logo
२०८१ बैशाख ७ शुक्रवार



सामूहिक हत्याकाण्डको पीडा बिर्सदैनन् गाउँले

समाज |


सामूहिक हत्याकाण्डको पीडा बिर्सदैनन् गाउँले
फाइल तस्बिर


फिदिम, जेठ ७ गते ।  पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौ जनाको सामूहिक हत्याको एक वर्ष पूरा भएको छ । गत वर्ष जेठको ७ गते बिहान स्थानीयवासीले यहाँका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका नौ जनालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा फेला पारेका थिए ।

करिब १५ मिनेट पैदल दूरीमा घर रहेका फियाक र शेर्मा ससुरा–ज्वाइँ हुन् । घटना भएको एक वर्ष पूरा हुँदासमेत गाउँलेले यो घटनालाई निकै अन्योल र चासोका साथ हेरिरहेका छन् । आरुबोटेका स्थानीयवासी दैनिकजसो उक्त घटना सम्झने गर्दछन् । एकै जना व्यक्तिबाट उक्त घटना घटाइएको प्रहरी निष्कर्ष रहे पनि सोही कुरा गाउँलेमाझ प्रभावकारीरूपमा नपुग्दा कतिपयले शङ्काको दृष्टिले समेत हेर्ने गरेका छन् ।

यस्तो थियो घटना

विसं २०७६ जेठ ६ गते मध्यरात बमबहादुरका छिमेकी कान्छीमाया फियाकको ढोकामा ‘बोजु, बोजु।।।’ (हजुरआमा) भन्ने आवाज आयो । बमबहादुरकी नातिनी सीता खजुमको आवाज कान्छीमायाले थाहा पाइहालिन् । उनले घरको ढोका खोलिन् । सीता घरमा छिरेर विस्तारै ढोका लगाइन् । उनी रगतमा लत्पतिएकी र हातमा चोट लागेको अवस्थामा थिइन् । कान्छीमायाको घरमा त्यो दिन अर्की गाउँले दिदी पनि थिइन् । सीताले मखुण्डो लगाएका व्यक्तिले परिवारका अन्य सदस्यलाई खुकुरी प्रहार गरिरहेको सुनाइन् । कान्छीमायाले चोट लागेको सीताको हात कपडाले बाँधिदिइन् ।

अत्यासलाग्दो अवस्थामा उनीहरुले रात बिताए । गाउँमै रात बिताएकी अर्की छिमेकी सुनकान्छी फियाक बिहान घर आइन् । बमबहादुरको घरमा कोही नउठेपछि खोज्दै पुगिन् । बमबहादुरको घरको नजिकै कान्छीमाया र सुनकान्छीको घर छ । घरको सिकुवामा बमबहादुरको विभत्स हत्या भएको अवस्थामा शव भेटेपछि उनी अत्तालिइन् । घरमाथिको डाँडामा निस्किएर चिच्याइन् । गाउँहरु भेला भए । कान्छीमाया पनि गाउँलेको आवाज सुनेपछि घर बाहिर निस्किइन् ।

यो घटना गाउँ, जिल्ला हुँदै देशभर फैलियो । विभत्स र अमानवीय उक्त सामूहिक हत्याकाण्डले सबैको ध्यान तानेको थियो । गत वर्षको जेठ ६ गते राति भएको घटनामा ७४ वर्षीय बमबहादुर फियाकसहित उनकी पत्नी ७१ वर्षीया फुर्चीमाया फियाक, कान्छी छोरी २६ वर्षीया मनकुमारी फियाक र नातिनी (साइली छोरीकी छोरी) १० वर्षीया आशिका खजुमको हत्या भएको थियो । आशिकाकी दिदी सीता भागेर बाँच्न सफल भएकी थिइन् । सीता अहिले प्रदेश सरकारको संरक्षणमा सुनसरीमा बसेर पढ्दैछिन् । यस्तै बमबहादुरका ज्वाइँ ४१ वर्षीय धनराज शेर्माको घरमा उनीसहित उनकी पत्नी २६ वर्षीया जस्मिता फियाक (शेर्मा), उनीहरुका छोरी १२ वर्षीया युहाना शेर्मा र १० वर्षीया मुना शेर्मा तथा भतिजी आठ वर्षीया इच्छा शेर्माको हत्या भएको थियो ।

