logo
२०८० चैत्र १५ बिहीवार



इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा

अन्तर्राष्ट्रिय |


इजरायलमा नेतन्याहू युगको अन्त्य, विपक्षी नेता गान्जलाई सरकार बनाउन निमन्त्रणा
तस्विर–रोयटर्स, इजरायलका विपक्षी दल ब्लू एन्ड ह्वाइट पार्टीका नेता बेन्नी गान्ज


जेरुसेलम, चैत्त ३ गते । इजरायलका राष्ट्रपतिले आइतबार पूर्व सैन्य प्रमुख बेन्नी गान्जलाई सरकार गठन गर्न निमन्त्रणा दिनु भएको छ । कोरोनाभाइरसको महामारीले इजरायल पनि प्रताडित हुनैलाग्दा एक वर्षदेखि इजरायलमा जारी राजनीतिक गतिरोधको अन्त्य गर्न गान्जलाई एक मौका दिएको बताइएको छ ।
इजरायली राष्ट्रपति रिउभेन रिभलिनको घोषणाले दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई निकै ठूलो चोट पुगेको छ । इजरायली इतिहासमै सबैभन्दा लामो अवधि प्रधानमन्त्री बन्ने सौभाग्य पाउनु भएका नेतन्याहूको सत्ताबाट बहिर्गमन यसरी होला भन्ने अनुमान गरिएको थिएन । गान्जले आइतबार १२० सिटको इजरायली संसद नेसेटमा ६१ सांसदको सहमति प्राप्त गर्नु भएको थियो । एक वर्षभित्रै तेस्रो पटक गत मार्च २ मा भएको संसदको आमनिर्वाचनले पनि कुनै दललाई स्पष्ट बहुमत दिएको थिएन । “सोमबार राष्ट्रपति रिउभेनले बेन्नी गान्जलाई सरकार गठन गर्ने जिम्मा दिनु हुनेछ,” रिभलिनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तर गान्जलाई समर्थन जनाउने पक्षहरुले त्यसलाई निरन्तरता दिइहाल्ने कुनै सुनिश्चित भने छैन । सरकारले स्थायित्व प्राप्त नगरेको अवस्थामा राष्ट्रपति रिभलिनले गान्ज र नेतन्याहू दुबै सम्मिलित एकताको अन्तरिम सरकार गठन गर्ने सम्भावना पनि छ ।
राष्ट्रपति रिभलिनले गान्ज र नेतन्याहू दुबैलाई आइतबार साँझ एक “जरुरी विचारविमर्श” का लागि आमन्त्रण गर्नु भएको थियो तर त्यो बिना कुनै सम्झौता टुङ्गिएको थियो । नेतन्याहूको लिकुड पार्टी र गान्जको ब्लू एन्ड ह्वाइट पार्टीले जारी गरेको संयुक्त विज्ञप्तिमा दुबै पार्टीबीच सोमबार पुनः वार्ता गर्ने उल्लेख छ ।
राष्ट्रपतिले “लिकुड र ब्लू एन्ड ह्वाइट पार्टीबीच सीधा सम्पर्क बढाउन” जोड दिएको पनि राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?