logo
२०८० चैत्र १६ शुक्रवार



‘रसुवालाई कोरोनाको डर छैन’

समाज |


‘रसुवालाई कोरोनाको डर छैन’


ज्ञानेन्द्र न्यौपाने

रसुवा, चैत १५ गते । चीनसँग सिमाना जोडिएको जिल्ला भए पनि हालसम्म रसुवामा कोरोना भाइरसको आशङ्का कहीँ कतै भएको छैन । सामान्य परीक्षणका लागि जिल्ला अस्पताल आउनेको सङ्ख्या पनि फाटफुट मात्र रहेको अस्पतालले जनाएको छ ।
जिल्लामा करीब ४३ हजार जनसङ्ख्या छ । जिल्ला अस्पताल धुञ्चेमा तीन, हेल्थ डेस्क रसुवागढीमा एक र ग्रामीण अस्पताल जिबजिबेमा पाँच चिकित्सक कार्यरत छन् ।
रसुवा अस्पताल धुञ्चेका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलका अनुसार जाडोको याम घट्दै गएपछि उपचारमा आउनेको सङ्ख्या कम भएको हो । हाल जिल्लामा नौ जना एमबिबिएस चित्सिक कार्यरत छन् । तीमध्ये रसुवा अस्पतालमा तीन, हेल्थ डेस्क रसुवागढीमा एक र ग्रामीण अस्पताल जिबजिबेमा पाँच जना रहेकाले बिरामीको चाप जति बढे पनि उपचारमा कुनै कमी नआउने डा खरेलले जानकारी दिनुभयो ।
रसुवाका प्रजिअ अर्जुन भण्डारीले गत माघ १५ देखि चीनसँगको उत्तरी रसुवागढी नाकाबाट केरूङतर्फको आवतजावतमा पूर्ण रोक लगाई बेलैमा सावधानी अपनाएका कारण जिल्लाको स्वास्थ्य क्षेत्र सुरक्षित हुँदै आएको चिकित्सक बताउँछन् ।
यस्तै दक्षिणी रसुवाको जिबजिबेमा सञ्चालित ग्रामीण अस्पतालमा पनि गर्मीयामको शुरूआतसँगै उपचारार्थ आउने बिरामीको सङ्ख्या घट्दै गएको अस्पतालका मेडिकल अधिकृत डा पंकज लुइँटेलले जानकारी दिनुभयो ।
ग्रामीण अस्पतालमा दैनिक २५ देखि ३० सामान्य बिरामी आउने गरे पनि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेलगत्तै अस्पताल आउने त्यस्ता बिरामीको सङ्ख्या घट्दै गएको डा लुइँटेलले बताउनुभयो ।
हालसम्म कोरोना भाइरसको आशंका नभेटिएको र यदि त्यस्तो किसिमको समस्या आइहाले हाल उपभोग गर्दै आएका विभिन्न औषधिबाटै उपचार गरी सबै बिरामीलाई स्वस्थ्य पार्न आफूहरू तयार रहेको कार्यरत चिकित्सक हरूले जनाएका छन् ।
सरकारको निर्देशन र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय पालना गर्दै चिकित्सकद्वारा तोकिएको क्षेत्रमा २४ सै घण्टा सेवा दिइरहेका कारण स्वास्थ्यप्रति रसुवाली नागरिकको मनोबल उच्च रहेको समाजसेवीले बताएका छन् ।
विद्यालय बन्द भएपछि राजधानीमा अध्ययनरत विद्यार्थी र विदेशमा गएका मानिससमेत आफ्नो पुख्र्याैली घरमा फर्किसकेका कारण उनीहरूको शारीरिक अवस्था कस्तो छ र के कस्तो होला भन्ने चिन्ता थपिएको पश्चिमी रसुवा डाडागाउँका बासिन्दा बताउँछन् ।
उत्तरगया गाउँपालिका वडा नं २ का वडा सचिव आशाकाजी गुरूङले भने बाहिरबाट आएका सबै मानिसको पहिचान भइरहेको र हालसम्म कुनै पनि शंकास्पद नभेटिएको बताउनुभयो ।
सरकारले दिएको निर्देशन जिल्ला विपद् व्यवस्थापन समितिले तदारूकताका साथ कार्यान्वयन गरी जिल्लाका विभिन्न भागमा आइसोलेशन एवं क्वारेन्टाइन स्थापना र चिकित्सकसमेतको जनशक्ति तयार गरिसकिएका कारण रसुवामा आत्तिनुपर्ने कुनै अवस्था नभएको रसुवा नागरिक समाजले जनाएको छ ।
रोग नियन्त्रणका लागि सरकारले दिएको आदेश र चिकित्सकले दिएको सुझाव पूर्ण रूपमा पालना गर्नुपर्ने हामी सबैको साझा दायित्व भएकाले विश्वमै भयावह रूप लिइरहेको कोरोना भाइरसबाट बच्न र बचाउने कार्यमा रसुवाका नागरिकले नियम निर्देशन पूर्ण रूपमा पालना गरिरहेको समेत रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?