logo
२०८१ बैशाख ७ शुक्रवार



कैलालीमा टेलिफोनबाटै मनोपरामर्श

समाज |


कैलालीमा टेलिफोनबाटै मनोपरामर्श


दुर्गा देवकोटा

लम्की, जेठ १९ गते । नोबेल कोरोनाभाइरसको महामारीले विश्व नै आक्रान्त बनेको छ । कोरोनाभाइरस सङ्क्रमण फैलँदै गएपछि सामाजिक क्षेत्रमा ठूलो असर परेको छ । कोरोना कहर बढेपछि रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीले आर्थिक र मानसिक तनाव झेलिरहेका छन् । आर्थिक र मानसिकरूपमा समस्यामा परेका नागरिकलाई कैलालीमा भने टेलिफोनबाटै मनोपरामर्श दिन थालिएको छ ।

कोरोनाको महामारीले गन्तव्य मुलुकमा रोजगारी गुमाउने, स्वदेश फिर्ता हुन नपाउने, भोकमरीको चपेटामा पर्नेलगायतका समस्या देखिएका छन् । परिवारमा समेत व्यक्तिगतसँगै विदेशमा रहेकाप्रतिको चिन्ता बढेको छ । विदेश तथा अन्य स्थानबाट घर आएकालाई समेत समाजमा हेर्ने दृष्टिकोण फरक रहेको छ ।

यसरी विदेशमा रहेका नागरिक र उनीहरुका परिवारमा समेत मनोसामाजिक असर देखिन थालेको छ । कोरोनाको महामारीसँगै मनोसामाजिक असर देखा पर्दै गएकाले कैलालीमा सुरक्षित आप्रवासन परियोजना (सामी)ले टेलिफोनमार्फत सूचना दिने र परामर्श दिने काम गरिरहेको परियोजना संयोजक पञ्चराम चौधरीले बताउनुभयो । “विदेशबाट फर्किएका नागरिक र विदेशमा आफन्त रहेका परिवारका सदस्यमा मनोत्रास छ”, संयोजक चौधरी भन्नुहुन्छ, “यस्तो विपत्तिमा पहिले त मानिसको मानसिक अवस्था ठीक हुनुपर्छ । सबै काम दिमागले गर्छ, उनीहरुको सोच नकारात्मक नहोस् भनी हामीले मनोपरामर्श दिन थालेका हौँ ।”

कैलालीबाट श्रमस्वीकृत लिएर ६० हजार व्यक्ति विभिन्न मुलुकमा रोजगारीको सिलसिलामा गएका छन् । श्रम गर्न विदेश गएकाको गन्तव्य मुलुकको पीडा एकातिर छ भने घर फर्किएका नागरिक पनि विभिन्न पक्षबाट समस्यामा परेका छन् । लामो वैदेशिक बसाइपश्चात् फर्किएका नागरिकले गाउँघरमा दुव्र्यवहार, अपहेलनाजस्ता समस्या भोगिरहेको बताउँछन् । जानकी गाउँपालिकाका सेवक चौधरी गत चैत ९ गते मलेशियाबाट नेपाल फर्कनुभएको हो । “एक महिने बिदामा घर फर्किएको थिएँ । घर आएपछि लकडाउन भयो”, चौधरी भन्नुहुन्छ, “म घरभित्रै सीमित भएको छु । कतै गयो, कसैसँग बोल्यो भने सङ्क्रमित हुनसक्छ भन्दै बोल्नै डराउँछन् । समाजको दुव्र्यवहार सहनै कठिन भएको छ ।”

विदेश तथा बाहिरी जिल्लाबाट फर्किएका अधिकांश घर जान नपाई क्वारेन्टिनमा बस्नुपर्ने भएकाले उनीहरुमा समेत नकारात्मक विचार उत्पन्न हुने, वितृष्णा पैदा हुने, मनोबल घट्नेजस्ता समस्या आउन थालेको परियोजना संयोजक चौधरी बताउनुहुन्छ । “यस्तो समस्यामा परेकालाई हामीले मनोसामाजिक परार्मश दिने कार्य गर्न थालेका हौँ”, उहाँले भन्नुभयो । तेस्रो मुलुक तथा भारतबाट फर्केका व्यक्तिलाई समस्या परे परियोजनाले धनगढीको सुरक्षित आप्रवासनमार्फत टेलिफोन परामर्श दिनुका साथै चार जना मनोपरामर्शकर्तालाई आवश्यक पर्ने क्वारेन्टिनमा गएर सेवा दिने व्यवस्था गरेको छ । लकडाउनको बेला टेलिफोन सूचना र परामर्श दिँदा प्रभावकारी बन्ने परियोजनाको ठहर छ । परियोजनाले अहिलेसम्म कैलालीमा २१० जनालाई परामर्श दिइसकेको छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपालका ३९ जिल्लाका १५६ स्थानीय तहमा सञ्चालित छ । कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकासँगको साझेदारीमा स्थानीय सेवा प्रदायक संस्था ट्रेस नेपालले सञ्चालन गरिरहेको हुनाले समस्यामा परेका व्यक्तिलाई आवश्यक सहयोगका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टर तथा विदेशस्थित नेपाली राजदूतावासमार्फत पहल हुने गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?