logo
२०८१ बैशाख १२ बुधवार



तस्बिरमा राजधानीको चार दशक पुरानो आरन

समाज |


तस्बिरमा राजधानीको चार दशक पुरानो आरन
शब्दचित्र: सुजन गुरुङ


सुजन गुरुङ

काठमाडौँ, असार २१ गते । कपनमार्गको पीपलबोटनजिक पुग्दा फलाममाथि घन चलाइरहेको एकोहोरो आवाज आइरहेको थियो । आवाज पच्छयाउँदै जाँदा पुरानो जस्ताले बारिएको एउटा छाप्रोमा पुगियो ।
हरियो टि सर्ट, टाउकोमा ढाका टोपी लगाउनुभएका एक पाको उमेरका व्यक्ति पोलेर रातो पारिएको फलाम समाइरहनुभएको थियो । त्यसमाथि दुई अधवैंशे पालैपाले घन प्रहार गर्दैथिए । हामी पुगेको केहीबेरमै पाता निकै पातलियो र रातो पनि हरायो । साँघुराे आरन वरिपरि फलामका विभिन औजार केही बन्दैगरेका त केही तयारी अवस्थामा थिए ।
हामीले फलाम समाउँदैगरेका जितबहादुर विकसँग कुरा थाल्याैँ । यो उहाँ र गोविन्द विकको साझा आरन रहेछ । नुवाकोट पुर्ख्याैली घर रहेका यी दुई दाजुभाइले याे ठाँउमा आरन सञ्चालन गरेको लगभग ४० वर्ष पुगिसकेको छ । परम्परातरुपमा सञ्चालन गरेको याे आरन नै उहाँहरूको दुई परिवारको जीविकोपार्जनको मुख्य आधार हो । घरायसी प्रयोग हुने विभिन्न फलामका औजारहरू हँसिया, कोदालो, फलामका भाँडाकुँडा निर्माण गरिने आरनमा आजभोलि घर निर्माणका लागि आवश्यक पर्ने फलामका औजारहरू समेत बनाइन्छन् ।
'पहिले पहिले घरायसी प्रयोग हुने औजारहरू मात्र बनाउन आउँथे तर आजभोलि त घर बनाउँदा रड दोबार्नेदेखि सम्पूर्ण सामान बनाउन आउँछन्', सञ्चालक जितबहादुर विकको भनाइ थियो ।
चार वर्षअघिसम्म आरन परम्परागत रुपमा नै चलाइएको थियो । आगो बाल्न हावा दिनुपर्थ्यो । त्यसका लागि हातले तान्ने खलातीको प्रयोग हुन्थ्यो । खुकुरी, हँसिया लगायतका औजारमा धार हाल्नका लागि अहिले विद्युतीय ग्रीण्डरको प्रयोग गरिएको छ ।
छोराले वाल्डिङ मेसिन राखेपछि काम गर्न सहज भएको जानकारी दिँदै गोविन्द विकले आफ्नो छोरा राजेश विकले आफ्नो काम सम्हालेकोमा खुशी हुँदै भन्नुभयो, “मैले पनि आजभन्दा ४० वर्षपहिले २० वर्षकै उमेरमा आरनमा काम गर्न थालेको थिएँ । आज मेरो छोराले पनि २० वर्षकै उमेरमा सबै काम गर्ने भइसकेको छ” यसरी यस पेसामा पनि पुस्ता हस्तान्तरणको प्रक्रिया चलिरहेको छ । यसरी नै जितबहादुर विकले पनि आफ्नो छोरा केशव विकलाई आरनको जिम्मेवारी सुम्पिनुभएको छ ।
यस क्षेत्रकै पुरानो आरनको रुपमा रहेको यस आरनमा मानिसहरू आफ्नो घरमा प्रयोग हुने फलामका औजारहरू किन्न र मर्मतका लागि आउँछन् तर कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अहिले भने व्यवसाय अलि पातलो भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?