logo
२०८० चैत्र १६ शुक्रवार



रैथाने परिकारको खोजी गर्ने एकसय एकदिने यात्रा सम्पन्न

समाज |
पर्यटन |


रैथाने परिकारको खोजी गर्ने एकसय एकदिने यात्रा सम्पन्न


शान्ति लामा
काठमाडौँ, पुस २८ गते । सेफ तथा पाककला प्रशिक्षक प्रेम घिसिङले नेपाली रैथाने परिकारको खोजी गर्ने एकसय एकदिने यात्रा सम्पन्न गर्नुभएको छ । गत असोज १३ गते झापाको बिर्तामोडदेखि शुरु गरेको ‘नेपाली रैथाने खाना अनुसन्धान यात्रा’ पुस २४ गते पश्चिम नेपालको बाँकेमा गई टुङ्ग्याइएको सेफ घिसिङले बताउनुभयो ।

तीन महिने यात्रामा आफूले नेपालको पूर्वदेखि पश्चिमसम्मका हिमाल, पहाड र तराई क्षेत्रमा खाइने ६०० भन्दा बढी रैथाने परिकारको पहिचान गरेको उहाँले जानकारी दिनुभयो । ती परिकार पूर्णतः नेपाली रैथाने अन्न, मसला तथा कच्चा पदार्थबाट बनाइन्छ । पैँसाठी वटा जिल्लाको भ्रमण गरी स्थानीय समुदाय र घरमै बसी त्यहाँका पाका व्यक्तिसँग ती परिकार बनाउन सिकेर आएको उहाँले बताउनुभयो ।

पाककलाको क्षेत्रमा लामो समय प्रशिक्षाथी र प्रशिक्षक भएर काम गर्दा होटल, रेस्टुराँमा सबै विदेशी परिकार देखेकाले आफू नेपाली खानाको खोजीका लागि प्रेरित गरेको उहाँले बताउनुभयो । ‘नेपाली रैथाने परिकारहरु पौष्टिकताले भरिपूर्ण मात्र नभई ठूलो व्यावसायिक सम्भावना पनि बोकेका छन्,’ सेफ घिसिङले भन्नुभयो, ‘त्यसको लागि खोजी र पहिचान जरुरी रहेको छ ।’

आफूले पहिचान गरेका विभिन्न समुदाय र भूगोलका रैथाने परिकारको ६०० भन्दा बढी मेनुको रेसिपी बनाई प्रचारप्रसार गर्ने उहाँको योजना छ । उहाँले यी खानाको खोजी यात्रा, परिकारको इतिहास, पाकविधि, प्रयोग गरिने सामग्री, खाने मौसम र तरिकाबारे पुस्तक र डकुमेन्ट्री केही समयमा सार्वजनिक गर्दै हुनुहुन्छ ।

यो खोजीका क्रममा नेपालमा पकवान पर्यटन (फुड टुरिज्म) को निकै सम्भावना रहेको महशुस गरेको सेफ तामाङ बताउनुहुन्छ । नेपाली रैथाने परिकारको रेसिपी बनाई होटल तथा रेस्टुरेन्टको मेनुमा समावेश गराउन पहल गरिने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?