logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाभाइरसको महामारीकै बीच पर्यटकका लागि दुबई खुल्यो

अन्तर्राष्ट्रिय |
पर्यटन |


कोरोनाभाइरसको महामारीकै बीच पर्यटकका लागि दुबई खुल्यो


दुबई, असार २३ गते। कोरोनाभाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन थालेको छ ।
पर्यटक आवागमनको अनिश्चितता र कोरोनाभाइरससँग अझै धेरै मुलुकहरु जुधिरहेको अवस्थामा यहाँका ठूला सपिङ मल र पर्यटकीय गन्तव्यहरु खुला गरिएका छन् । पछिल्लो समय दुबईको मुख्य आम्दानीको स्रोत पर्यटन पनि हो । दुबई सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सरकारले प्रयास थालिसकेको छ । नजिकिँदै गएको हिउँदे महिनामा पर्यटकलाई यहाँ आमन्त्रण गर्न दुबईले तयारी थालेको छ ।
तर यसका लागि कोरोनाभाइरसको नियन्त्रण गर्नु संयुक्त अरब इमिरेट्स (युएई) का लागि फलामको च्यूरा चपाए सरह हुनेछ । युएईमा पनि कोरोनाभाइरसबाट संक्रमितहरु रहेका छन् र उनीहरुको उपचार जारी छ ।
मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको दुबईमा थर्मोमिटरबाट प्रत्येक आगन्तुकको शरीरको तापक्रम नाप्ने व्यवस्था गरिएको छ ।
“मेरो विचारमा यस्ता कार्यले मानिसमा दुबई घुम्न आत्मविश्वास बढाउँछ,” दुबईस्थित रोभ होटल्सका कर्पोरेट निर्देशक पल ब्रिजरले भन्नुभयो । “तैपनि मानिसमा विश्वास जागृत गराउन केही समय लाग्नेछ ।” पर्यटकीय गन्तव्यका लागि दुबई पछिल्ला वर्षमा निकै प्रख्यात छ । शासक शेख मोहम्मद बिन रसिद अल मख्तुमले दुबईलाई विश्वस्तरको आकर्षक शहर बनाउन कुनै कसर बाँकी राख्नु भएको छैन ।
विश्वकै अग्लो भवन बुर्ज खलिफा र बुर्ज अल–अबर लक्जरी होटल जस्ता संरचना निर्माण गरिएको दुबईमा विश्वकै सबैभन्दा व्यस्त विमानस्थल दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि रहेको छ ।
सन् २०१९ मा मात्र दुबईमा एक करोड ६७ लाख मानिसले भ्रमण गरेका थिए । अघिल्लो वर्ष १ करोड ५९ लाख मानिसले भ्रमण गरेका थिए । सबैभन्दा बढी पर्यटक भारत, साउदी अरेबिया, बेलायत, ओमान, चीन, रसिया र अमेरिकाबाट आएका थिए ।
दुबई घुम्न आउने पर्यटकहरुको औसत बसाई साढे तीन दिन रहेपनि पर्यटकका कारण यहाँका रेस्टुराँ, बार र रात्रिजीवन निकै खचाखच हुने गर्दथे । शारजाह सहित छिमेकी मुलुकहरु इरान, कुवेत र साउदी अरेबियामा मदिरा सेवनमा प्रतिबन्ध भए पनि दुबईको अर्थतन्त्रको मुख्य आकर्षणमा मदिराको खुला बिक्री वितरण पनि हो ।
तर दुबईमा जोखिम भने यथावत् छ । दुबईको राष्ट्रिय ध्वजाबाहक इमिरेट्सले कोरोनाभाइरसको जोखिम देखाउँदै हवाई उडान स्थगित गरेको छ । करिब ९० लाख जनसंख्या रहेको युएईमा ५० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर यीमध्ये करिब ४० हजार निको भइसकेका छन् भने ३२१ जनाको मृत्यु भएको छ ।
दुबई घुम्न चाहनेहरुका लागि प्रत्येक पर्यटकले गन्तव्यबाट उड्नु ९६ घण्टाअघि कोविड–१९ को परीक्षण गरेको हुनु पर्नेछ । अन्यथा, परीक्षण नगरेको अवस्थामा आगमनमै उनीहरुको परीक्षण गरिने तथा स्वास्थ्य प्रतिवेदन प्राप्त नहुँदासम्म आइसोलेसनमा बस्नु पर्नेछ । स्वास्थ्य प्रतिवेदन प्राप्त गर्न केही घण्टामै सम्भव हुने अधिकारीहरुले बताएका छन् ।
साथै, दुबई भ्रमण गर्न चाहनेहरुले कोविड–१९ समेटिएको स्वास्थ्य बिमा अनिवार्य रुपमा गरेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप