logo
२०८० चैत्र १६ शुक्रवार



इथियोपियामा गायकको मृत्युसम्बन्धी विवादमा भएको झडपमा एक हप्तामा कम्तीमा १६६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


इथियोपियामा गायकको मृत्युसम्बन्धी विवादमा भएको झडपमा एक हप्तामा कम्तीमा १६६ जनाको मृत्यु


अदिस अबाबा, असार २१ गते । इथियोपियाली लोकप्रिय गायकको मृत्युका विषयमा भएको विवाद हिंसात्मक झडपमा परिणत हुँदा इथियोपियाको ओरोमिया क्षेत्र र राजधानी अदिस अबाबामा कम्तीमा १६६ जनाको मृत्यु भएको प्रहरी स्रोतहरूले आइतबार जानकारी गराएका छन् ।

अरोमिया क्षेत्रका प्रहरी उप–आयुक्त गिरमा गेलमले झडपमा कम्तीमा १५६ सर्वसाधारण र ११ सुरक्षाकर्मीको मृत्यु भएको शनिबार राति सञ्चारमाध्यमहरूलाई जानकारी गराउनुभयो ।

प्रहरीले गत मङ्गलबार अदिस अबाबामा भएका झडपमा कम्तीमा १० प्रदर्शनकारी र दुई प्रहरी अधिकारीको मृत्यु भएको जनाएको थियो ।

इथियोपियाका जनजातिहरूको अधिकारका लागि गाउने गरेका हाचालु हुन्देसाको मृत्युलाई लिएर उक्त समुदायले गरेका विरोधका कार्यक्रमले हिंसात्मक स्वरूप लिएको हो ।

हुन्देसाको गायनबाट उठेको सांस्कृतिक चेतनाको बलमा उठेको आन्दोलनले सन् २०१८ मा तत्कालीन प्रधानमन्त्रीले सत्ता छोड्न बाध्य पारेको थियो । हुन्देसालाई अज्ञात व्यक्तिले गत सोमबार गोली हानी मारेको थियो । उहाँको मृत्युपछि राजधानी अदिस अबाबा र ओरोमिया क्षेत्रमा रहेका आदिवासी जनजातीहरूले हुन्देसाको हत्यामा सम्लग्न व्यक्तिको खोजी गरी कानूनी कारबाहीका लागि आन्दोलनमार्फत् दवाव सिर्जना गर्दै आएका थिए ।

सञ्चारमाध्यमका अनुसार आन्दोलन चर्किँदैगएपछि इथियोपियाका केही क्षेत्रमा इन्टरनेट सेवा काटिएको छ ।

हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा कम्तीमा दुई हजार दुई सय व्यक्तिलाई नियन्त्रणमा लिइएको सरकारी अधिकारीहरूले बताएका छन् । आन्दोलन र झडपका घटना शनिबारदेखि नियन्त्रणमा आएको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?