logo
२०७७ जेष्ठ २१ बुधवार

छोरो विदेशमा, सासु-ससुरा र श्रीमान घरमा, म कोरोनाविरुद्ध कलम तिखारिरहेकी छु   

समाज |


2020-05-23-14919


चन्द्रकला भण्डारी    
भद्रपुर, जेठ १० गते । चैत ४ गते फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको खबरसँगै मुलुक अत्तालियो । सरकारले एकपछि अर्को निर्णय गर्दै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द ग¥यो । चैत ११ गते मङ्गलबार बिहान ६ बजेदेखि मुलुकभर लकडाउन शुरु भइहाल्यो । सञ्चारमाध्यमले त्रास थप्दै चीनको वुहानबाट शुरु कोभिड–१९ विषाणुले विश्वव्यापी महामारीको रुप लिइसकेको जानकारी दिन थाले ।    
 नेपालको सुदूरपूर्वी सीमावर्ती जिल्ला झापामा पत्रकारिता गरिरहेकी मैले कोरोना कहरका बेला घरमै बसेर आफूलाई मात्र सुरक्षित राख्नु उचित ठानिनँ । फिल्ड रिपोर्टिङमा हिँड्नैपर्ने मेरो दैनिकी लकडाउनको दुई महिना व्यतीत भइसक्दा पनि खुम्चिएन, बरु अझ विस्तारित भयो । सकेसम्म सङ्क्रमणको जोखिमबाट जोगिएर मैले यो विषम परिस्थितिमा आफूलाई कहीँ कतै कमजोर, डरपोक र दायित्वच्यूत बनाइनँ । मैले अझ बढी समाचार खोज्नुपर्ने र आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि कोभिड–१९ सँग लड्ने राष्ट्रिय अभियानमा फ्रन्टलाइनमै रहेर डटिरहने सङ्कल्प गरेँ ।

प्रदेश नं. १ को झापा जिल्ला पूर्वमा भारतको पश्चिम बङ्गाल र दक्षिणमा विहार प्रान्तसँग १४४ दशमलव २ किलोमिटर लामो खुला सीमाले जोडिएको छ । यहाँ १५ वटा स्थानीय तहका सरकार छन् भने जनसङ्ख्या ८ लाखभन्दा बढी छ । मैले काम गर्ने राष्ट्रिय समाचार समिति (रासस)को कार्यालय भद्रपुर नगरपालिकामा छ । भद्रपुर नगर भारतको पश्चिम बङ्गाल र विहार प्रान्तको सङ्गमस्थल गलगलिया सीमा नाकासँग जोडिएको छ । लकडाउन शुरु हुनुभन्दा दुई दिन अघि स्कुलको होस्टेलबाट आएको कान्छो छोरा मनसुनसँग म राससकै आवासगृहमा बस्छु । मेरा पति मोहन काजी आफ्ना बुबाआमासँग रासस कार्यालयबाट ११ किलोमिटर उत्तर मेचीनगर नगरपालिकामा बस्नुहुन्छ जुन भारतको प्रसिद्ध दार्जीलिङ जिल्लासँग सीमा जोडिएको काँकडभिट्टा नाकाबाट नजीकै पर्छ ।    
लकडाउनको एक दिन अघिको कुरा हो । नेपालको पूर्वी प्रवेशद्वार काँकडभिट्टा नाका बन्द गरिएका कारण २० हजारभन्दा बढी मानिस सीमामा अलपत्र थिए । त्यहाँको अवस्था बुझ्न जाने सोचका साथ बिहानको चिया पिउन शुरु गर्दै थिएँ । प्रदेशको राजधानी विराटनगरबाट फोन आयो । हेरेँ–प्रदेशकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको नम्बर रहेछ, रिसिभ गरेँ । उहाँले ‘मुख्यमन्त्री शेरधन राईसहित हामी काँकडभिट्टा नाकाको निरीक्षणमा केहीबेरपछि आउँदैछौँ, राससलाई निम्तो गरेँ है’ भन्नुभयो । म स्कुटीमा बसेर रासस कार्यालयबाट काँकडभिट्टा हुइँकिए । त्यहीँ दिन मुख्यमन्त्री राईले नाकाबाट प्रवेश गरेका सबैलाई क्वारेन्टाइनमा राख्न जिल्लास्थित प्रशासन, प्रहरी र स्थानीय तहका सरकारहरुलाई निर्देशन दिनुभयो । स्थलगत रिपोर्टिङका आधारमा समाचार पठाउँदासम्ममा घाम पश्चिम क्षितिजतिर ढल्किसकेको थियो । भात न पानी भइएछ । छोरा मनसुनलाई फोन गरेँ । ऊ पनि भोकै बसेछ ।  

