logo
२०८१ बैशाख १२ बुधवार



आधिकारिक सूचनाले बनाउँछ भयमुक्त

मुख्य समाचार |


आधिकारिक सूचनाले बनाउँछ भयमुक्त


शान्ति लामा

काठमाडौँ, वैशाख ५ गते । संसार नै यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासमा छ । नेपालमा पनि केही व्यक्तिमा सङ्क्रमण देखिएपछि यतिबेला देश बन्दाबन्दीमा छ ।
बन्दाबन्दीका कारण बाहिर हिँड्डुल गर्न नपाएका बेला रोग सङ्क्रमणको डर पनि मानिसको मनमा छ । मनोविज्ञान अध्येताका अनुसार हरेक मानिसमा डर हुनु स्वाभाविक हो, अझ असुरक्षाका बेला डर हुनु आवश्यक पनि हो ।
मनोविश्लेषक वासु आचार्य आगलागी भइरहेको बेला, बाघ आइरहेको बेला, हमला भइरहेको बेला डराउनुपर्छ । मानिसको मनमा डर हुनु आवश्यक छ किनभने डर भएपछि मात्र सुरक्षाको उपाय अपनाउन लागिन्छ भन्नुहुन्छ । डरको मात्रा बढ्न थाल्यो र डरले नै व्यक्तिको दिनचर्या प्रभावित पार्न थालेको अवस्था भने राम्रो होइन ।
उहाँका अनुसार डर स्थायी हुन थाल्यो र सहनै नसक्ने भएमा मनोरोग भएको आभाष हुन थाल्छ । विशेष गरी महामारी जस्ता भौतिक, शारीरिक असुरक्षाको स्थितिमा मानिसको मनमा भएको डर व्यवस्थापन गर्नु जरुरी हुन्छ ।
मनमा रोग लाग्ला भन्ने डर भइहाल्ने, केही छोइहालेमा रोग लागिहाल्यो कि ? भन्ने पीर भइरहने, शरीरमा सानो बिसञ्चो भए पनि सङ्क्रमणको आशङ्काले चिन्ता सिर्जना गर्ने जस्ता लक्षण बेलैमा चिनेर व्यवस्थापन गर्नु जरुरी रहेको मनोविश्लेषक आचार्यको सुझाव छ ।
रोगको महामारीको बेला हुने यस्ता डर र चिन्ता हटाउन व्यक्ति स्वयंले प्रयास गर्नुपर्ने उहाँको सुझाव छ । रोग लाग्ने डरले हुने चिन्ता र बेचैनीबाट बच्न सबैभन्दा ठूलो उपाय सुरक्षाको उचित व्यवस्था रहेको आचार्यको भनाइ छ । उहाँले रोग लाग्नबाट बच्न सुरक्षा सावधानी अपनाइएको अवस्थामा मनको डर कम हुन्छ भनेर स्पष्ट पार्नुभयो । कोरोना भाइरस र यसको डरबाट बच्न साबुन पानीले पटकपटक हात धुने, घरका सरसामान सफा राख्ने, मास्क, पञ्जा जस्ता सुरक्षा सामग्री प्रयोग गर्नुपर्छ । कोरोना रोग बारेको आधिकारिक स्रोतबाट आएका सूचना तथा विश्वसनीय सञ्चार माध्यमका समाचार मात्र पछ्याउन विज्ञ सुझाउँछन् । उनीहरूका अनुसार अफवाहबाट बच्न सकेमा पनि धेरै हदसम्म मनको डर र चिन्ताबाट टाढा रहन सकिन्छ ।
हतोत्साही हुने, चिन्ता लाग्ने, चिड्चिडाहट हुने जस्ता समस्या हटाउन परिवारका सदस्यसँग निकट रूपमा सञ्चार गर्नु पनि आवश्यक रहेको मनोविश्लेषक आचार्य बताउनुहुन्छ । परिवारमा एकापसमा खुसी हुने र खुसी राख्ने प्रयास गर्दा सकारात्मक वातावरण सिर्जना हुने उहाँको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीको बेला हुन सक्ने मनोसामाजिक स्वास्थ्यका लागि ध्यान दिनुपर्ने कुराको सूची तयार पारेको छ । जसमा भय र चिन्ता उत्पन्न गराउने खालका कोरोना भाइरस सम्बन्धी समाचार सुन्न, हेर्न र पढ्न कम गर्न सुझाव दिइएको छ । दिनको कुनै निश्चित समयमा मात्र सूचना लिने बानी बसाल्नु उपयोगी हुने सुझाव दिइएको छ ।
नेपालको सन्दर्भमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रकार सम्मेलन, मन्त्रालयको आधिकारिक फेसबुक पेजबाट प्रसारित प्रकाशित सूचना आधिकारिक मान्न सकिन्छ । त्यस्तै डब्लूएचओको वेबसाइटका सूचनालाई पनि पछ्याउन सकिन्छ । अफवाह र गलत सूचनाबाट बच्नु रोगबाट बच्नु जत्तिकै महìवपूर्ण रहेको कुरा डब्लूएचओको सूचनाले पनि जनाउँछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?