logo
२०८१ बैशाख ७ शुक्रवार

...गोरखापत्र स्थलगत अनुगमन अछाम...



छाउगोठ भत्काउने अभियानमा सफलता

मुख्य समाचार |


छाउगोठ भत्काउने अभियानमा सफलता


शान्ति लामा

अछाम, माघ १७ गते । सरकारले छाउगोठ भत्काउने अभियान थालेसँगै यतिबेला देशकै ध्यान सुदूरपश्चिमले तानेको छ । यतिबेला धमाधम छाउगोठहरू भत्काइँदैछ । जनप्रतिनिधिको अगुवाइमा स्थानीय प्रशासनसहितको समन्वयमा छाउगोठ भत्काउने अभियान निरन्तर चलिरहेको छ ।
अछाम सदरमुकाम मङ्गलसेनको आडैमा विरालतोली गाउँ छ । टमटा, ढोली, साउदलगायतको बसोबास रहेको यो गाउँका छाउगोठहरू गएको साता नै भत्काइसकिएको छ । वडाध्यक्ष पदमबहादुर भाटसहित गोरखापत्र समाचारदाता विरालतोलीका धामी तुला ढोलीको घर पुग्दा उहाँ आँगनमा घाम ताप्दै हुनुहुन्थ्यो । आँगनछेउमै भर्खरै भत्काइएको छाउगोठको भग्नावशेष देख्न सकिन्थ्यो ।
भत्काइएको छाउगोठबारे प्रतिक्रिया लिन खोज्दा उहाँ एकाएक काम्न थाल्नुभयो । काम्दै आफूले छाउगोठको ढुङ्गा छोएका कारण देवता चढेको कुरा फलाक्नुभयो । तुरुन्तै उहाँका परिवारले केही अक्षता ल्याइदिए ।
‘‘हामी हजुरलाई अपमान गर्दैनौँ । हामी महिलाहरूको स्वास्थ्य र ज्यानको सुरक्षा मात्र गर्न चाहन्छौँ,’’ भनी वडाध्यक्ष भाटले आश्वस्त पारेपछि मन्त्र फलाक्दै वडाध्यक्षलाई सिन्दुरको टीका लगाइदिनुभयो । अनि बल्ल ८० वर्षीय ढोली शान्त हुनुभयो । ढोलीका छोरा हरि नेपालीका अनुसार छाउगोठ भत्काएदेखि दैनिक उहाँ यसरी काम्नुहुन्छ । ‘‘हामीले सरकारको नियम नमान्ने भन्या हैनौँ तर मेरो परिवारलाई केही भए कसले जिम्मा
लिन्छ ?’’ २८ वर्षीय नेपालीले वडाध्यक्ष भाटलाई प्रश्न गर्नुभयो, ‘‘मेरा ८० वर्षका बुबाको ज्यान गए को जिम्मेवार हुन्छ ?’’
छाउ भत्काउने सरकारको अभियानमा आफ्नो समर्थन रहेपछि धामी काम्ने बुबालाई दुःख भएको हेर्न नसक्ने हरिको परिवार बत(ाउँछन् । यही डरबीच पनि उहाँले आफ्नी श्रीमती महिनावारी हुँदा बस्नका लागि भने घरभित्रै एउटा कोठा खाली गर्नुभएको छ ।

धामी झाँक्रीकै डर
वडाध्यक्ष भाटका अनुसार, महिनावारीका बेला महिलालाई छाउगोठमा राख्ने चलनले निरन्तरता पाउनुुमा धामीझाँक्रीमा जनमानसको विश्वास एक महìवपूर्ण कारण रहँदै आएको छ । महिनावारी हुँदा छोइछिटो भए देउता रिसाई अनिष्ट हुने अन्धविश्वासका कारण महिलालाई मूल घरबाहिर छुट्टै राख्ने चलन चलेको उहाँको भनाइ छ । अझ छाउगोठ भत्काउँदा धामीझाँक्रीको परिवारका सदस्यलाई अनिष्ट हुने विश्वास अछामबासीमा व्याप्त छ । उहाँको अनुभवमा छाउगोठविरुद्धको अभियानमा सबैभन्दा ठूलो चुनौती नै धामी झाँक्रीमाथिको जनमानसको विश्वास रहेको छ ।
‘‘यहाँका मानिस धामीझाँक्रीमा असाध्यै विश्वास गर्छन् । धामीहरूले केही नराम्रो भए छाउलाई दोष दिने भएकाले महिला पनि सशङ्कित हुन्छन् ।’’ धामीझाँक्रीले देउताको डर देखाएकै कारण महिला छाउगोठ बाहिर आउने आँट गर्न मुस्किल भएको जनप्रतिनिधि बताउँछन् । धामीझाँक्रीलाई सम्झाइबुझाई गरी उनीहरूकै सहयोगमा छाउगोठ भत्काउने काम भएको र आगामी दिनमा उनीहरूका लागि छुट्टै सचेतनाका कार्यक्रम ल्याइने जानकारी जनप्रतिनिधिले जानकारी दिनुभएको छ ।