लकडाउन शुरु भएपछिका हरेक दिन तनावमै तर कार्यक्षेत्रमै बिताएकी छु । सीमा सिल गर्ने सरकारको निर्णयपछि बाहुनडाँगीको तिरिङदेखि काँकडभिट्टा, ज्यामिरगढी, भद्रपुर, महेशपुर, कचनकबल, घेराबारी, टाघनडुब्बा र गौरीगञ्जसम्मको सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले स्थापना गरेको सुरक्षा चौकीहरूको अवलोकन गर्न गइयो । कचनकबल र झापा गाउँपालिका क्षेत्रको सीमामा भारतीय नागरिकहरूले नेपाल प्रवेश नपाउँदा सुरक्षा चौकीहरूमा आक्रमणको प्रयास गरे । ती घटनामा नेपाली सुरक्षाकर्मीहरूले हवाई फायर गरेका थिए । मैले सीमाका सबै घटनाका साक्षी रहेँ र स्थलगत रिपोर्टिङ गरेँ ।

नेपाल र भारतको वर्षौदेखिको खुला सीमामा पहिलोपल्ट आईकन्ट्याक्ट हुने गरी नेपाली सुरक्षाकर्मी पर्खालसरी तैनाथ भएको अवस्था नौलो थियो । पूर्वतर्फ मेची नदी सीमा भनिए पनि मेचीनगरको ज्यामिरगढी र भद्रपुरको महेशपुरमा मेची नदीपारि पनि ठूलो नेपाली भू–भाग छ । दक्षिणी क्षेत्रको नो मेन्स ल्याण्डमा मकै फलिरहेका थिए । फर्सीका मुन्टा दुवै देशको सीमा पार गरेर लहराइरहेका थिए । घेराबारीको पिण्डलबारी भन्ने गाउँमा घर नेपालतिर र आँगन भारततिर पनि छन् । यस्तो खुला परिवेशमा सीमा सिल गर्दै सुरक्षाकर्मीहरू तैनाथ हुँदा सीमावर्ती बासिन्दालाई ठूलै सकस प¥यो । झापामा सीमामा भारतीयहरूसँग भएका तीनवटा झडपका घटना मकैबाली भित्र्याउने विषयसँग जोडिएका थिए । आफूले रोपेका मकै भाँच्न आउनेलाई मिलाएर छाडिदिएको भए पनि हुन्थ्यो जस्तो लाग्यो । किनकि, सीमामा दुवै देशका सुरक्षाकर्मी कोरोनाविरुद्ध साझा युद्धको अवस्थामा तैनाथ भएका अवश्य हुन्, एक अर्काको देशविरुद्ध होइन ।

