logo
२०८१ बैशाख ६ बिहीवार



सिरहाका दुई स्थानीय तहको अनुदान बजेट रोक्का

समाज |


सिरहाका दुई स्थानीय तहको अनुदान बजेट रोक्का


सन्तोष सुवेदी

सिरहा, फागुन १ गते । गत आर्थिक वर्षको खर्च विवरण नदिएका कारण सिरहाका दुई स्थानीय तहको चालु आर्थिक वर्षको अनुदान बजेट निकासा रोक्का भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका अनुसार, चालु आर्थिक वर्षको अनुदान बजेट निकासा रोक्का हुनेमा कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका रहेका छन् । ती दुई स्थानीय तहले गत असारमा भएको नगरसभा तथा गाउँसभाको स्वीकृत बजेट कोलेनिकामा नबुझाएकोले उनीहरुले चालु आर्थिक वर्षको अनुदान बजेट अहिलेसम्म लग्न पाएका छैनन् ।

‘चालु आर्थिक वर्षको लागि स्वीकृत बजेट हामीकहाँ पेस गर्ने बित्तिकै हामीले स्थानीय तहलाई प्रथम किस्तावापतको अनुदान बजेट रकम निकासा गर्ने गरेका छौ’, सिरहाका कोलेनिका प्रमुख राधेश्याम गिरिले भन्नुभयो–उनीहरुले अहिलेसम्म प्रथम किस्तावापतको रकम पनि लैजान सकेका छैनन् ।

नगरसभा र गाउँसभाबाट स्वीकृत बजेट पेस गरेपछि कोलेनिकाले स्थानीय तहलाई प्रथम किस्तावापतको अनुदान बजेट रकम साउनको पहिलो हप्तामै निकासा गर्ने गरेको छ । निकासा गरिएको रकमको खर्चको विवरण पेस गरेका स्थानीय तहहरुले मङ्सिरको पहिलो हप्ता र चैतको पहिलो हप्तामा क्रमशः दोश्रो किस्ता र तेश्रो किस्तावापतको अनुदान रकम पाउनेछन् ।

चालु आर्थिक वर्षका लागि कर्जन्हा नगरपालिकाका लागि सामानीकरण अनुदान र सशर्त अनुदान गरी २३ करोड ३४ लाख ४७ हजार तथा अर्नमा गाउँपालिकाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी २१ करोड सात लाख १५ हजारको बजेट केन्द्रबाट वित्तीय हस्तान्तरण भई कोलेनिका सिरहामा अड्किएको छ ।

स्थानीय तहले केन्द्रबाट पाउने अनुदानहरुमा समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान रहने गरेका छन् । सिरहाका १५ स्थानीय तहले अहिलेसम्म पहिलो किस्तावापतको अनुदान पाइसकेका छन् भने चार स्थानीय तहले दोश्रो किस्तावापतको अनुदान रकम पाएका छन् ।

दोश्रो किस्तावापतको अनुदान रकम मङ्सिरको पहिलो सातामा लगिसक्नुपर्नेमा लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सखुवाननकारकट्टी गाउँपालिका र विष्णुपुर गाउँपालिकाबाहेक प्रथम किस्ता अनुदान रकम पाउने अन्य स्थानीय तहहरुले खर्चको विवरण कोलेनिकामा पठाउनै सकेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?