logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना रोक्न सुदूरपश्चिममा सचेतना बढ्दै

समाज |


कोरोना रोक्न सुदूरपश्चिममा सचेतना बढ्दै


प्रकाशविक्रम शाह/ गोकर्ण दयाल/ डिलबहादुर सिंह

धनगढी, चैत १० गते । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरको सदरमुकाम धनगढी र महेन्द्रनगरमा कोरोना भाइरसको उपचार गर्नका लागि ७ सय ५० बेड तयार गरेको छ।

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका अनुसार ती बेड आवश्यक्ता अनुसार क्वारेन्टाइन र उपचारका लागि प्रयोग गरिने छ ।  सरकारी र निजी अस्पतालका साथसाथै, खेलमैदान, विभिन्न नसिङ तथा प्राविधिक शिक्षालय र खुला क्षेत्रमा गरेर ७५० वटा वेड तयार गरिएको छ । यस्तै गरेर पहाडका सात जिल्लामा थप ५/५ बेड तयारी अवस्थामा रहेको पनि उहाँले बताउनुभयो ।

सोमबार मात्रै धनगढीमा रहेको जिल्ला खेलकूद समितिको मैदानमा ४० जना अटाउने गरेर २० वटा अस्थायी टेन्ट गाडिएको छ । यस्तै गरेर ठूलो क्षेत्रमा रहेको जिल्ला समन्वय समितिको कर्मचारी आवास क्षेत्रमा प्रिफ्यावको घर बनाउन तयारी शुरु भएको छ ।
यसैवीच धनगढीको शैलेश्वरी फारवेस्ट स्कुल अफ हेल्थ साइन्स टेक्नोलोजीले कोरोनाको क्वारेन्टाइन वा उपचारका लागि आफ्नो भवन उपयोग गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरेको छ ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा शैलेश्वरी फारवेस्टका सञ्चालक झपट रावलले मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीललाई टेलिफोन गरेर सो भवन उपयोग गर्न आग्रह गर्नुभएको हो । धनगढी उपहमानगरपालिका‐१ स्थित त्रिवेणीचोकमा रहेको सो भवनमा रहेका नौ वटा ठूलाठूला कोठालाई उपयोग गर्न सकिने अर्का सञ्चाल सूर्य श्रेष्ठले बताउनुभयो । एउटा कोठामा २० जनासम्म अटाउन सक्छन उनले भने हामीसंग पर्याप्त खानेपानी र शौचालय पनि छन् । 

यसैवीच गोदावरी नगरपालिकाकाले अत्तरिया क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका व्यवसाय वन्द गर्ने आग्रह गरेको छ । आइतबार नगरप्रमुख हरीसिंह साउदको पहलमा स्थानीय सरोकारवाला सहितको बैठकले सो निर्णय गरेको हो । चारैदिशाबाट अत्तरिया हुँदै आफ्नो गन्तव्यमा जानु पर्ने भएकोले गोदावरी नगरपालिकाले गम्भीरता देखाएको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो ।

यसैबेला नेपाल सरकारले आइतबारदेखि भारतको सीमानाका बन्द गरेको भए पनि सोमबार विहान सरकारको आदेशबाट धनगढीस्थित त्रिनगरनाकाबाट दुई हजार एक सय नेपालीलाई नेपाल आउन दिएको त्रिनगर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक महादेव भट्टले बताउनुभयो ।

कैलालीमा अनिश्चितकालका लागि निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय कैलालीले नोभेल कोरोना (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सोमबार एक सूचना जारी गरेर अत्यावश्यक सेवा बाहेक सबै सार्वजनिक स्थल, बजार, उद्योग, कलकार खाना बन्द गर्न आग्रह गर्दै निशेधाज्ञा जारी गरेको हो । सूचनामा सबै प्रकारका भेला, सभा, सम्मेलन, गोष्ठी, सेमीनार, भिडभाड गर्ने कार्यक्रम नगर्न, नगराउन अनुरोध गर्नु भएको छ ।

