा झुलाघाट नाका खुला गर्ने सहमति भएको थियो । सीमा नाका बुधबारदेखि शुक्रबारसम्म खुला रहनेछ ।  सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नको लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि तीन दिन बुधबारदेखि शुक्रबारसम्म सीमा नाका खुलेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो । 

बुधबार बिहान ९ बजेदेखि झुलाघाट पुल खुला रहने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो । भारतीय सेनाबाट सेवानिवृत्त भएका व्यक्तिलाई दैनिक एकसय जनाको दरले पेन्सन बुझ्न भारत जान दिइएको छ । त्यसका लागि जेष्ठताको आधारमा जिल्ला अस्पताल बैतडीले स्वास्थ्य परीक्षण गरेर भारत पस्न दिईएको छ ।  पेन्सन बुझ्न जानेहरूलाई बैतडीस्थित सोल्जर बोर्डको कार्यालयले कुपनको व्यवस्था मिलाएको सम्पर्क व्यक्ति टिकाबहादुर पुनले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?