लकडाउनसँगै पत्रपत्रिका बन्द भए । पत्रकारहरू घरमै बसेर अनलाइन, रेडियो र टेलिभिजनमा काम गर्न थाले । यस्तो बेला स्थलगत रिपोर्टिङमा हिँड्ने पत्रकारहरूको अभाव भएको हुँदा आधिकारिक समाचारका लागि राससप्रति आम सञ्चारमाध्यमको निर्भरता बढेको थियो । राससमा समाचार आउनासाथ सयौँ अनलाइन, रेडियो र टिभीमा समाचार आउँथ्यो । मैले आफूलाई महिला हुँ भनेर कमजोर ठानिनँ । परिवारसँग घरमा समय बिताउनुभन्दा कर्म क्षेत्रमै रमाएँ । फिल्डमा खटिएपछि कार्यालयमै बसेँ । इन्जिनियरिङ पढ्न भारतको पञ्जावस्थित लभ्ली प्रोफेसनल युनिभर्सिटी (एलपीयु)मा गएको जेठो छोरो मौसम लकडाउनका कारण उतै डेरामा रोकिएको थियो । महामारीको अवस्थामा एउटा छोरो विदेशमा एक्लै हुनु र घरमा वृद्धावस्थाका सासू–ससुराको स्याहार समेत गर्न नभ्याउनुले मन भत्भती पोलिरहन्थ्यो । ‘म पत्रकार हुँ, विषम परिस्थितिमा सत्यतथ्य सूचना आम जनतामा पु¥याउन झन् बढी जिम्मेवार हुनुपर्छ’ भन्ने सम्झना आउनासाथ म सम्हालिन्थेँ । 

यी पङ्क्ति लेखिरहँदा जिल्लामा म बसेको वरपर कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या २७ पुगिसकेको छ । लकडाउन भइसकेपछि भारतबाट लुकीछिपी प्रवेश गर्नेहरूबाट कोरोना फैलिइरहेको छ । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा मात्र २५ जना सङ्क्रमित भेटिइसकेका छन् । उनीहरु एउटै नाकाबाट प्रवेश गरेका र एउटै क्वारेन्टाइनमा बसेका व्यक्तिहरू थिए । मैले उनीहरू बसेको क्वारेन्टाइनसहित जिल्लाभित्रका प्रमुख क्वारेन्टाइनहरू, अस्पताल र होल्डिङ सेन्टर निरीक्षण गरेकी छु तर, मसँग जोगिन सामान्य कपडा बुनेर बनाइएको मास्क र बजारमा पाइने स्यानिटाइजर मात्र थियो । कोभिड १९ विरुद्धको भीषण लडाइँमा फ्रन्टलाइनका योद्धाहरू स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू हुन् । उनीहरूलाई नै पर्याप्त मात्रामा एन–९५ मास्क र पीपीई छैन भने हामी सञ्चारकर्मीले ठूलो अपेक्षा गर्न सकिने अवस्था छैन ।

कसलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो, कुन क्वारेन्टाइनमा कति व्यक्ति राखिएका छन्, पीसीआर र आरडीटी टेस्ट कतिलाई गरियो, कन्ट्याक्ट ट्रेसिङ कसरी भइरहेको छ, राहत वितरण कति भयो जस्ता कोरोनासँग सम्बन्धित समाचारको खोजीमा अधिकांश समय बित्यो र बितिरहेको छ । तथापि, मैले लकडाउनका कारण प्रकृति, पशुपंक्षी, कृषि, उद्योग, व्यापार, असहाय, विपन्न आदिलाई परेको प्रत्यक्ष वा परोक्ष प्रभावका बारेमा समेत सोधीखोजी गरी समाचार लेखेँ । जसलाई मेरा सम्पादकहरू र आम पाठकले निकै रुचाइँदिँदा आनन्द अनुभूति हुन्थ्यो । यसबीचमा केही स्कूप न्यूज र आलेख पनि लेख्न भ्याएँ जसलाई अधिकाधिक सञ्चारमाध्यमले स्थान दिए ।