सूचनामा आदेश पालना नभएमा कानून वमोजिम कार्वाही हुने पनि उल्लेख छ । कैलाली उद्योग वाणिज्य संघले आव्हान गरेको बन्दका कारण कैलालीका अत्यवाश्यक पसल बाहेकका सबै बजार सोमबार बिहानदेखि नै बन्द थिए । कोरोना फैलिन नदिन संघले बन्द गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार अत्यावश्यक सवारी साधन मात्र चल्न पाउने छन् भने एक्लाएक्लै नागरिकहरुले दाल, चामल किन्न र स्वास्थ्य सेवा लिन जान पाउने छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने आइतबार मध्यरातिदेखि नै कञ्चनपुरमा स्वास्थ्य उपचार बाहेकको काममा घर बाहिर निस्किन नपाउने गरी निशेधाज्ञा जारी गरेको छ । कञ्चनपुरमा अत्यावश्यक सेवा बाहेक सबै सार्वजनिक स्थल, बजार, कलकार खाना सबै बन्द छन् ।
नेपाल सरकारले सबै नाकाहरु वन्द गरेपछि भारतबाट घर फर्किरहेका नेपालीहरु धनगढीको त्रिनगर नाका र भीमदत्त नगरको गड्डाचौकी नाकामा हजारौं नेपालीहरु सीमानाका खुल्ने प्रतिक्षामा बसिरहेका छन् ।

बैतडीमा भारतीय नाकामा अलपत्र परेका ३३ जनाको उद्धार

भारतीय सीमामा अपलपत्र परेका ३३ जना नेपालीको पञ्चेश्वर गाउँपालिकाले उद्धार गरेको छ । आईतबार बेलुकी उद्धार गरिएकाहरुको स्वास्थ्य परीक्षण गर्दा तीन जनामा ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको निगरानीमा पञ्चेश्वर –४ चौडाली स्थित कैलपाल आधारभूत विद्यालयको क्वारेन्टाईनमा राखिएको छ ।

कोरोना चेकजाँच गर्न स्वास्थ्य कार्यालय बैतडीले पञ्चेश्वर गाउँपालिकालाई ज्वरो नाप्न थर्मल मिटर र स्वास्थ्यकर्मीको पूरै जिउ ढाकिने अत्याधुनिक ड्रेस उपलब्ध गराएको छ । कोरोना सङ्क्रमण भित्रिन नदिन पञ्चेश्वर गाउँपालिका र शिवनाथ गााउँपालिककाले नेपाल–भारत आवतजावत हुने महाकाली नदीमा डुङ्गा चल्ने सात वटा घाट अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

घाट बन्द भएको जानकारी नपाएर शुक्रबार भारतका विभिन्न सहरबाट आएका ३३ जना पञ्चेश्वर गाउँपालिकाको रोल घाटमा अपत्र परेको र भारतीय सुरक्षाकर्मीले भारततिर समेत जान नदिएपछि ३३ जनाको उद्धार गर्न दुई घण्टाका लागि घाट खोलेर उद्धार गरिएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

भोक र प्यासले महाकाली नदी किनारमा अपलपत्र परेका ३१ पुरुष र दुई महिला गरि ३३ जनाको उद्धार गरेर नेपालतर्फ ल्याएर खाना खुवाइएको पञ्चेश्वर गाउँपालिकाले जानकारी दिएको छ ।
३३ जना मध्ये पञ्चेश्वर गाउँपालिका–४ चौडालीका तीन जना (समाचारमा नाम उल्लेख गर्न नसकिने भएकोले) औजी थरका पुरुषमा ज्वरो आएकोले उनीहरुलाई गाउँ नजिकैको विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष वीना भट्टले जानकारी दिनुभयो ।

