logo
२०८० चैत्र १६ शुक्रवार

  कोरोना भाइरस संक्रमण बढ्दाे 



त्रिभुवन विमानस्थलमा सतर्कता, बुहानमा यातायात बन्द, १७ को मृत्यु

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


त्रिभुवन विमानस्थलमा  सतर्कता,   बुहानमा  यातायात बन्द, १७ को मृत्यु


ईश्वरचन्द्र झा

काठमाडौं, माघ ९ गते । चिनियाँ शहर वुहानले कोरोना भाइरसको संक्रमण फैल्ने सम्भावनालाई लिएर सार्वजनिक यातायात बन्द गरेको छ । करीब एक करोड दश लाख जनसंख्या रहेको वुहान शहरका स्थानीयलाई घर नछोड्न सल्लाह दिइएको छ । कोरोना भाइरसको संक्रमणले चीनमा १७ जनाको मृत्यु भइसकेको छ । पाँचसय जनामा उक्त भाइरसको संक्रमण रहेको बीबीसीले उल्लेख गरेको छ । यद्दपी चिनियाँ दूताबासले भने भाइरसको संक्रमण ४०० जनामा मात्रै रहेको प्रष्ट्याएको छ ।

त्रिभुवन विमानस्थलमा सजगता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल आउने पर्यटक तथा स्वदेशी आगन्तुकलाई पनि विशेष निगरानी राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. हेमन्त ओझाले बताउनुभयो । उहाँले विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय समुदायले तात्कालै अनिवार्य ‘स्क्रिनिङ’ सम्बन्धमा कुनै परिपत्र वा आग्रह नगरेकोले सामान्य अवस्थामै सूचनामूलक जानकारीहरु विमानस्थलमा उपलब्ध गराइएको बताउनुभयो । विमानस्थलमा रहेको सहायता केन्द्रलाई सक्रिय बनाइएको छ । संक्रमणको शंका हुने यात्रुकै आग्रहमा शरीरको तापक्रम लिनुका साथै जोखिम भए शुक्रराज ट्रपिकल अस्पताल पठाउने व्यवस्था गरिएको डा. ओझाले बताउनुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य विभाग, रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नागरिक उड्डयन प्राधिकरणबीच निरन्तर बैठक र छलफल भइरहेको जानकारी दिनुभयो ।

उद्गम वुहान शहर
कोरोना भाइरसको संक्रमणले चीनमा नौ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ । वुहान शहरबाट सुरु भएको संक्रमण चीनको अन्य प्रान्तहरुसँगै अमेरिका, थाइल्याण्ड र दक्षिण कोरियामा पनि फैलिएको छ । जङ्गली जनावरको अवैध कारोबार हुने वुहान शहरको ‘सी फुड’ बजारबाट उक्त संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ । हालसम्म ४४० जनामा कोरोना भाइरसको संक्रमण फेला परेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । चिनियाँ अधिकारीहरुले संक्रमित बिरामी करीब दुई हजार १९७ जनाको सम्पर्कमा आएको जानकारी दिएका छन् ।


चीनको वेइजिङ र सांघाइ मेगा शहरको रुपमा प्रख्यात छ । तर वुहान शहर भने विश्वसँग जोडिएको शहरको रुपमा चिनिन्छ । जहाँ विश्वकै सबैभन्दा ठूला पाँचसय कम्पनीले लगानी गरेको छ । वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट वर्षेनी करोडौं ब्यक्ति आवागमन गर्छन् ।

अधिकारीहरुले कोरोना भाइरसको उन्मूलन र नियन्त्रणको महत्वपूर्ण अवस्थामा रहेको बताएका छन् ।

वुहान ओहोरदोहोरमा रोक
चिनियाँ नयाँ वर्षको अवसरमा हजारौं सर्वसाधारण एक शहरबाट अर्को शहरसँगै आ आफ्नो घर र पर्यटकीय स्थलहरुमा ओहोर दोहोर गरिरहँदा वुहानले शहरबाट बाहिरिन र शहर प्रवेशमा समेत रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।


अधिकारीहरुले कोरोना भाइरसको संक्रमणको उद्गमस्थल पहिचान गरिएको वुहान शहरमा आवागमन रोक्न जोड दिएका छन् । अधिकारीले उक्त शहरका करीब एक करोड दश लाख स्थानीयलाई भिड नगर्न र एकै स्थानमा भेला नहुन आग्रह गरेका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उप मन्त्री ली बिनले भन्नुभयो, “वुहान नजाऔं, वुहानमा भएकाहरु शहर नछोडौं ।” कोरोना भाइरस प्रकोपको रुप लिएपछि पहिलो सार्वजनिक अभिब्यक्तिमा उहाँले यस्तो जोड दिनुभएको छ ।

नियन्त्रणको प्रयास

संक्रमण रोक्न कठोर कदमहरु चालिदैछ । भिड नियन्त्रण गर्न र भेला हुन नहुने जस्ता सन्देश प्रवाह गरिएको छ । त्यसैगरी वुहान छोड्नेहरुको शारीरिक तापक्रम ‘स्क्रिनिङ’ गर्ने तथा सबारीसाधन प्रस्थान गर्ने र जमा हुने प्रमुख स्थलहरु बाँध्ने र वायुसञ्चारमा विशेष सतर्कता अपनाइएको छ ।
शहरमा जिवित कुखुरा र जङ्गली जनावरको बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको छ । यी उपायहरु अपनाइएको नीरिक्षण गर्न प्रहरी परिचालन गरिएको छ ।
संक्रमण फैलिएको ठहर गरिएको सी फुड बजार भने पूर्णरुपमा बन्द गरिएको छ । कुनै जनावरबाट मानिसमा उक्त संक्रमण फैलिएको हुनाले बजार पूर्णरुपमा बन्द गरिएको र जङ्गली जनावरको कारोबार प्रतिबन्धित गरिएको चिनियाँ रोग नियन्त्रण तथा उन्मूलन केन्द्रका निर्देशक जिओ फुले बताउनुभयो ।

के हो कोरोना भाइरस ?

उक्त भाइरसलाई २०१९–एन सीओ भी नाम दिइएको छ । उक्त भाइरस मानिसमा पहिलो पटक देखा परेको हो । सन् २००० मा करीब ८०० ब्यक्तिको मृत्यु हुने गरी देखा परेको सार्स भाइरस पनि एक प्रकारको कोरोना भाइरस नै हो ।
अमेरिकामा भाइरस संक्रमणको पहिलो बिरामी मंगलबार फेला परेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ अधिकारीहरुले अवस्था पूर्णरुपमा नियन्त्रित भनेर दिएको जानकारीमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
उप मन्त्री लीले श्वासप्रश्वासकै माध्यमबाट संक्रमण फैल्ने जानकारी दिनुहुँदै हाछ्युँ गर्दा र खकार फाल्दा संक्रमण फैल्न सम्भावना बढी रहेको बताउनुभयो । तर चीनले भने संक्रमणको स्रोत अझै पहिल्याउन सकेको छैन् ।

याे पनि पढ्रनुहाेस्

पाँचकाे मृत्यु, संकटकाल घाेषणा गर्न सक्ने, नेपालमा सर्तकता

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?