logo
२०८१ बैशाख ७ शुक्रवार



पोखरामा आन्तरिक पर्यटक घटे

समाज |
फिचर |
पढ्नै पर्ने |


पोखरामा आन्तरिक पर्यटक घटे


रमेश पौडेल

पोखरा, चैत ७ गते । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पोखरामा ठूलो त्रास फैलिएको छ । सहर पूरै सुनसानप्रायः भएको छ । नेपालकै सबैभन्दा धेरै आन्तरिक पर्यटन भित्रने सहर पोखरामा कोरोनाको कारण आन्तरिक पर्यटक घटेका छन् ।

पोखरा पर्यटकीय सहर भएको कारण धेरै मुलुकका पर्यटकहरु पोखरामा घुम्न आउने हुँदा रोगको संक्रमण बढी देखिने भन्दै पर्यटकीयस्थलमात्र नभै तालछेउका किनार पनि सुनसान छन् । होटलहरुमा पाहुना छैनन् । कर्मचारीलाई धमाधम बिदा दिने क्रम जारी छ । विद्यालय तथा कलेज बन्द भएपछि पोखरा बस्नेहरु गाउँतर्फ जाने क्रम पनि बढेको छ ।

पोखरा–१४ स्थित रोयल पाम रिसोर्ट पनि कोरोनाकै कारण एक महिनाका लागि बन्द भयो । रिसोर्टले पछिल्लो समय ६ वटा ठूला कार्यक्रम स्थगित गरिसकेको थियो । ‘भइरहेका कार्यक्रमहरु धमाधम बन्द भए । पर्यटक आउन शून्य भयो,’ रोयल पामका म्यानेजर राज श्रेष्ठले भन्नुभयोे, ‘न पाहुना छन् न कर्मचारीले गर्ने अरु काम छ । रिसोर्टले धान्न नसक्ने भएपछि कर्मचारीलाई बिदामा पठाएर रिसोर्ट बन्द गराएका छौं ।’

कोरोना प्रभावले रिसोर्ट नै ठप्प भएपछि रोयल पाम व्यवस्थापनले एक महिनाका लागि कर्मचारीलाई बिदा दिएर पठाइ रिसोर्ट बन्द गरिएको जनाएको छ । यसअघि अर्कै समूहले चलाइरहेको रिसोर्ट ४ वर्ष अघिमात्र रोयल पामको समूहले खरिद गरेको थियो । यो रिसोर्टमा ३५ जना कामदार छन् ।

पोखरामा हाल सानादेखि तारेहोटलसम्म गरी पर्यटकीयस्तरका ७ सय वटा होटल संचालित छन् । पश्चिमाञ्चल होटल व्यवसायी संघमा मात्रै ४ सय होटल दर्ता भएका छन् । पोखराको पर्यटन क्षेत्रमा हाल ४ खर्बको लगानी छ । ३० हजार बेड छन् भने होटल व्यवसाय मात्रै १७ हजार कर्मचारी कार्यरत रहेकोमा उनीहरुको भविष्य अब कोरोनाकै कारण संकटमा परेको छ ।

पश्चिमाञ्चल होटल व्यवसायी संघ अध्यक्ष विकल तुलाचनले कोरोनाको प्रभावले पोखराको पर्यटन व्यवसाय पूरै धरायशी भएको बताउँनु भयो । चिनियाँ पर्यटक लक्षित होटलहरु पूरै बन्द भइसकेका छन् भने अन्य होटल पनि धमाधम बन्द हुँदै गएका छन् । होटलको लगानी पूरै ऋणमा हुन्छ ।

होटल नै ‘लक डाउन’ गरेर आइसोलेसनमा बस्नुपर्ने अवस्था आउन थालेकोमा पर्यटन व्यवसायी चिन्नित बनेका छन् । सरकारले सेनिटाइजर र तापक्रम मापन गर्न भनेपनि समान नपाइएको पर्यटन व्यवसायी सोम थापाले बताउनु भयो । संघ अध्यक्ष तुलाचनका अनुसार सरकारले क्षतिको सम्बोधन नगरे १५ प्रतिशत होटल सधँैका लागि बन्द हुने अवस्था छ। ‘अहिलेको क्षति रिकभरी हुन वर्ष दिन लाग्छ । मानिस हत्तपत्त घुम्न निस्किँदैनन्। अहिलै सटर तान्नुपर्ने व्यापारीलाई महिनौंसम्म बन्द हुँदा कुन हालत होला? सरकारले सम्बोधन गरेन भने व्यवसायीलाई उठाउन समस्या छ,’ तुलाचनले भन्नु भयो ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार गत फेब्रुअरीमा १२ हजार ४ सय ९१ विदेशी पर्यटकले पोखरा भ्रमण गरेका छन् । तीमध्ये भारतबाट मात्रै ६ हजार २ सय ७२ र तेश्रो मुलुकबाट ६ हजार २ सय १९ छन्। यो महिना चीनबाट आउने पर्यटक निकैै कम भएको नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख काशीराज भण्डारीले वताउनु भयो ।

