logo
२०८० चैत्र १५ बिहीवार



बोक्सी भन्दै देवरले भाउजु कुटे !

समाज |


बोक्सी भन्दै देवरले भाउजु कुटे !


गोकर्ण दयाल
बैतडी, मङ्सिर १५ गते । बैतडी सदरमुकाममा महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेकै बेलामा गाउँमा बोक्सीको आरोपमा लगाएर एक जना देवरले आफ्नै एकल भाउजुमाथि कुटपिट गरेका छन् । कुटपिटबाट घाईते हुनुभएकी महिलाको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ ।

बैतडीको पुर्चौंडी नगरपालिका–९, तल्लादेहीकी एकल महिला उत्तरा ढुंगालमाथि उहाँकै देवर नाता पर्ने डम्मर ढुंगाल र देउरानी पवित्रा ढुंगालले ‘ तिमीलाई देखेपछि मेरो छोरो बिरामी हुन्छ भन्दै लात्ती, मुङ्ग्रो र बाल्टीले कुटपिट गरेको पीडित महिलाले बताउनुभएको छ ।
पीडित महिला उत्तरा ढुङ्गालले भन्नुभयो, “ शनिवार विहान म लुगा धुँदै थिए । देवर र देउरानी आएर एक्कासि लात्ती, मुङ्ग्रो र पानी भरेको बाल्टीले आक्रमण गरे । श्रीमान बितेको ७ वर्ष भयो । घरमा १२ वर्षकी एक छोरी र ६ वर्षको एक छोरा छन् । एक्लै कसरी बसिरहेका होलान ?”
उपचारका लागि उत्तरालाई जिल्ला अस्पल बैतडी ल्याउनु भएका भाइ नाता पर्ने शेरबहादुर महराले दिदीमाथि बोक्सीको आरोप लगाएर कुटपिट भएको बताउनुभयो ।

महराले भन्नुभयो, पहिले पनि घरायसी झगडा हुनेगरेको रहेछ । शनिवार दिदीमाथि उनकै देवरले तिमीलाई देखेपछि छोरो बिरामी हुन्छ भनेर बोक्सीको आरोप लगाएर दिदीमाथि कुटपिट गरे ।

घटना बारे प्रशासन गम्भीर भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो, “ महिला हिंसा र मानव अधिकारको गम्भीर उलङ्घन भएको छ । शनिवार हामी निर्वाचनको काममा व्यस्त थियौं । महिलामाथि कुटपिट भएको खबर पाउँनासाथ महिलालाई उद्धार गरेर अस्पताल ल्याउन प्रहरीलाई निर्देशन दिएपछि पीडित महिलाको अहिले जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ ।”

घटनापछि महिलालाई उद्धार गरेर जिल्ला अस्पताल ल्याईउन प्रहरीले सहयोग गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमखु प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताउनुभयो । प्रनाउ पाण्डेयले भन्नुभयो, “ बोक्सीको आरोप भनिए पनि घरायसी झगडाको विषयमा महिलामाथि कुटपिट भएको देखिन्छ ।”
महिलाको उपचारपछि पीडितको जाहेरी अनुसार दोषीमाथि कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?