logo
२०७७ जेष्ठ १६ शुक्रवार

लोपोन्मुख गिद्धको सङ्ख्या वृद्धि हुँदै

समाज |


2020-05-20-14752


 विमलबहादुर विष्ट

डोटी, जेठ ७ गते । कुनै बेला विरलै देखिने गिद्ध हिजो आज यहाँका जिल्लामा प्रशस्तै देखिन थालेका छन् ।

प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्ध संरक्षणको अभावमा सङ्कटमा परेका बेला जिल्लामा भने यसको सङ्ख्यामा निकै वृद्धि भएको बताइएको छ । केही वर्षअघि कहिलेकाहीँमात्रै देखापर्ने गिद्ध अहिले प्रशस्त मात्रामा देखिन थालेका छन् ।

जिल्लामा गिद्धको सङ्ख्या कति छ भनेर गणना नभएको भए पनि विगतमा विरलै देख्न पाइने गिद्ध अहिले ३०० देखि ६०० मिटरको उचाइमा जताततै देख्न पाइने गरेको डिभिजन भेटेनरी कार्यालयले जनाएको छ । मध्य पहाडी भागमा वासस्थान हुने सुन गिद्ध, घाँटी खुलेका र अन्य सानो प्रजातिका गिद्ध यहाँ पछिल्ला वर्षमा बढ्दै गएको पाइन्छ । विषाक्त औषधि सेवन गरेर मरेका सिनो खाने क्रम बढेसँगै जिल्लामा गिद्ध लोप हुँदै गएका थिए ।

खासगरी खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रभित्र हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय डोटीले जनाएको छ । पूर्वी तथा मध्य नेपालमा लोपोन्मुख अवस्थामा रहेको हिमाली गिद्धको सङ्ख्या डोटीमा भने पछिल्लो केही वर्षयतादेखि राम्रै रहेको स्थानीयवासी तथा पूर्व खप्तड राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत प्रकाशबहादुर शाहले बताउनुभयो ।

पर्याप्त आहारा, वासस्थान संरक्षण तथा पशुमा डाइक्लोफेनेक नामक औषधिको प्रयोग नगरिनुलगायत कारणले यहाँ हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ । जिल्लामा यसअघि गिद्धको बारेमा कुनै अध्ययन अनुसन्धान नभएको र अन्य गिद्धका प्रजाति तथा सङ्ख्याको बारेमा यकिन भन्न नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष भने गिद्धको सङ्ख्या अधिक देखिन थालेकाले निकुञ्ज तथा सम्बन्धित कार्यालयले अध्ययनका लागि योजना बनाउन आवश्यक रहेको छ ।”

पछिल्लो समय जिल्लामा गिद्धको संङ्ख्यामा वृद्धि भए संगै गाउँ घरमा फालिएको सिनो खाएर वातावरण सफा सुग्घर बनाउने गरेको खप्तड राष्ट्रिय निकुञ्ज सँगै जोडिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “लोपोन्मुख प्रजातिका गिद्ध आए पनि त्यसको संरक्षणबारे कुनै निकायबाट पहल शुरु भएको छैन, अब संरक्षणको पहल गर्न लाग्नुपर्छ ।” नेपालमा हाडफोर, सेतो, डंगर, सानोखैरो, हिमाली, खैरो, राज, सुन र लामोठुँडे गिद्ध गरी नौ प्रजातिका गिद्ध पाइने गरेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

डंगरगिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध र लामो ठुँडेगिद्ध अति सङ्कटापन्न अवस्थामा रहेका छन् भने सेतो गिद्ध र हिमाली गिद्ध पनि सङ्कटापन्न उन्मुख रहेको बताइएको छ । डाइक्लोफेनेक नामक औषधिको प्रयोगबाट मृत्यु भएका पशुको सिनो गिद्धले खाएपछि मिर्गौला फुटेर मर्नेलगायत प्रजनन क्षमतामा ह्रास आउने हुँदा गिद्ध लोप हुने अवस्थामा पुगेको निकुञ्जका कर्मचारी बताउँछन् ।

पछिल्लो समय देशका अधिकांश जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भइसकेपछि गिद्धको सङ्ख्यामा विस्तारै वृद्धि हुँदै गइरहेको उहाँहरुको अनुमान छ । यहाँका गिद्धले सिमलको रुख, सल्ला, साललगायत १३ प्रजातिका फरक फरक रूखमा गुँड बनाउने गरेको छ । गिद्ध विनाशको प्रमुख कारण डाइक्लोफिन्याक विषादी भएको सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालय दिपायल राजपुरका क्षेत्रीय निर्देशक यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “डाइक्लोफिन्याक खुवाइएका पशु चौपाया मरेपछि सिनोसँगै गिद्धले समेत सो विषादी खाएका हुन्छन्, विषादीका कारण गिद्धको मिर्गौलामा समस्या हुने भएपछि गिद्ध लोप हुँदै गएको हो ।”

नेपालमा गिद्ध संरक्षण गर्ने अभियान थालिए पनि सङ्घीयतासँगै स्थानीय सरकारले यसबारे चासो नबढाएका कारण गिद्धको सङ्ख्या घट्दै गएको स्थानीयवासीको बुझाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?