यहाँका पर्यटकलक्षित अल्ट्रालाइट, प्याराग्लाइडिङ, बञ्जीजम्म, जीप फ्लायर चल्न छाडिसकेका छन् । पर्यटक जान छोडेपछि अन्नपूर्ण पदमार्ग क्षेत्रका होटलहरू विस्तारै बन्द हुने अवस्थामा रहेको टान पोखरा उपाध्यक्ष धर्म अधिकारीले बतानु भयो ।  पोखराको पर्यटन क्षेत्रमात्र नभै सहर नै पूरै सुनसान हुन थालेको छ । खाद्यान्न पसल र सूपरमार्केटमा भने सामान किन्ने ग्राहकको घुइँचो नै देखिन्छ। कोरोनाको प्रभावले निम्त्याउन सक्ने असहज परिस्थितिको आँकलनमा धेरैले अहिले नै महिनौसम्मको लागि खाद्य सामानको जोहो गर्न थालेका छन्। ४० हजारभन्दा बढी सानाठूला व्यवसायी रहेको पोखरामा दैनिक उपभोग्य वस्तुमा मात्रै ग्राहकको भीड छ । व्यवसायीहरूले अहिले स्वास्थ्यलाई ख्याल गरेर क्षतिबाट जोगिने उपाय अवलम्बन गर्न सुझाएका छन्।

यसैबीच, कोरोनाको संक्रमणका कारण पोखरा आएका पर्यटक भिसा अवधि बढाएर पोखरामै बसाइँ लम्बाउन बाध्य भएका छन् । नेपालबाट सिधा हवाइ उडान रोकिँदा भारतको कलकत्ता, कतार, हङकङ भइ आफ्नो देशमा जान सम्बन्धित देशले उडान रोकेका कारण पोखरामै बसाइँ अवधि लम्बाएका हुन् ।

सिंगापुरबाट नेपाल घुम्न आएका सिरिल थोमस बेसाञ्जर ३० दिनअघि पाखरा आएका थिए । पोखरा सहित लुम्बिनी, काठमाडौंका विभिन्न ठाउँ घुमिसकेको र अब फर्किनु बेलामा कोरोना संक्रमणले स्वदेश फर्किन नपाएकोले अन्नपूर्ण पदयात्रा गर्ने सोचमा साथ बसाइँ लम्बाएको बताउनु भयो । उहाँले सोको लागि पोखरास्थित अद्यागमन कार्यालयमा भिसा थपका लागि आएको बताउनु भयो ।

उता, अष्ट्रेलियन एक नागरिकले पनि कोरोनाको कारण देखाउँदै पोखरामै म्याद थप गरी बसेको बताउनु भयो । ३० दिनको भिसा लिएर आएका उनी भारत हुँदै नेपाल प्रवेश गरेका थिए । उनी लुम्बिनी, पाल्पा, पोखरा, मुस्ताङसम्मको यात्रा गरिसकेका छन् । थप केही दिनको लागि पोखरामै बस्ने बताउनु भयो ।

यस्तै, पोखरा घुम्न आएका चिनियाँ पर्यटक पिङ कोन पिन पनि बसाइँ लम्बाउँदै एबीसी ट्रेकमा जाने तयारीमा छन् । उनले अद्यागमन कार्यालयमा भीसा समेत थप गरेका छन् ।  उनीहरुसँगै पोखरा घुम्न आएका पर्यटकले अद्यागमन कार्यालयमा धमाधम भीसा थप्न थालेको कार्यालयका प्रमुख चेतराज आचार्यले बतानु भयो । उहाँका अनुसार तेस्रो मुलुकबाट आउने पर्यटकबाट ३/४ दिनयता धमाधम भीसा थप भएको छ ।

गत वर्षको माघ र फागुन महिनामा कुल १ हजार ६६ जनाले भीसा थपेर बसाइँ लम्बाएका थिए । तर, चालु आवको माघ र फागुनमा ९ सय ९४ जनाले भीसा थप गरेका छन् । गत वर्ष २०७५/७६ मा ७ हजार ४ सय ६४ जनाले भीसा थप गरेकोमा चालु आवको फागुन मसान्तसम्म कुल ४ हजार ५५ जनाले भीसा थपेका छन् । 

चीनबाट फैलिएको कोरोना विश्वका अधिकांश मुलुकमा प्रवेश गरिसक्दा नेपाल भने हालसम्म सुरक्षित रहेको सरकारी अधिकारीले दाबी गरेका छन् । जसका कारण तेस्रो मुलुकबाट पोखरा घुम्न आएका पर्यटकले यहाँ सुरक्षित ठानी बसाइँ लम्बाउने गरेका जनाएका छन् ।  तर कोरोना संक्रमणको प्रभावकै कारण पोखराको पर्यटन व्यवसाय भने नराम्ररी खस्किएको नाट्टा गण्डकी अध्यक्ष संजयकान्त सिग्देलले वताउनु भयो । आगामी ६ महिनासम्मका बुकिङ भने रद्ध भैसकेका छन् । उहाँले भन्नुभयो, नेपाल बसेका पर्यटकले मात्र भीसा अवधि थप गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?