logo
२०८० चैत्र १६ शुक्रवार



पर्म गरेर रोपाइँ गर्न व्यस्त किसान

समाज |


पर्म गरेर रोपाइँ गर्न व्यस्त किसान
सांकेतिक तस्विर


प्युठान, जेठ १९ गते । यहाँका किसान पर्म प्रथाबाट रोपाइँ गर्न व्यस्त छन् । झिमरुक फाँटका गरामा बाली(रोपाइँ गीत) गाउँदै पर्मप्रथा अहिले पनि लोप भएको छैन । रोपारे, बाउसे र हलिसहितको भूमिकामा रहेर आआफ्ना क्षेत्रबाट प्रत्येक घरधुरीको रोपाइँमा यहाँका कृषक पर्म तिर्न व्यस्त भएका छन् ।

सयौँ वर्ष पुरानो पर्मको परम्परानुसार प्युठान नगरपालिका– ८ दम्तीदेखि प्युठान नगरपालिका –१ दाखाक्वाडीसम्म फैलिएको झिमरुक फाँटमा रोपाइँ शुरु गरिएको छ । नगरपालिकाका विजुवार, विजयनगर, खैरा, मरन्ठाना, धर्मावती, बिजुवार र मल्लरानी गाउँपालिकाको खलंगाका मोहीको खेतमा मोही र अधियाँमा खेती गरिँदै आएको छ । प्युठान –७ लिपिकोटकी खिमा सुनारको २५ जना पर्म छन् । पाँच हल गोरु, पाँच बाउसे र १५ रोपार खेतमा धान रोप्न व्यस्त छन् । उहाँको खेतमा आएका एक एक जनाको घरघरमा पुग्दा पनि उहाँलाई एक महिना लाग्ने बताउनुहुन्छ ।

मल्लरानी गाउँपालिकाका मोहीको २० वर्षअघिदेखि अधियाँमा लगाउन शुरु गर्नुभएका सुनारले यस वर्ष रु एक लाख २० हजारको लिजमा लिई पर्ममै रोपाइँ गर्नुभयो । ‘मेरोमा आएका सबैको रोपाइँमा पर्म तिर्न जानुपर्छ ’ सुनारले भन्नुभयो, ‘पर्म तिर्दा पच्चीस दिन जान्छ, म आफैँ पर्ममा हिँड्न थालेको २० वर्ष भयो ।’ सुनारले पाँच रोपनीमा धानबाली लगाउँदै आउनुभएको छ । आफ्नो खेत नभएका कारण उहाँले वर्षौँदेखि अधियाँमा खेतीपाती गर्दै आउनुभएको हो । गाउँका कृषकले परम्परादेखि नै धान रोप्नेदेखि भित्र्याउँदासम्म पर्ममै काम गर्ने सुनारको भनाइ छ ।

झिमरुक फाँटमा प्रायः अधियाँमा खेतिपाती गरिन्छ । गाउँका गरीब तथा भूमि कम भएका परिवारले जग्गा बन्धकी खाएर र अधियाँमा लिएर धान रोप्ने गर्छन् । प्युठान–४ खमाल्दी गाउँका ३५ घरभन्दा बढी परिवारले पर्ममै खेतीपाती गर्दै आएको कमलसिंह सुनारले जानकारी दिनुभयो । उहाँले छ रोपनीमा पाँच वर्ष अघिदेखि धान लगाउँदै आउनुभएकामा शुरुदेखि नै पर्ममा रोपाइँ गर्दै आउनुभएको छ । खमाल्दीकी रुकी नेपालीको पर्म पनि २५ दिनको छ । गत वर्ष वैशाख २० देखि जेठ १५ गते उहाँको पर्मको काम सकिएको थियो । यस वर्ष यही जेठ १२ गतेदेखि बल्ल पर्म शुरु भएको नेपाली बताउनुहुन्छ । ‘बन्दाबन्दीका कारण रोपाइँ पछि धकेलियो’, नेपालीले भन्नुभयो । यस वर्ष असारको पहिलो हप्तासम्म पर्म सकिने उहाँको भनाइ छ ।

जिल्लाका माण्डवी, स्वर्गद्वारी, मल्लरानी, नौबहिनीलगायत पालिकामा रहेका खेतमा समेत रोपाइँ चलिरहेको छ । वैशाख तेस्रो हप्तादेखि नै धान रोपाइँ शुरु हुने भए पनि बन्दाबन्दीले बीउ र कुलो खन्न नपाउनाले समयमै धानको बीउ राख्न नपाएको कृषक बताउँछन् । अन्य ठाउँमा पनि ज्यालादारी र पर्ममा धान रोपाइँ गर्ने गरिएको स्थानीयवासीको भनाइ छ ।

जिल्लामा बढी मात्रामा धान खेती हुुने झिमरुक फाँटमा १५ प्रतिशत मात्रै रोपाइँ भएको प्युठान नगरपालिकाका कृषि शाखा प्रमुख मेघराज पोख्रेलले बताउनुभयो । ‘गत वर्ष ६५ प्रतिशत रोपाइँ सकिएको थियो’, पोख्रेलले भन्नुभयो, ‘बन्दाबन्दीले यस वर्षको रोपाइँ ढिलाइ हुने भए पनि एक हप्तासम्म ६० प्रतिशत रोपाइँ हुने अनुमान छ ।’ जिल्लाभर २२ हजार हेक्टर खेतीयोग्य भूमि रहेकामा ६ हजार ५५ हेक्टर जग्गामा धान खेती गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?