logo
२०८१ बैशाख ६ बिहीवार



युवालाई सिप विकास सम्बन्धी तालिम दिदैँ स्थानीय तह

समाज |


युवालाई सिप विकास सम्बन्धी तालिम दिदैँ स्थानीय तह


प्रकाशचन्द्र भट्टराई

दमौली, फागुन १४ गते । तनहुँका विभिन्न स्थानीय तहले युवालाई सिप विकास सम्बन्धी तालिम दिएका छन् । स्थानीय तहले युवालाई सवारी चालक, प्लम्बिङ, हाउस वयरिङ, सिलाई कटाई, गुडीया बनाउने, प्लम्बर, हेयर कटिङ, चप्पल बनाउने, हाते कडाई, चुरा पोते बनाउने, मोबाइल रिपेयरिङ, इलेक्ट्रिसियन, व्यूटिसियन र सामुदायिक पशुपालन, बेमौसमी तरकारी खेती लगायतका तालिम दिएका छन् ।

शुक्लागण्डकी नगरपालिकाले वडा नम्बर ८ मा २० जना युवालाई प्लम्बरको तालिम चलाएको छ । सो नगरपालिकाले कान्तिपुर बहु प्राविधिक शिक्षालयसँगको सहकार्यमा प्लम्बरसंगै ४० जना महिलाकोलागि सिलाई कटाई र २०/२० जनाले बेमौसमी तरकारी र च्याउ खेती सम्बन्धी तालिम दिएको छ ।

त्यसैगरि ऋषिङ गाउँपालिकाले युवालाई चालु आर्थिक वर्षमा एक सय जना युवालाई हलुका सवारी चालक सम्बन्धी तालिम दिएको छ । तालिम पाएकाहरु सवारी चालक अनुमती पत्र लिने पक्रियामा छन् । त्यसैगरि सो गाउँपालिकाको वडा नम्बर ५ मा १२ जना महिला र पुरुषलाई मुढा बनाउने तालिम दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा नै युवाकोलागि प्लम्बर, हेयर कटिङ, चप्पल बनाउने, हाते कडाई, चुरा पोते बनाउने जस्ता सिपमूलक तालिम दिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनु भयो । युवालाई रोगजारीकोलागि दक्ष जनशक्ती बनाउने उद्देश्यले तालिम दिईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

त्यसैगरि भिमाद नगरपालिकाले २५/२५ जना युवालाई इलेक्ट्रीसियन र प्लम्बर तालिम दिन आवदेन खुलाएको छ । प्रमुख प्रशासकिय अधिकृत थमनसिंह थापाले बेरोजगार युवालाई सिप सिकाएर दक्ष बनाउन तालिम दिन लागिएको बताउनुभयो । बजारमा सिप बिनाका बेरोजगार युवाहरुको भिड बढ्दै जान थालेपछि नगरपालिकाले युवालाई सिप सिकाउने तालिम दिन लागेको उहाँले बताउनुभयो ।

व्यास नगरपालिकाले पनि प्लाष्टिकको झोला मुक्त नगर घोषणा गर्दै केही महिलालाई कागज र कपडाको झोला बनाउने तालिम समेत दिएको वातावरण शाखाका कर्मचारी भाग्यशाली ढुंगानाले बताउनुभयो । त्यसैगरि म्याग्दे गाउँपालिकाले एक सय जना युवालाई १० महिने मेसन तालिम दिने योजना बनाईएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । सो गाउँपालिकाले गत बर्ष मोबाईल रिपेयरिङ, इलेक्ट्रिसियन, व्यूटिसियन, सिलाईकटाई र सामुदायिक पशुपालन तालिम दिईसकेको प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताउनुभयो ।

त्यस बाहेक जिल्लाका अन्य स्थानीय तहले पनि युवालाई सिप विकास सम्बन्धी तालिम दिएको छ । देवघाट गाउँपालिले अर्गानिक तरकारी उत्पादन गर्ने, बाख्रा पालन तथा च्याउ खेती सम्बन्धी तालिम दिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?