logo
२०८० चैत्र १६ शुक्रवार



चिर्पट प्रहार गरी वृद्धको हत्या, छोरा पक्राउ

खुला |


चिर्पट प्रहार गरी वृद्धको हत्या, छोरा पक्राउ


जनार्जन खत्री
सर्लाही, जेठ १४ गते । सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने बसबरिया गाउँपालिकामा एक वृद्धको हत्या भएको छ ।

बसबरिया गाउँपालिका–५, धनगढाका ७० वर्षीय रामअधिन रायको बाँसको चिर्पट प्रहार गरी हत्या भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो । घर भन्दा एक-डेढ किलोमिटर पर बगैँचामा बनाइएको गोठमा सुत्नुभएका वृद्धको हत्या गरिएको अवस्थामा बुधबार बिहान शव फेला परेको हो ।

चिर्पट प्रहारबाट मृतकको टाउको र आँखामा गहिरो चोट लागेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभएको छ । वृद्धको हत्या गरेको आशङ्कामा उहाँकै कान्छो छोरा ४० वर्षीय विनोद रायलाई ईलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको छ ।

बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या राय यादवका अनुसार बुवाको हत्या आरोपमा पक्राउ परेका विनोदले धेरैजसो समय मदिरा सेवन गरेर हिँड्थे । जेठो छोरासँग बस्दै आउनुभएका रामअधिन र कान्छो छोरा विनोदबीच जग्गाको विषयमा विवाद हुँदैआएको स्थानीय बासिन्दाले बताएका छन् ।

बुधबार बिहानै रामअधिनको हत्या भएको सुनेपछि पूरै गाउँले घटनास्थलमा जम्मा भएपनि कान्छो छोरा विनोद आएनन् । पछि खोज्दै जाँदा उनलाई आफ्नै घरमा खाटमुनि लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको गाउँपालिका अध्यक्ष यादवले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?