logo
२०८१ बैशाख ४ मंगलवार



हास्यास्पद सोधपुछले हैरानी

ब्लफ कल, मिस कल, तथा जिस्कने ख्याल ठट्टा गर्ने गर्छन्

खुला |


हास्यास्पद सोधपुछले हैरानी


शान्ति लामा

काठमाडौँ, वैशाख २७ गते । ‘लकडाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनूस् न । ’ ‘कोरोनाबाट बच्न सेनिटाइजर नै किन लगाउनुपर्ने ? त्यसको सट्टा रक्सी खाए पनि हुँदैन ?’
टेकूस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोल फ्री नं. १११५ मा हिजोआज कर्मचारी यस्तै हास्यास्पद प्रश्न झेल्न बाध्य छन् । कोरोना भाइरस (कोभिड–१९) बारे परामर्श तथा जानकारी दिन सञ्चालन गरिएको निःशुल्क फोनमा यस्ता ठट्यौला फोन कलबाट कर्मचारी दिक्क छन् ।
बन्दाबन्दीको बेला पहिलेभन्दा फोन गर्नेको सङ्ख्या निकै बढेको भए पनि नचाहिँदो टेलिफोन कलले कर्मचारीलाई दुःख दिने गरेको महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले बताउनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत अच्युत रेग्मीले ब्लफ कल र मिस कलले कर्मचारी हैरान भएका छन् । साँच्चिकै आपत् परेर वा जानकारी र परामर्श आवश्यक भएर फोन गर्नेको सङ्ख्या न्यून छ भन्नुभयो ।
उहाँका अनुसार अधिकांश टेलिफोन कल गलत उद्देश्यले गर्ने गरिएको छ । टेलिफोनमा बोल्न नजान्ने बालबालिकालाई बोल्न लगाउने जस्ता काम नागरिकबाट भएको उहाँको भनाइ छ । उहाँले फोन गरेर साना बालबालिकालाई बोल्न दिइन्छ । त्यस्ता फोन कलको उद्देश्य के हो भन्ने नै थाहा हुँदैन । फोन गरेर चुपचाप बसेर होल्डमा राख्छन् । यस्ता कलले हाम्रो समयको बर्बादी मात्र हुन्छ भन्नुभयो । कतिपयले भने कर्मचारीलाई तनाव दिनसमेत फोन गर्ने गरेका छन् । अधिकृत रेग्मीका अनुसार किशोर तथा युवाले समूहमा बसेर हटलाइनमा फोन गरी महिला कर्मचारीलाई दुव्र्यवहार गरेका छन् । उहाँले हामीसँग टेलिफोन उठाउने महिला कर्मचारी पनि छन् । महिलाको स्वर सुनेपछि ‘केटी बोलिराछे सुन’ भन्दै समूहमा बसेर कुरा गर्ने पनि छन् भन्नुभयो । यस्ता नियतले फोन गर्नेको कोरोना सङ्क्रमणबारे भने कुनै जानकारी वा परामर्श लिन खोज्दैनन् ।
कोरोना भाइरस सङ्क्रमणबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयले ११३३ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले १११५ मा नागरिकलाई आपत्कालीन परामर्श तथा जानकारी प्रवाह गर्दै आएको छ । यी नम्बरमा नागरिकले निःशुल्क फोन गरी कोरोना भाइरसबारे जुनसुकै आधिकारिक जानकारी लिन सक्छन् । आपत्कालमा विषयगत सूचना प्रवाह गर्न सञ्चालन गरिएको टेलिफोन सेवाप्रति नागरिक भने संवेदनशील नभइदिएको अधिकृत रेग्मी गुनासो गर्नुहुन्छ । यहाँ कोरोना सम्बन्धीभन्दा धेरै अन्य विषयमा कुरा गर्न फोन आउने गरेको उहाँको भनाइ छ । ब्लफ कल, मिस कल, होल्डिङ कल तथा जिस्कने नियतले फोन नगर्न उहाँले आग्रह गर्नुभयो ।
कोरोनाका लक्षण के हुन् ? कसरी बच्ने ? जस्ता प्रश्न सोध्न भने कमैले फोन गर्ने गरेको कर्मचारी बताउँछन् । हाल कोरोना फैलिएका ठाउँका भन्दा अन्यत्रबाट बढी फोन आउने गरेको जनस्वास्थ्य अधिकृत रेग्मी बताउनुहुन्छ । बैतडी, काठमाडौँ, डडेलधुरा, रौतहटबाट अधिकांश फोन आएको उहाँले जानकारी दिनुभयो । महाशाखाले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म टोल फ्री नम्बर मार्फत सूचना र परामर्श प्रवाह गर्ने गरेको छ । सुरुसुरुका दिनमा दैनिक १० हजारभन्दा बढी फोन आउने गरे पनि अहिले दैनिक झण्डै एक हजार आठ सय वटा फोन आउने गरेका छन् । स्टाफ नर्स, हेल्थ असिस्टेन्ट जस्ता स्वास्थ्यकर्मीले सूचना तथा परामर्श दिन्छन् । स्वास्थ्य मन्त्रालयको टोल फ्री नं. ११३३ मा पनि अनावश्यक फोन धेरै आउने गरेका छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?