logo
२०७७ जेष्ठ १६ शुक्रवार

उपत्यकाको फोहोर चुनौतीपूर्ण

मुख्य समाचार |


2019-12-31-6339


शान्ति लामा

काठमाडौँ, पुस १५ गते । नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोर फाल्न थालेको १४ वर्ष पुग्दा पनि विकल्प तयार नहुँदा अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
फोहोर फाल्ने ठाउँ भरिनुका साथै स्थानीयवासीका गुनासा र अवरोधले गर्दा यस्तो अवस्था आएको हो । दुई वर्षका लागि मात्र काठमाडौँको फोहोर फाल्न तयार गरिएको सो स्थानमा २०६२ जेठ २२ देखि फोहोर फालिँदै आएको छ ।
काठमाडौँ महानगरपालिका वातावरण विभागअन्तर्गत फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले भन्नुभयो, “एकातिर सिसडोलको क्षमता नै भरियो, अर्कातिर स्थानीयवासीका गुनासा र अवरोधबीच अब काठमाडौँको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । ’’
काठमाडौँ, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाइएको सिसडोलमा हाल १८ वटा नगरको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्डफिल साइटका रूपमा नुवाकोटकै बन्चरे डाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण हुँदै छ । गएको मङ्सिरदेखि नै बन्चरे डाँडामा फोहोर लाने भनिए पनि निर्माण नसकिएकाले सिसडोलमै फोहोर कोच्याइएको छ ।
सिसडोलदेखि बन्चरे डाँडासम्मको १.९ किलोमिटर सडक निर्माणको काम सडक विभागले अन्तिम चरणमा पुगेको भए पनि ल्यान्डफिल साइट निर्माणको भौतिक प्रगति भने ३० प्रतिशत मात्र छ ।

सिसडोललाई सास्ती
चौध वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले आक्रान्त छन् सिसडोलवासी । त्यति मात्र होइन, पछिल्ला वर्षमा फोहोरका कारण प्रभावित क्षेत्रका बासिन्दा स्वास्थ्य समस्याबाट समेत ग्रस्त रहेको बताउनुहुन्छ, धुनिबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य । उहाँका अनुसार सिसडोलको तल्लो क्षेत्रमा पर्ने कोल्पु खोला आधार क्षेत्रमा खेतीपाती नै हुन छोडेको छ । स्थानीयवासीका अनुसार ककनी–२ र ३, धुनीबेँसी–१ लगायत तल्लो क्षेत्र फोहोर कुहिएर बगेको लेदोले प्रभावित छ ।
नगरप्रमुख आचार्यले भन्नुभयो, “गोरु जोत्न जाँदा खोलाको पानी खाएर गोरु मर्ने, गाईबाख्रा चराउन लैजानै नहुने र खोलामा गोडा धुँदा लुतोले कुहिने भएको छ । आफ्नो नगरपालिकाका झन्डै ७५ प्रतिशत जनसङ्ख्या खेतीमा निर्भर रहेकाले सबैभन्दा बढी किसान प्रभावित भएका छन् । ’’
ल्यान्डफिल साइटको फोहोरबाट कम प्रभावित भनिएका क्षेत्रमा समेत चिल, गिद्धले मासु, हड्डीका टुक्रा ल्याएर घरका छाना र आँगनमा फाल्ने गरेको गुनासो सर्वसाधारणले गर्ने गरेको नगर प्रमुख आचार्यले बताउनुभयो । एक हजार ७८१ रोपनी जमिन अधिग्रहण गरी बनाइएको ल्यान्डफिल साइटले ठूलो मानवीय र आर्थिक क्षति पु¥याइरहेकाले प्रविधियुक्त, व्यवस्थित फोहोर व्यवस्थापनका लागि सबै स्थानीय तहले आआफ्नो फोहोर आफैँ जिम्मा लिनुपर्ने उहाँको भनाइ छ ।
सिसडोलमा पहिले जापानी प्रविधिबाट फोहोर फालिने हुनाले गन्ध र प्रदूषण नहुने भनी आफूहरूलाई झुक्याएको सिसडोल बन्चरे डाँडा सरोकार समितिका संयोजक विश्वास डीसी बताउनुहुन्छ ।
फोहोरमैलासम्बन्धी काम गर्ने कुनै निकायसमेत नहुँदा समन्वयमा समेत समस्या रहेको उहाँको भनाइ छ । सिसडोल ल्यान्डफिल साइट सुरु गर्दा अधिकारसम्पन्न समिति बनाई एकद्वार प्रणालीबाट सिसडोलको विकासका लागि बजेट र योजना उपलब्ध गराउने प्रतिबद्धता सरकारले पूरा नगरेको गुनासो उहाँको छ ।
ककनी–२ स्थित सिसडोल ल्यान्डफिल साइटको क्षमता सकिएकाले वैकल्पिक व्यवस्था गरिदिन काठमाडौँ महानगरपालिकाले सरकारलाई बारम्बार भनेपछि आर्थिक वर्ष २०७५÷७६ मा बन्चरे डाँडा स्यानिटरी ल्यान्डफिल साइट बनाउने निर्णय भएको थियो । बन्चरे डाँडामा सिसडोलको जस्तो नभई फोहोर छुट्याएर मात्र राख्ने स्यानिटरी ल्यान्डफिल साइट बन्ने छ ।
काठमाडौँ महानगरको फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख बराल भन्नुहुन्छ, “यसको निर्माणमा पनि ढिलाइ भएपछि स्थानीयवासीको गुनासो थामथुम गरेरै भए पनि सिसडोलमै फोहोर फाल्नु
परेको छ । ”
उहाँका अनुसार सिसडोलमा दैनिक ११ सय मेट्रिक टनभन्दा बढी फोहोर फालिँदै आएको छ । यसमध्ये काठमाडौँ महानगरले दैनिक ५०० देखि ५५० मेट्रिक टन फोहोर लैजाने गरेको छ । बाँकी आधाभन्दा बढी फोहोर भने अन्य नगरपालिकाको हो ।
ल्यान्डफिल साइटको फोहोर कुहिएर बग्ने लेदोले वर्षातको मौसममा चुनौती ल्याउने गरेको काठमाडौँ महानगरपालिका वातावरण विभाग उपप्रमुख सरस्वती पोखरेल भट्टराई बताउनुहुन्छ ।
“फोहोरबाटै बगेको लेदोले बाटो चिप्लिएर फोहोर बोक्ने गाडी ल्यान्डफिल साइट पुग्न सक्दैनन् । त्यस्तो बेला काठमाडौँको फोहोर उठाउने कामसमेत अवरुद्ध हुने गरेको छ”, उपप्रमुख पोखरेलले भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?