राससको कार्यालयमा आँप, लिच्ची, अमला, अम्बक आदिको बोटहरू छन् । एक दिन बिहान कार्यालय परिसरमा यति धेरै चराहरू चिरबिराए कि मैले कम्प्युटरबाट ध्यान हटाउनै प¥यो । बाहिर निस्केर हेरेँ – एउटा दुर्लभ चरो हुचिल पर्खालको चेपमा अड्किएछ । काग, मैनाचरी, भँगेरा, भ्याकुर, कोइली लगायतका दर्जनौँ चराहरू हुचिल देखेर कराउँदै रहेछन् । मैले तुरुन्त डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेलाई फोनबाट जानकारी गराएँ । वन कार्यालयबाट आएको टोलीले हुचिलको उद्धार गरेर लग्यो । वन कार्यालयमा जाँदा पो देखियो – त्यहाँ लकडाउनका बेला जङ्गल बाहिर निस्कँदा घाइते भएका अजिङ्गर, मृग र सालक पनि उद्धार गरेर ल्याइएका रहेछन् । मैले पशुपक्षीहरू प्रकृतिमा रमाएको देखेँ । प्रकृतिसँग जोडिएका केही समाचार शृङ्खलाबद्ध रुपमा लेखेँ । मानिस, यातायातका साधन र कलकारखाना ठप्प हुँदा पंक्षीहरू उन्मुक्त भई रमाएको र हात्ती पनि जङ्गलभित्रै लकडाउन पालना गर्दै बसेको समाचारले निकै चर्चा बटुलेको थियो । कोरोना सङ्क्रमणका समाचारको बाढी आइरहेको बेला फरक धारका यस्ता समाचार लेखेको भन्दै मलाई राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल), प्रधान सम्पादक श्याम रिमाल, हाल बेलायतमा रहनुभएको झापाका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेल लगायतबाट स्याबासी पाएँ । 

लकडाउनले भुइँकटहर, टमाटर र खरबुजा खेतीमा परेको असर बारेमा विस्तृत खोजमूलक समाचार राससमा छापिएपछि परेको सकारात्मक प्रभावले मलाई प्रोत्साहित गरिरहन्थ्यो । तीस हजार बोटमा पाकेका भुइँकटहर नबिकेर कुहिने अवस्था आएको राससको समाचार आम सञ्चार माध्यममा भाइरल भएको थियो । त्यो समाचार पढेर झापाको लखनपुरमा रहेको नेपाली सेनाको २१ नं. बाहिनीका बाहिनीपति डा. आशबहादुर तामाङ, सीमा सुरक्षा बल २ नं. गणका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम भण्डारीलगायतले मसँग फोनमा सम्पर्क गरी सुरक्षाकर्मीका लागि ठूलो मात्रामा भुइँकटहर खरिद गरेर लैजानु भयो । समाचारको प्रभावले भुइँकटहर सबै बिकेपछि कृषक मनोज कोइरीको मुहारमा खुशी छचल्कियो, त्यो देखेर म हर्षित भएँ । 

कोरोना, कृषि, सीमा र प्रकृतिसम्बन्धी समाचार नै लकडाउनका मेरा उत्पादन थिए । दक्षिणी सीमास्थित झापा गाउँपालिकाको वडा नं. १ मा विगत ७ वर्षदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले १२ जना नेपालीको २० बिघा जग्गा कब्जा गरेको समाचार मैले नै पहिलोपल्ट नेपाली मिडियाको जानकारीमा ल्याएको थिएँ । कोरोना सङ्क्रमणबाट जोगिनका लागि मेचीनगरका युवा सागर शिवाकोटीले स्थानीय सामग्रीबाट बनाइएको पीपीईको हेड शिल्ड र मेची अभियानले बनाएको डिस्इन्फेक्सन टनेलको समाचार पनि निकै उपयोगी साबित भए ।्

झापामा लकडाउन उल्लङ्घन र उपभोग्य वस्तुको कालोबजारीका घटना धेरै भए । राससमा गौरीगञ्ज बजारमा कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै खबरदारीसहित समाचार लेखिएपछि प्रशासनले कडाई ग¥यो भने बजार अनुगमनलाई तीव्र पा¥यो । म बजार अनुगमन समितिको सदस्य पनि होइन । तर राम्रो समाचार आउँछ भन्ने सोचेर समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले कैयौंपटक बजार अनुगमनमा मलाई पनि सामेल गराउनुभयो । गौरीगञ्जकै एक व्यापारीले किटनाशक औषधि मिसाएर राखेको गहुँको बीउलाई लकडाउनका बेला महङ्गोमा खाद्यान्नको रुपमा बेच्न धोइपखाली गरेर राखेको अवस्थामा अनुगमन टोलीले छापा मारेको थियो । त्यसबेला व्यापारीलाई घटनास्थलमै रु. १ लाख जरिवाना गरिएको थियो ।    
 लकडाउनमा खटाइएका प्रहरीको स्थिति बुझ्न जाँदा दाताले दिएको पानी र चाउचाउ डिउटीमा बसेका प्रहरीलाई जिल्लाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले बाँड्दै हिँडेको भेट्टाएँ, यी सबै वाध्यताका उपज थिए । सबै बजार बन्द भएका कारण डिउटीका प्रहरीले खाजा खाने होटल वा दोकान पाउने सम्भावना थिएन । त्यही चाउचाउ र बोतलको पानी पिएर उनीहरु डिउटी पूरा गर्दथे । सीमामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीका लागि बाँसका साना टहरा बनाइएका थिए । मेची नदीको सुनसान बगरमा दिनरात चिसो बन्दुक समातेका उनीहरुको अवस्था देख्दा मनमा दया जाग्थ्यो ।    

