logo
२०७७ जेष्ठ १६ शुक्रवार

थोत्रा टायरबाट सजाउने सामग्री

मुख्य समाचार |


2019-12-22-5907


शान्ति लामा

काठमाडौँ, पुस ६ गते । झण्डै तीन वर्षअघि ‘ग्रिनोभेसन च्यालेन्ज’मा भाग लिएपछि ओजस्वी वैद्यलाई वातावरणमैत्री उद्यमशीलताले आकर्षित ग¥यो । त्यसपछि काम नलाग्ने भई फालिएका गाडीका पाङ्ग्राहरूलाई केही गर्न सकिन्छ कि ? भनी सोच्न थाल्नुभयो । यस्तै सोच मिल्ने केही साथीसँग पनि भेट भयो ।
उहाँहरूले बुझ्दै जाँदा थाहा भयो, काम लागुन्जेल सडकमा गुड्छन् । काम नलाग्ने भएपछि गाडीका पाङ्ग्राहरू कि फोहोरको थुप्रोसँगै डम्पिङसाइट जान्छन्, कि इँटाभट्टामा जलाउन लगिन्छ अथवा अरू तरिकाले उपयोग भएका पनि हुन सक्छन् ।
बिग्रिएका यी टायरहरू जलाइनु वा डम्प गरिनु वातावरणका लागि घातक हुन् भन्ने ओजस्वीको टोलीलाई थाहा थियो । त्यसैले बरु यी बिग्रिएका टायरबाट नयाँ वस्तु किन नबनाउने ?, ओजस्वीले सुनाउनुभयो, यस्तै विचार गरी खोला किनारतिरको फोहोरको थुप्राबाट पाङ्ग्रा उठाउन थाल्यौँ । तिनीहरूलाई सफा गरी नयाँ वस्तु बनायौँ ।
थोत्रा टायरबाट चिटिक्कका उपयोगी सामग्री बन्न थाले । अहिले ती सामान हजारौँ मूल्यमा बिक्री भइरहेका छन् । युवाको वातावरणमैत्री उद्यमशील सोचको उदाहरण बनेको छ, ओजस्वी र साथीहरूको ‘टायर ट्रेजर्स’ ।
कुपण्डोलस्थित आफ्नै घरको तल्लो तलालाई ओजस्वीले टायर ट्रेजरको वर्कसप बनाउनुभएको छ । विभिन्न ठाउँबाट सङ्कलन गरिएका टायरहरू सङ्ग्रह गर्ने, निर्मलीकरण गर्ने र नयाँ सामान बनाउने काम सबै यहीँ हुन्छ । टायरका विभिन्न आकार प्रकारका फर्निचरहरू देख्दा यी फालिएका पाङ्ग्राका होलान् जस्तै लाग्दैन ।
बिग्रिएका टायरलाई नयाँ जीवन दिने काम सुरुमा सजिलो भने भएन । पहिलेदेखि इँटा उद्योगमा इन्धनका रूपमा बिक्री हुँदै आएको कुरा हामीलाई दिनुस् भन्दा मानेनन् । नयाँ सामान बनाउँछौँ भन्दा पत्याएनन् । नदिएपछि बागमती किनारमा सङ्कलन गरियो । घरसम्म लगिदिन पनि कुनै गाडीले मानेनन् । यसरी जसोतसो गरी २० वटा जति पुराना टायर सङ्कलन गरी उहाँहरूले ‘पेटबेड्स’ अर्थात् घरपालुवा जनावरको ओछ्यान बनाउनुभयो । तिनको फोटो सामाजिक सञ्जालमा राखेपछि धेरैले मन पराएर किने र ‘टायर ट्रेजर्स’ले आम्दानी गर्न सुरु ग¥यो ।
त्यसपछि उत्साहित भएर अहिले ओजस्वीको टिमले कुर्सी र टेबलजस्ता फर्निचर बनाउन थाल्यो । ओजस्वी भन्नुहुन्छ, फर्निचर बनाउँदा टायरलाई काट्नु पनि पर्दैन, अतिरिक्त फोहोर पनि निस्किँदैन । राम्रो मूल्यमा बेच्न पनि सकिन्छ । यी कुर्सी टेबलहरू लामो समय टिक्ने पनि हुन्छ । बिग्रिएमा फेरि मर्मत गर्न पनि सकिन्छ । नभन्दै अहिले नयाँनयाँ रेस्टुराँ र क्याफेहरूले टायर ट्रेजरमा उत्पादन भएका टेबलकुर्सी किन्ने गरेका छन् । घरायसी, कार्यालय वा क्याफेहरूका लागि किन्न धेरै जना इच्छुक पनि भेटिएका छन् ।
यी टायरका फर्निचर पाँचदेखि १५ वर्षसम्म टिकाउ हुने भएकाले प्लास्टिकका फर्निचरको तुलनामा किफायती मात्र नभई वातावरणमैत्री पनि हुने ओजस्वीको भनाइ छ । टायर ट्रेजर्सले बनाउने फर्निचरहरूमा नेपाली कलाकै उपयोग गरिन्छ ।
नेपाली महिलाले मकैको खोस्टाको खोल र जुटको डोरी बुन्ने काम गर्छन् । स्थानीय काष्ठ कलाकारले टेबल कुर्सीका खुट्टा बनाउँछन् । यसरी बनेका फर्निचरहरू दुई हजार चार सयदेखि १८ हजार रुपियाँसम्ममा बिक्री हुँदै आएका छन्  ।
थोत्रा टायरलाई नयाँ जीवन दिने काममा नियमित काम गर्नेछ जनासँगै ३० देखि ३५ जनाले काम गर्ने गरेको ओजस्वी सुनाउनुहुन्छ । यसरी गुड्ने जीवन सकिएको टायरबाट नयाँ वस्तु बनाउने यो कर्मलाई उहाँ ‘अपसाइकल’ भन्नुहुन्छ ।
टायरको सडकमा गुड्ने जीवन त सकियो तर त्यसलाई अर्काे उद्देश्यका लागि नयाँ जीवन दिँदै छौँ । त्यसमाथि वातावरणमैत्री उत्पादन बनाएर बेच्दा आत्मसन्तुष्टि नै छुट्टै छ, ओजस्वी भन्नुहुन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?