logo
२०८० चैत्र १५ बिहीवार



बाढीले दुई पुल बगायो

प्रदेश |


बाढीले दुई पुल बगायो
बनेपा बजारमा आएको बाढी । तस्बिर: केशवराज पौडेल फेसबुक पेज


बनेपा, जेठ १६ गते ।  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा रहेको पुण्यमाता खोला र विहावर (रोशी) खोलामा रहेको दुईवटा पुल बाढीले बगाएको छ । पनौतीको त्रिवेणीघाट तथा ऐतिहासिक मन्दिर इन्द्रश्वरलगायत पनौती पुरानो बजार आवतजावत गर्ने तथा वडा नं ७ र ६ सङ्कटा जोड्ने पुल बगाएको छ । त्यस्तै वडा नं ७ र ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पक्की पुल अविरल वर्षाका कारण बगाएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बाढीले पनौती नगरपालिका वडामा बाढी आइ रोशीखोलामा रहेको दुई पक्की पुल बगाई पूर्णरूपमा क्षति भएको बताउनुभयो ।

पनौती वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पुण्यामाता र रोशीखोलामा बुधबार गएको बाढीले दुई पक्की पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको बताउनुभयो । “पनौती क्षेत्रमा यति ठूलो बाढी विसं २०१३ असोज १३ गतेपछि आएको ठूलो बाढी हो ।” कर्माचार्यले भन्नुभयो, “बाढीले सुकुम्वासी बस्तीभन्दा माथिको खोला छेउको टिपर गुड्ने बाटोसमेत क्षति पु¥याउनुका साथै एउटा निशान गाडी र एउटा स्कुटर बगाएको छ ।” यसैगरी सडक छेउमा पार्किङ गरी राखेको बा५ख ३६८९ नंको निशान ट्रक रोशी खोलामा आएको बाढीले करिब २०० मिटर तल बगाइ क्षति भएको प्रहरीले जनाएको छ ।

यसैबीच बुधबार परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ६ ज्यामिरेस्थित रोशीखोलामा दुवैतर्फबाट आएको बाढीका कारण फसेका पञ्च तामाङलाई प्रहरी चौकी भकुण्डेबेँसी र नेपाली सेना २६ नं बाहिनी अङ्डा भकुण्डेबेँसीबाट खटिएको संयुक्त टोलीले सकुसल उद्धार गरिएको छ भने रोशी गाउँपाालिका वडा नं ३ शिखर आम्बोटेका चमारसिं लामा र इन्द्रमाया लामा रोशीखोलामा दुबैतर्फबाट आएको बाढीको कारण बीचमा फसेको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले सकुसल उद्धार गरेका छन् ।

बाख्रा चोरी गरेको आरोपमा गाडीसहित दुई पक्राउ

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ का स्थानीय किसानको बाख्रा र बोका चोरीमा संलग्न दुई जनासहित दुई गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । रोशी गाउँपालिका–७ स्थित विवेक तामाङको बाख्राको खोरबाट तीन बोका र चार बाख्रा चोरी गरेको आरोपमा प्रहरीले रोशी गाउँपालिका वडा नं ९ का सजिन शाह ठकुरी र धुलिखेल नगरपालिका–२ रविओपीका डिलबहादुर तामाङलाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको अनुसन्धान टोलीले नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो ।

सो अवसरमा बाख्रा र बोका चोरीमा प्रयोग गरेको बा१६च ८८३० नंको बोलेरो र बा१४च ६८५७ नंको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुवै जनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?