दोषीले गरेका थिए आत्महत्या

प्रहरीले घटनाको अनुसन्धान थाल्दै गर्दा बमबहादुरका कान्छा ज्वाइँ मिक्लाजुङ–८ लिम्बाका मानबहादुर माखिम घर नजिकैको जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परे । त्यसपछि उक्त हत्याकाण्डको सम्पूर्ण अनुसन्धान मानबहादुरमा केन्द्रित भयो । घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत यहाँ ल्याइयो । मानबहादुरको साथबाट फेला परेका खुकुरी, डोरी तथा लत्ताकपडा, उनको मोबाइलको नेटवर्कको लोकेसन र घटनापछि उनले गरेको फोन सम्पर्कका आधारमा मानबहादुरलाई प्रहरीले हत्यामा संलग्न एकमात्रै अभियुक्त ठह¥याएको छ ।

उक्त घटनाको फाइल अझै पनि बन्द भएको छैन । “सबै प्रमाणहरुले आत्महत्या गर्ने व्यक्ति नै दोषी हो भन्ने निष्कर्षमा प्रहरी पुगेको छ”, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भन्नुभयो । उक्त घटनापछि आरुबोटेमै प्रहरीको अस्थायी चौकी बसेको छ । “स्थानीयवासीको त्रास न्यूनीकरण गर्न प्रहरी राख्नैपर्ने भयो । घटनास्थलको नजिकै वडा कार्यालय र केही पर विद्यालय रहेकाले प्रहरी चौकी स्थापना गरिएको हो”, प्रनाउ न्यौपानेले भन्नुभयो ।

सधैँ सम्झन्छन् गाउँले

वडाध्यक्ष हस्तराज फियाकका अनुसार गाउँलेहरुले उक्त घटनाबारे दैनिक कुराकानी गरिरहेका हुन्छन् । “गाउँको केन्द्र भागजस्तो स्थानमा यो ह्दयविदारक घटना भयो । गाउँलेहरु धेरै समय त त्रासमै बसे । अहिले जनजीवन सामान्य भए पनि दैनिक कुराकानी गर्छन्”, वडाध्यक्ष फियाकले भन्नुभयो । “एक त यस्तो सोच्नै नसकिने घटना भयो । एकै व्यक्तिबाट नौ जनाको हत्या भयो । दोस्रो बमबहादुर र धनराजका परिवार आफैँमा अलग र गाउँलेको आँखामा नबिझाउने थिए । यसैले गाउँले सधैँ सम्झन्छन्” वडाध्यक्ष फियाकले थप्नुभयो । धनराजको घर वडा कार्यालय तथा आरुबोटे बजारकै छेउमा भएकाले पनि सबैले देख्ने र सम्झने गरेको स्थानीयवासीको भनाइ छ ।

अहिले गाउँमै प्रहरी बसेकाले गाउँलेहरु असुरक्षित महसुस भने गर्दैनन् । तर मानबहादुर एक्लैले सबैको हत्या गरे वा गरेनन् भन्ने कुरामा गाउँलेहरुबीच एकमत छैन । “धेरै कुरा आउँछन् । प्रहरीले आश्वस्त पार्न पनि सकेको छैन”, वडाध्यक्ष फियाकले भन्नुभयो । उक्त घटनाको फाइल बन्द नभएकाले घटनाबारे प्रहरीले सार्वजनिकरूपमा केही भन्न नसक्ने प्रनाउ न्यौपानेको भनाइ छ । “घटनाका थप प्रमाण प्राप्त हुन सक्छन्, यसैले सार्वजनिकरूपमा केही भन्न त सकिएन । तर हाम्रो निचोड भनेको त्यही झुण्डिएर मर्ने व्यक्तिले घटना घटाएको हो”, प्रनाउ न्यौपानेले भन्नुभयो, “थप केही कुरा आए सार्वजनिक गरिहाल्छौँ । त्रास नहोस् भनेरै प्रहरी चौकी स्थापना गरिएको हो ।”

रित्तै छन् दुवै घर

बमबहादुर फियाकका छोरा नभएकाले माइला ज्वाइँ धनराज शेर्मा वृद्ध सासुससुराको हेरचाह गर्न पुख्र्यौली थलो सराङडाँडाबाट ससुराली गाउँ आरुबोटे बसाइँ सरेर गएका थिए । हत्याकाण्डपछि दुवै घर रित्तै भएका छन् । घटनाको केही दिनसम्म घर सिल गरिएका थिए । पछि यहीँ आफन्तले काजकिरिया गरे । त्यसपछि दुवै घर रित्तै रहेको वडाध्यक्ष फियाकले बताउनुभयो । नजिकका आफन्तले पनि जग्गा–जमिन भोगचलन गरेका छैनन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?