उद्धार गरिएका ३३ जना मध्ये शिवनाथ गाउँपालिका शमालीमा छ जना र बाँकी पञ्चेश्वर गाउँपालिका १ र ४ नम्बर वडाका स्थानीय रहेको पञ्चेश्वर गाउँपालिकाले जानकारी दिएको छ ।उद्धार गरेर क्वारेन्टाईनमा राखिएका तीन जनालाई सिटामोल दिएपछि ज्वरो सामान्य भएको पञ्चेश्वर स्वास्थ्य चौकीका ईन्चार्ज सुरेश सार्कीले बताउनुभयो ।

स्वास्थ्यचौकी ईन्चार्ज सार्कीले भन्नुभयो, “तीन जनामा हिजो ज्वरो थियो । सिटामोल दिएपछि उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ तर, उहाँहरुलाई भोली मंगलबारसम्म क्वारेन्टाईनकमै राखिने छ । ज्वरो बाहेक उहाँहरुमा अन्य कुनै सङ्केत देखिएको छैन । ”
यसैबीच सोमबारदेखि नेपाल–भारत आवतजावत गर्ने सीमानाका झुलाघाटको पुल पूर्ण रुपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको अगुवाईमा बैतडी जिल्लामा मुख्य बजारहरुमा अत्यावश्यक खाद्यान्न बाहेकका पसल बन्द गर्न लगाईएको छ ।
बजारमा फाट्टफुट्ट मोटरसाईकल बाहेकका लामो तथा छाटो दूरीमा सवारी साधन चलेको छ्रैनन् । कोरोनाको सङ्क्रमण भित्रिन नदिन बैतडीमा उच्च सतर्कता अपनाईको बैतडीका प्रमुख जिल्ला अघिकारी अनन्द पौडेलले जानकारी दिनुभयो ।

कोरोनाको संक्रमण रोकथाम र उपचारका लागि कोष स्थापना

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण रोकथाम तथा उपचार प्रक्रियालाइ प्रभावकारी बनाउन डोटीको सायल गाउँपालिका र बोगटान गाउँपालिकाले उपचार तथा राहत कोषको स्थापना गरेका छन् । बिपत ब्यवस्थापन कोष अन्तरगत डोटीको सायल गाउँपालिकाले ३० लाख र बोगटान गाउँपालिकाले ५० लाख रुपियाँको राहत तथा उपचार कोष स्थापना गरेका हु्न् ।

सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलका अनुसार कोष अन्तरगतको रकम जनचेतनामुलक कृयाकलापहरु, उपचार र तथा रोकथामका बिषयमा परिचालन गरिने छ । अध्यक्ष डुम्रेलले भन्नुभयो, – ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र उपचार प्रक्रियालाई प्रभावकारी बनाउन बिपत ब्यवस्थापन अन्तरगत कोष अन्तरगत रकम परिचालन गर्ने निर्णय गरिएको हो ।’

सायल गाउँपालिकाले भारतबाट फर्किएका व्यक्ति र उनीहरुका परिवारका निगरानी र स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मी सहित घरदैलो अभियान सञ्चालन गरिने र गाउँपालिका प्रबेश गर्ने नाकाहरुमा हेल्थ डेस्क स्थापना गर्ने, गाउँपालिका क्षेत्र भित्रका बिद्यालय तथा सार्वजनिक भवनहरुलाई क्वारेन्टाइनका रुपमा तयार गरिने निर्णय गरेको छ । 

बोगटान गाउँपालिका अध्यक्ष कमल गडसिलका अनुसार गाउँपालिकाले स्थानीय मष्टेश्वर माध्यमिक विद्यालय गगुडा, खत्याडी माध्यामिक विद्यालय, भगवतेश्वर मेल्टामा र सिमचौर माध्यमिक विद्यालयमाहरुमा क्वारेन्टाइन तयार गर्ने, गाउँपालिकाको केन्द्र खत्याडीमा हेलिप्याड निर्माण गर्ने, भारत तथा जिल्ला बाहिरबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गर्ने, अत्यावश्यक कामबाहेक स्वास्थ्यकर्मीलाई विदा नदिने लगायतका निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?