logo
२०७७ जेष्ठ १५ बिहीवार

स्थानीय उत्पादन खान नजान्दा कुपोषण

स्वास्थ्य |
मुख्य समाचार |


2020-02-13-8602


शान्ति लामा

डडेलधुरा, फागुन १ गते । किशोर उमेरमै पहिलो पटक आमा बनेकी रेवती सार्कीको पहिलो सन्तान तीन वर्षका भए । नौ महिनाअघि दोस्रो पटक उहाँले एकै पटक एक छोरा र एक छोरीलाई जन्म दिनुभयो ।
स्वस्थ जन्मिएका जुम्ल्याहामध्ये अहिले छोरीलाई कुपोषण भयो । छोरा भने स्वस्थ र निरोगी छन् । कुपोषण भई तौल कम भएकी पाँच किलोग्रामकी छोरीसहित सार्की यति बेला पोषण पुनस्र्थापना केन्द्रमा हुनुहुन्छ ।
छोरी कसरी कुपोषित भइन् भन्ने कुरा यी २२ वर्षीया आमालाई थाहा छैन । कुपोषण पुनस्र्थापना केन्द्रमा पोषण र हेरचाह पाएपछि उहाँकी छोरीको तौल विस्तारै बढिरहेको केन्द्रका अनमी पार्वती ओझाले बताउनुभयो ।
डोटी जिल्लाको गैराकी २१ वर्षीया डम्बरी ओली दोस्रो पटक आमा बनेको ११ महिना भयो । उहाँको पहिलो छोरी चार वर्षकी भइन् । दोस्रो छोरी भने कुपोषणका कारण कम तौलकी छन् । “खोप लगाउन जाँदा छोरीको तौल कम भएको थाहा पाएँ”, एक वर्ष पुग्नै लाग्दा पनि जम्मा छ किलोकी छोरी लिएर पोषण पुनस्र्थापना केन्द्र आउनुभएकी ओलीले भन्नुभयो ।
खेतीपाती गर्ने ओलीको परिवारमा खानेकुराको अभाव छैन । घरमै अन्न, गेडागुडी, हरिया सागपातलगायत पोसिला वस्तु खुवाउन सकिन्छ । “बच्चाले खाँदैन भनेर खानेकुरा खुवाइएन । आफ्नै घरको खानेकुरा पनि मिलाएर खुवाए हुने रहेछ”, ओलीले भन्नुभयो, “यहाँबाट बच्चालाई खानेकुरा बनाउन सिकेको छु । अब घरमै खुवाउँछु । ” शिशुलाई जन्मेको छ महिनापछि पोसिलो अन्न खुवाए कुपोषणबाट बचाउन सकिने रहेछ भन्ने कुरा कुपोषण पुनस्र्थापना केन्द्र आएर थाहा पाएको उहाँले बताउनुभयो ।
बैतडी, अनारखोलीकी राजेश्वरी चन्दले सुत्केरी अवस्थामा रक्तअल्पता भएपछि नवजात छोरीलाई पर्याप्त दूध चुसाउन पाउनुभएन । पछि पोसिलो खाद्यपदार्थ पनि खान नमानेपछि उहाँको छोरीको तौल बढेन । डेढ वर्षकी छोरीको जम्मा साढे छ किलो तौल भएपछि उहाँ अहिले पुनस्र्थापना केन्द्रमा हुनुहुन्छ । पुनस्र्थापना केन्द्रमा १८ दिन राखेपछि अहिले उहाँको छोरीको तौल आठ किलो पुगेको छ ।
डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई वर्षदेखि पोषण पुनस्र्थापना केन्द्र सञ्चालन भएको छ । कुपोषण भएका बालबालिकालाई आवासीय सुविधासहित पोषण पुनस्र्थापना गरिन्छ । यहाँ आउने अधिकांश बालबालिकाका अभिभावकलाई पोषणको ज्ञानको कमीका कारण सन्तानलाई कुपोषण हुने गरेको अनमी ओझाको अनुभव छ ।
“खान नपाएरभन्दा खान नजानेर कुपोषण भएको देखिन्छ । बालबालिकालाई घरमै भएको अन्नपात र फलफूल पनि खुवाउन जानेको देखिएन”, उहाँले भन्नुभयो, “साना र ठूलाले खाने खाना एउटै हुँदा पनि कुपोषण भएको पाउँछौँ । ” धेरैजसो किसान, मजदुर, गरिब तथा दलित परिवारका बालबालिका कुपोषणको समस्या लिएर केन्द्र आउने गरेको अनमी ओझाले बताउनुभयो ।
केन्द्रमा डडेल्धुरा, बैतडी, डोटी र अछामबाट बालबालिका कुपोषणको समस्या लिएर आउने गरेको केन्द्रकी कार्यक्रम व्यवस्थापक पूजा चन्दले बताउनुभयो । केन्द्रले १४ वर्षमुनिका बालबालिकालाई पोषण पुनस्र्थापनाका लागि राख्ने गरेको छ । उमेरअनुसार तौल नपुगेका बालबालिकालाई सामान्य तौल नपुग्दासम्म पोषण दिई घर पठाइन्छ । आमालाई पनि केन्द्रमै राखी बालबालिकालाई पोसिलो र सन्तुलित खानेकुरा बनाउने तरिका सिकाएर पठाइन्छ । आमालाई सरसफाइ तथा स्वास्थ्य शिक्षा दिएर पठाउँदा भविष्यमा घरमै पोषण पूर्ति हुने गरेको चन्दको भनाइ छ । केन्द्रमा बालबालिकालाई राखी पोषण दिएपछि आमाको समेत स्वास्थ्यमा सुधार देखिएको उहाँले बताउनुभयो ।
केन्द्रले वार्षिक सय जना बालबालिकालाई कुपोषणको उपचार गर्ने गरेको चन्दले जानकारी दिनुभयो । नेपाल युथ फाउन्डेसन, रुडुक र डडेल्धुरा उपक्षेत्रीय अस्पतालले संयुक्त रूपमा पोषण पुनस्र्थापना केन्द्र सञ्चालन गरिरहेको छ । अबको तीन वर्षपछि पूर्ण रूपमा अस्पतालले स्वामित्व लिने छ । नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा १० प्रतिशत बालबालिकालाई कुपोषण छ । विश्व स्वास्थ्य सङ्गठनले १० देखि १४ प्रतिशत बा(लबालिकामा कडा खालको कुपोषण भएको अवस्थालाई नाजुक मानेको भन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?