logo
२०८१ बैशाख ७ शुक्रवार



चार प्रजातान्त्रिक योद्धाको सम्मानमा प्रजातान्त्रिक पार्क निर्माण

समाज |


चार प्रजातान्त्रिक योद्धाको सम्मानमा प्रजातान्त्रिक पार्क निर्माण


राममणि दाहाल

हेटौँडा, माघ १३ गते । हेटौँडा उपमहानगरपालिका ११ स्थित शहीद स्मारकमा नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने अग्रजहरुको सम्मानमा प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ । प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नु हुने प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालासहितका चारजना अग्रजहरुको पूर्णकदको सालिकसहितको पार्क निर्माण गरिएको हो ।

यस्तै लोह पुरुष, सर्वमान्य नेता एवं २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंह, नेपाल कम्युनिष्ट आन्दोलनका अग्रज एवं संस्थापक पुष्पलाल श्रेष्ठ र पूर्व प्रधानमन्त्री एवं तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारको पूर्ण कदको शालिक रहेको छ ।

राष्ट्रियता, लोकतन्त्र र जनताको जनजीविकाका लागि भएका आन्दोलनमा अग्रणी एवं नेतृत्वदायी भूमिका निर्माण गर्नु भएका चारै जनाको सम्मानमा स्मारक परिसरमा प्रजातान्त्रिक पार्क निर्माण गरिएको शहीद स्मारक विकास समितिका कार्यालय प्रमुख रााचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

शहीद स्मारकमा आन्तरिक तथा बाह्य पर्यटकहरु, इतिहासका बारेमा अध्ययन गर्नेहरु र विद्यार्थीहरु आउने भएकोले नेपालको ईतिहासमा विविधक्षेत्रबाट योगदान पु¥याउनेहरुको स्मरणलाई चिरस्थायी एवं जिवन्त राख्न पार्क निर्माण गरिएको हो ।

शहीद स्मारक परिसरमा रहेको पार्कमा पानीको फोहरा, बँगैचा, विश्रामस्थललगायतका मनमोहक संरचनाहरु निर्माण गरिएको छ ।

चारै जना प्रजातान्त्रिक आन्दोलनका अग्रणीहरुको पित्तलको शालिक १५–१५ लाख रुपियाँ गरी ६० लाख रुपियाँको लागतमा निर्माण गरिएको हो । पार्क निर्माणमा सङ्घीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागको ७५ लाख रुपियाँ र शहीद स्मारकको आन्तरिक श्रोत गरी करिव डेढ करोड रुपियाँ खर्च भएको स्मारक विकास समितिले जनाएको छ । 

कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो, नेपालको प्रजातान्त्रिक आन्दोलनका नेतृत्वकर्ताहरुको सम्मानमा पार्क निर्माणले शहीद स्मारकको समेत गरिमा र ओज बढाएको छ ।  शहीद स्मारक पछिल्ला वर्षमा आन्तरिक एवं बाह्य पर्यटकहरुको रोजाई र गन्तव्य स्थल बन्दै गएको छ । पार्कमा नेपाली र अङ्ग्रेजी नयाँ वर्षसँगै विदाका दिनहरुमा पर्यटकको घुँइचो लाग्ने गरेको छ ।

चिसो हावापानी, नजिक र रमणीय भएकोले भारतीय पर्यटकहरुको पछिल्लो समयमा शहीद स्मारक रोजाईमा पर्न थालेको छ । स्मारकको वातावरण, व्यवस्थापन र सौन्दर्यले मोहित बनाउने गरेको स्मारकमा पुग्नेहरु बताउँछन् ।

नेपालको इतिहासको गौरवको गाथा झल्कने स्मारकमा कात्तिकदेखि फागुनसम्म पिकनिक आउनेहरुकोपनि ठूलै सङ्ख्या रहेको छ ।  स्मारक परिसरमा मन्दिर, पानीको फोहोरा, स्विमिङ्ग पुल, मिनी चिडिया घर, बगैंचा, रोटेपिङ्ग, झोलुङ्गेपुललगायतका आकर्षक स्थल रहेका छन् ।

यस्तै शहीद स्मारकमा एउटै ढुङ्गामा १२ जना शहीदको मुखाकृति कुँदिएको स्मारक, शहीद स्मृति स्तम्भ, शहीद ग्यालरी, मदन स्मारक, थाहा स्तम्भ, पर्यटक सूचना केन्द्र, बाल उद्यान, नर्सरीलगायतका पर्यटक आकर्षणका स्थलहरु रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?