मेचीनगरको ईंटाभट्टास्थित आदर्श माध्यमिक विद्यालयमा नगरपालिकाले क्वारेन्टाइन बनायो । मुलुकभरकै अरु क्वारेन्टाइनभन्दा भिन्न यहाँ लागुऔषधका प्रयोगकर्ताहरुलाई बटुलेर राखिएको थियो । चौध दिनसम्म ६० जनालाई राखेर नगरपालिकाले कुलतबाट उनीहरुलाई छ्ुटाउन विज्ञहरुमार्फत प्रशिक्षण र योगशिक्षा प्रदान गरेको थियो । लकडाउन र बोर्डर सिल भएपछि काठमाडौँ, धरान, इटहरीदेखि लागुऔषधका प्रयोगकर्ता काँकडभिट्टा आउन थालेका थिए । मेची नदीमा नुहाउने बहानामा जाने र भारतबाट कारोबारीहरु पनि नुहाउने बहानामा खोलासम्म आउने गरेका थिए । नुहाउने निहुँमा पानी मुनि मुनि लागुऔषधको पोका आदानप्रदान गरेर भित्र्याउने गतिविधि थाहा पाएपछि धेरै जनाले पक्राउ खाए । डाक्टरको नक्कली कार्ड भिरेर काठमाडौँका दुई युवा कार चढेर लागुऔषधको खोजीमा काँकडभिट्टा आइपुगेका थिए भने भद्रपुरबाट अर्को प्रदेशका एक जना सांसद्को छोरा नै लागुऔषधका लागि बोर्डरसम्म आएको फेला प¥यो । कुलतमा फँसेका गाउँका युवाले लकडाउन अटेर गर्दै दिनदहाडै सडकमा तमासा देखाउन थालेपछि प्रहरीले स्थानीय सरकारको निर्देशनमा पक्राउ गर्दै क्वारेन्टाइनमा हाल्दै गर्न थाल्यो । कोरोनाबाट जोगाउन बनाइएको क्वारेन्टाइनमा लागुऔषधका दूव्र्यसनीलाई राखेर सुधार्ने प्रयास नौलो थियो । 

झापाका स्कूल, क्याम्पस, स्वास्थ्य चौकी, सामुदायिक भवनहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोगमा ल्याइएका छन् जसमध्ये चन्द्रगढीस्थित कलबलगुढी तालीम केन्द्रमा नेपाली सेनाले व्यवस्थापन गरेको क्वारेन्टाइन जिल्लामै नमूना रह्यो । यहाँ नेपाली सेनाले चारपटक खाना नास्ताको व्यवस्था गरेको थियो । क्वारेन्टाइन नियास्रो नहोस् भनेर भद्रपुर नगरपालिकाले इन्टरनेट र टेलिभिजनको समेत व्यवस्था गरेको थियो । हात धुन खुट्टाले छुनासाथ साबुन र पानी झर्ने स्वचालित व्यवस्था पनि नेपाली सेनाले गरेको थियो । 