छाउपडी शब्दमा नै हीनता
मङ्गलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय ‘छाउपडी’ शब्द नै परिवर्तन गर्नुपर्ने तर्क गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘यो शब्द नै कुरीतिको प्रतिबिम्ब जस्तो भयो । यसको सट्टा महिनावारी व्यवस्थापन भन्ने शब्द प्रयोग गर्नुपर्छ ।’’ हिन्दु संस्कृतिमा महिनावारी हुने बेला महिलाले छोइछिटो गर्ने चलन जताततै छ, मात्र अन्यत्र महिनावारीका लागि छुट्टै घर बनाइँदैन । अछाममा छाउपडी नभई असुरक्षित खालका छाउघरहरू मुख्य समस्या रहेको उहाँको भनाइ छ । नगरपालिकाले महिनावारी व्यवस्थापनकै नाममा सचेतनामूलक कार्यक्रमसमेत बनाइएको जानकारी उपप्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
मङ्गलसेन नगरप्रमुख पदमबहादुर बोहराको भनाइमा स्थानीय भाषामा घरको तल्लो तलालाई ‘गोठ’ भन्ने चलन छ । छाउका बेला महिला छाउगोठको छिँडीमा बस्ने भएकाले यो घरलाई ‘छाउगोठ’ भनेर प्रचार गरिएको उहाँको गुनासो छ ।

‘छाउगोठ भनिएकाले गाईवस्तु बाँध्ने वस्तुजस्तै प्रचार गरिएको उहाँको गुनासो छ ।
अहिले सरकारले छाउगोठ भत्काउने अभियानलाई स्थानीय सरकारले कुनै पनि हालतमा सफल बनाएर छाड्ने उहाँको प्रतिबद्धता छ । यहाँ जनप्रतिनिधिको अगुवाइमा भइरहेको छाउगोठ भत्काउने अभियानलाई समुदायले सहयोग गरेको प्रमुख बोहराले बताउनुभयो ।
खुसी भए महिला
महिनावारी हुँदा महिलाले सफासुग्घर भई पोषिलो खाना खानुपर्ने स्वास्थ्यकर्मीको सल्लाह छ । यस्तो बेला यहाँका महिलाले भने न सुकिला घरमा बस्न पाएका छन्, न त दूध, दहीजस्ता पोषिला वस्तु खान नै पाएका छन् ।
अझ साँघुरा छाउगोठमा बस्दा सर्पले डस्ने, कठ्याङ्ग्रिने र निसासिएर महिलाको ज्यान नै गइरहेको छ । यस्तो नियतिबाट छुटकारा पाउने आशाले यतिबेला २१ वर्षीय कमला टमटा खुसी हुनुहुन्छ । ‘छाउगोठमा सर्प, जनावरको डर हुन्छ । सरकारले भत्काएपछि अब घरभित्रै बस्न पाउने भयौँ,’ खुसी हुँदै उहाँले भन्नुभयो ।
अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले पुस्तौँदेखि महिनावारी हुँदा असुरक्षित छाउगोठमा बस्दै आएका महिलाको अपार समर्थन पाएको बताउनुभयो । गत मङ्सिर १५ गते साँफेबगर–३ की पार्वती रावतको छाउगोठमै ज्यान गएपछि सङ्घ सरकारले समेत चासो दियो । पुस ८ गते गृह मन्त्रालयले छाउगोठ नष्ट गर्न निर्देशनसहित जिल्लामा परिपत्र गरेको थियो । सोहीअनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको संयन्त्रले सर्वपक्षीय बैठक बसी छाउगोठ भत्काउने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
हालसम्म अछाममा करिब पाँच हजारवटा छाउगोठ भत्काइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसमध्ये सात सय जति छाउगोठ स्वस्फूर्त रूपमा भत्काइएको कार्यालयको तथ्याङ्क छ ।
महिला, किशोरी तथा जनप्रतिनिधिको साथ रहेकाले छाउगोठ जस्तो निकृष्ट प्रथालाई इतिहासमा थन्क्याउन सरकारी अभियानले सफलता हासिल गर्ने प्रजिअ श्रेष्ठको विश्वास छ । असुरक्षित छाउगोठमा बसेर कति जनाको ज्यान गयो भन्ने तथ्याङ्क नभए पनि पछिल्लो एक दशकमा १४ जना महिलाको मृत्यु भएको रिपोर्टिङ गरिएको स्थानीय पत्रकार बताउँछन् ।
कानुनी व्यवस्था
अपराध संहिता, २०७४ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु नहुने व्यवस्था छ ।
त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । राष्ट्रसेवकले यस्तो कसुर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?