लकडाउन लम्बिँदै जाँदा विपन्न समुदायका मजदूर परिवारको चुल्हो बाल्ने समस्या चर्को हुँदै गएको छ । स्थानीय सरकारले आफ्ना पालिकाहरुमा विपन्न समुदायको पहिचान गरेर चामल, दाल, नून र तेल बाँड्दै आएका छन् । विपन्न कसलाई मान्ने भन्ने अलमलका कारण राहत सामान हुँदाखानेले मात्र होइन, हुनेखानेले पनि लगेका छन् । पालिकाहरुसँग नागरिकको प्रोफाइल नहुँदा अहिले एक्कासी गरीब समुदायको वर्गीकरण गर्न सकस भएको हो । तैपनि झापामा कोही भोको बस्नु परेको छैन । तीन चरणमा राहत बाँडिएको छ । दाताहरुले स्वतःस्फूर्त सहयोग पु¥याउँदै आएका छन् । रेडक्रस, सहकारी संस्था र उद्योग वाणिज्य सङ्घहरु राहत सङ्कलन र वितरणका लागि पालिकाहरुको मुख्य सहयोगी अङ्ग बनेका छन् । सडकमा बस्दै आएका मानसिक सन्तुलन गुमाएका र अन्य असहायहरुलाई बिहान बेलुकै प्याकेटमा खाना लगेर खुवाउने व्यवस्था स्वयंसेवीहरुले मिलाएका छन् । प्रदेशकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको पहलमा थुप्रै सडक महिलालाई विराटनगरको आश्रममा आश्रय दिने काम पनि लकडाउनमै बेला भएको छ ।    

एक दर्जनभन्दा बढी ठूला लगानीका निजी अस्पताल सञ्चालनमा रहे पनि तिनीहरुले कोभिड १९ को उपचार गर्ने आँट देखाउन सकेनन् । मेची अञ्चल अस्पतालमा मात्र आइसोलेसन र भेन्टिलेटरको व्यवस्था छ । जिल्लाका कुनै पनि स्थानबाट कोरोना आशङ्का गरिएकाहरुलाई यस अस्पतालमा ल्याइने गरिएको छ । पीसीआर परीक्षणका लागि धरान वा विराटनगरमै स्वाबको नमूना पु¥याउनु पर्ने अवस्था विद्यमान छ । कचनकबल गाउँपालिकामा मात्रै २५ जना सङ्क्रमित भेटिएपछि झापामा एउटा कोभिड अस्पताल र पीसीआर टेस्ट गर्ने एउटा प्रयोगशाला निर्माण गर्ने निर्णय जिल्लाको कोरोना रोकथाम, अनुमगन तथा नियन्त्रण समन्वय समितिले गरेको छ । धेरै जनसङ्ख्या र सीमा जोडिएको क्षेत्र भएकाले यहाँ कोभिड अस्पताल, प्रयोगशाला र व्यवस्थित क्वारेन्टाइनको निर्माणमा धेरै पहिले ध्यान जानु पर्ने थियो भन्ने लाग्छ । भारतमा रेल यातायात खुलेपश्चात् झापाको सीमा क्षेत्रमा करीब दुई हजार नेपाली अहिले पनि अव्यस्थित क्वारेन्टाइन र खुला सडकमा रात बिताइरहेका छन् । तत्काल उद्धार नभए लुकीछिपी नेपाल आएर उनीहरुले कोरोना सङ्क्रमण फैलाउने त्रास छ ।    

जताततै सुरक्षाकर्मीको उपस्थिति, ठप्प यातायात र उच्च सतर्कताको अवस्थाले युद्धकै झल्को दिँदोरहेछ । प्रहरीको बन्दूकले जत्तिकै हाम्रो कलमले कोरोनाविरुद्धको लडाइँमा योगदान गरेको अनुभूत गरेकी छु । अन्यत्र जस्तै नेपालमा समेत कोभिड १९ को सङ्क्रमण दिन दुगुणा र रात चारगुणा बढिरहेको अवस्थामा भोलिका दिनहरु कस्ता हुनेछन् भन्ने चिन्ताले अरुलाई जस्तै मलाई पनि पिरोल्न थालिसकेको छ । कोरोनालाई कहिलेसम्ममा पराजित गर्न विश्व समुदाय सफल होला र लकडाउन खुल्ला ? यो व्यग्रता छ तर, मनोबल खस्कन दिएकी छुइनँ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?